१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दोस्रो गुरिल्ला ट्रेल असार २ मा

हरि गौतम

रुकुम पूर्व — दोस्रो गुरिल्ला ट्रेल दौड असार २ मा हुने भएको छ । अघिल्लो वर्ष सुरु गुरिल्ला ट्रेलको तयारी तीव्र पारिएको छ । रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर गुरिल्ला हिँडेको बाटोमा खेलाडीलाई दौडाउन लागिएको छ । पर्यटनको प्रवर्द्धन, प्रचारप्रसार र विस्तार गर्ने भन्दै भूमे गाउँपालिकाले गुरिल्ला ट्रेल दौड गर्न लागेको हो । 

१० वर्षे सशस्त्र युद्धका क्रममा लडाकुहरू हिँडेको बाटैबाटो धावकलाई दौडाइने र युद्ध पर्यटनको विकासमा टेवा पुर्‍याउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । ‘धावक दौडाउने तयारी गरिएको क्षेत्रमा जनयुद्धका क्रममा धेरै गुरिल्ला हिँडेका हुन्,’ उनले भने, ‘सोही बाटोमा धावक दौडाएर प्रचारप्रसार गरेर युद्ध पर्यटनको प्रवर्द्धन गर्न खोजिएको हो ।’ स्थानीय संस्कृति, जनजीवन, भूगोल तथा ऐतिहासिक क्षेत्रको प्रचार गर्ने अर्को उद्देश्य पनि राखिएको उनले बताए ।


दौड ५२ किलोमिटर लामो हुनेछ । भूमे गाउँपालिका–६ को महतबाट सुरु हुने दौड रोल्पाको थवाङबाट जलजला पुगेर फेरि थवाङबाट रुकुम पूर्व भूमेको मारिङ लेक, लकुम, काँक्री हुँदै खावाङ बगरस्थित भूमे गाउँपालिकामा आएर सकिनेछ । एउटै रुट र उही दूरीमा महिला र पुरुषका छुट्टाछुट्टै दौड प्रतियोगिता हुने संयोजक सुनील रोका मगरले बताए । दुवैका विजेताले ५० हजार, दोस्रोले ३५ र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


‘यो रुट पर्यटनको दृष्टिकोणले महत्त्वपूर्ण छ, त्यसैले यसको प्रचार गर्ने र हरेक वर्ष विदेशी खेलाडी भित्र्याउने योजनासहित दौड गरिएको हो,’ उनले भने, ‘प्रतियोगितामा विभागीय टोलीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक पनि सहभागी हुनेछन् ।’ यसको प्रवर्द्धकमा अल्ट्रा धाविका मीरा राई छिन् । झन्डै ५० बढी खेलाडी सहभागी हुने गाउँपालिकाको अपेक्षा छ ।


०५६ असोज ६ मा महतडाँडास्थित प्रहरी चौकी आक्रमण गरी माओवादी लडाकुले डीएसपी ठूले राईको अपहरण गरेका थिए । प्रहरी, सरकारी सेना र माओवादी लडाकुबीच पटक–पटक दोहोरो भिडन्त भएको थियो । रोल्पाको थवाङ युद्धकालको माओवादीको राजधानी मानिन्थ्यो ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?