१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डल्फिन च्याम्पियन

काठमाडौँ — नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा मुलपानी क्रिकेट मैदानमा भएको ब्रम्हास्मी एसईई कप क्रिकेटमा कैलालीको डल्फिन च्याम्पियन भएको छ । बुधबार फाइनलमा डल्फिनले काठमाडौं रोयल्सलाई ७४ रनले हरायो ।

डल्फिन च्याम्पियन

टस जितेर ब्याटिङ रोजेको डल्फिनले निर्धारित ३० ओभरमा २७.३ ओभर खेल्दै १ सय ६२ रन बनायो । सुदीप बस्नेतले ३६, साहिल पटेलले २९, डबल ऐरले २७ र शरद सुवेदीले १६ रन बनाए । काठमाडौंका बलर सुमित बुढाथोकीले २८ रन खर्चेर ३ विकेट लिए । अनुप नेपाल र रोशन शाहले २–२ तथा निकेश गुप्ता र साहियद मन्सुरीले १–१ विकट लिएका थिए ।


जवाफी ब्याटिङमा उत्रेको काठमाडौं १८.३ ओभरमा ८८ रनमै अलआउट भएको थियो । साहियदले २६, निकेश गुप्ताले १४, अनुप नेपालले १३ र सुनोज केसीले १२ रनमात्र बनाए । कैलालीका डबल ऐरले ह्याट्रिकसहित ६ विकेट लिए । उनले १५ रन दिए । रमेश बुढा र सुदीप बस्नेतले १–१ विकेट लिएका थिए । म्यान अफ द म्याच डबल ऐर भए ।


म्यान अफ द सिरिज साहियद मन्सुरी, उत्कृष्ट बलर निकेश गुप्ता र उत्कृष्ट ब्याट्सम्यान सुदीप बस्नेत घोषित भए । ब्रम्हास्मी कलेजका अध्यक्ष क्षितिज उपाध्यायले उत्कृष्ट खेलाडीलाई कक्षा ११ र १२ मा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे । साथै अम्पायर टिमले छनोट गरेका अन्य तीन उत्कृष्ट खेलाडीलाई पनि निःशुल्क छात्रवृत्ति प्रदान गर्ने बताए ।


आयोजक नेक्सस एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले उत्कृष्ट ६ खेलाडीलाई भारतको नोयडास्थित क्रिकेट एकेडेमीमा एक वर्षे निःशुल्क प्रशिक्षणको घोषणा गरेका थिए ।


एसईई कप २०७७ मा भने थप चार सामरिक महत्त्वका सहरको नामबाट टिम थप गरिने र अक्सनबाट खेलाडीको पारिश्रमिक निर्धारण गरिने एकेडेमीका प्रबन्ध निर्देशक विजय शर्माले जनाएका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?