नेपाल पुलिस विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पुलिस क्लब दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पुलिसले आइतबार विभागीय डर्बीमा नेपाल एपीएफ क्लबलाई ३-२ गोल पराजित गर्‍यो । विदुर नगरपालिका ४ स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको मैदानमा एपीएफबाट ४० औं मिनेटमा नवीन लामाले पेनाल्टी मार्फत गोल गरे । 

पुलिसका गोलकिपर रोशन खडकाले विपक्षी खेलाडीलाई डिबक्समा खुट्टा तानेपछि सशस्त्र प्रहरीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दै पुलिसबाट ५० औं मिनेटमा अजित भण्डारीले गोल गर्दै बराबरीमा ल्याए । त्यसको एक मिनेट बित्न नपाउँदै पुनः पुलिस क्लबले काउन्टर मार्फत एक गोल गर्दै २-१ को अग्रता बनायो । त्यसपछि पुनः पुलिस क्लबको ७० आंै मिनेटमा रवि पासवानले ३-१ को अग्रता बनाए । ७८ औं मिनेटमा एपीएफका अजित लामाले गोल गरेर दूरी छोटयाए ।

पुलिसले सेमिफाइनलमा मंगलबार घरेलु टोली नुवाकोट ११ सँग प्रतिस्पर्धा गर्नेछ । जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटबल संघले आयोजनामा भइरहेको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेताले टिमले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । सोमबार चौथो क्वाटरफाइनलमा मनाङ मस्र्याङी र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ २६, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्

निर्देशिका मिचेर राजदूत सिफारिस

मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गरिँदा परराष्ट्रमन्त्री नै बेखबर
कान्तिपुर संवाददाता

काठमाडौँ — राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाविपरीत मन्त्रिपरिषद्ले बिहीबार चार जनालाई राजदूतमा सिफारिस गरेको पाइएको छ । निर्देशिकाको पहिलो नम्बरमा 'नियुक्ति प्रक्रियाको प्रारम्भ परराष्ट्र मन्त्रालयबाट गरिनेछ' भनिएको छ । तर बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मुलुकका लागि प्रस्तावित राजदूतको नाम पढेर सुनाएपछि मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले थाहा पाएका थिए । 

बिहीबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटिएका मन्त्री ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागी 'ढिलोचाँडो रिक्त स्थानमा राजदूत नियुक्ति प्रक्रिया अघि बढ्छ' भन्दै जवाफ फर्काइरहेका थिए । कतारका लागि नारद भारद्वाज, अस्ट्रेलियाका लागि महेशप्रसाद दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र र स्पेनका लागि दावाफुटी शेर्पालाई कूटनीतिक कार्यविधि तथा प्रक्रियाबाट नभई 'राजनीतिक सिफारिसका नाम' भन्दै कुनै बहस नगरी मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो ।
चारमध्ये भारद्वाज झापा काण्डमा प्रधानमन्त्री ओलीको सहयात्री बनेर सँगै जेल बसेका थिए । उनी त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयका सहप्राध्यापकसमेत थिए । दाहाल भने नेकपा अध्यक्ष पुष्पकमल दाहालका आफन्त तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्षसमेत हुन् । डा. मिश्र पूर्वस्वास्थ्य राज्यमन्त्री हुन् भने शेर्पा सगरमाथा आरोही पहिलो नेपाली महिला पासाङल्हामुकी छोरी हुन् । 'राजदूत बन्न नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय/बहुपक्षीय कूटनीतिका आयामहरूबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ,' एक पूर्वराजदूतले भने, 'तर सरकारले अहिले पठाउन लागेका ४ राजदूतमध्ये कोही पनि कूटनीतिक मामिलाका जानकार वा सरोकारसम्बद्ध देखिएनन् । कुनै सार्वजनिक संस्थामा अध्यक्ष नियुक्त गरिएजस्तै स्थिति देखिएको छ ।'

अर्कोतिर राजदूत परराष्ट्र सेवा तथा बाहिरबाट ५०/५० प्रतिशतको अनुपातमा नियुक्त गर्ने अभ्यास रहँदै आएको थियो । पछिल्लो निर्णयमा राजनीतिक प्रभाव बढी हावी देखिएको छ । 'अनावश्यक कारण र प्रयोजनमा अमेरिकास्थित राजदूतको कार्यकाल थप गरिएको देखिन्छ,' परराष्ट्रले कूटनीतिक कार्यविधि तय गर्न बनाएको कार्यदलका एक पूर्व सदस्य भन्छन्, 'न कूटनीतिक पदाधिकारीको कार्यमूल्यांकन हुन सकेको देखिन्छ, न त्यसको औचित्य खुलाउन सकिएको छ ।'

बाहिरी विश्वमा रहेका नेपालका ३३ वटा कूटनीतिक नियोग तथा राजदूतसरहको पदस्थापनमा हाल दक्षिण कोरिया तथा दक्षिण अफ्रिकामा मात्रै रिक्त छ । विगतमा कांग्रेस नेतृत्वको सरकारले पठाएकामध्ये जापानमा प्रतिभा राणा, म्यानमारमा भीम उदास, श्रीलंकामा विश्वम्भर प्याकुरेल र ओमानमा शर्मिला पराजुली ढकाल मात्रै राजदूतका रूपमा सेवारत छन् ।

निर्देशिकामा भएको व्यवस्था हेर्नुहोस् ।




प्रकाशित : जेष्ठ २६, २०७६ २१:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्