कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दोस्रो गुरिल्ला अल्ट्रा दौडको उपाधि बुढालाई 

हरि गौतम

रुकुम पूर्व — गुरिल्ला अल्ट्रा दौडको उपाधि दुर्गाराज बुढाले जितेका छन् । भूमे गाउँपालिकाले आयोजना गरेको दोस्रो गुरिल्ला अल्ट्रा दौडको उपाधि रुकुम पश्चिमका बुढाले जितेका हुन् । ५२ किलोमिटर लामो दुरी उनले ६ घण्टा १५ मिनेट १५ सेकेण्डमा पार गरे । जितसँगै बुढाले ५० हजार रुपैयाँ सहित ट्रफि र मेडल पाए । 

दोस्रो गुरिल्ला अल्ट्रा दौडको उपाधि बुढालाई 

६ घण्टा २८ मिनेट २८ सेकेण्डमा दुरी पार गरेका सोलुखुम्बुका सुमन कुलुङ दोस्रो भए । उनले ३५ हजार नगद पुरस्कार सहित मेडल हात पारे । कुलुङ भन्दा २१ मिनेटपछि परेका रुकुम पूर्वका मोहन केसी तेस्रो भए । दौडमा पुरुषतर्फ विभिन्न जिल्लाका ३४ जनाले सहभागिता जनाएका थिए ।


महिलातर्फको दौडमा प्युठानकी हुमी बुढा मगर प्रथम बनिन् । ७ घण्टा १८ मिनेट ३५ सेकेण्डमा ५२ किलोमिटर दुरी पार गरेकी उनले पनि ५० हजार नगद पुरस्कारको साथमा ट्रफि र मेडल प्राप्त गरिन् । उनलाई पछ्याएकी धादिङकी रसिला तामाङ दोस्रो बनिन् । रसिलाले ७ घण्टा २० मिनेट ३८ सेकेण्डमा उक्त दुरी पार गरेकी थिइन् । भोजपुरकी आनि राई तेस्रो भइन् ।


सशस्त्र युद्धका क्रममा तत्कालीन माओवादीका लडाकुहरु हिँडेको बाटैबाटो धावकलाई दौडाएर युद्ध पर्यटनको विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । अघिल्लो वर्षदेखि थालिएको यो प्रतियोगिता निरन्तर चल्ने उनको भनाई छ ।


भूमे गाउँपालिका–६ को महतबाट सुरु भएको दौड रोल्पाको थवाङबाट जलजला पुगेर पुनः थवाङबाट रुकुम पूर्व भूमेको मारिङ लेक, लकुम, काँक्री हुँदै खाबाङ बगरस्थित भूमे गाउँपालिकामा आएर समापन भएको थियो ।


नेपाल ट्रेल सिरिज अन्तर्गत दोस्रो गुरिल्ला ट्रेल दौड आयोजना गरिएको प्रतियोगिताका संयोजक सुनिल रोका मगरले बताए । स्थानीय स्तरमा धावक उत्पादन गर्ने र जिल्ला बाहिरको साथै विदेशबाट समेत धावक ल्याएर पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको रोकाले बताए ।

प्रकाशित : असार २, २०७६ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?