कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पोखरा स्पोर्टस् अवार्ड : युकेश र सुस्मी वर्ष खेलाडी

दीपक परियार

(लेखनाथ) — चौंथो संस्करणको पोखरा स्पोर्टस् अवार्डमा पुरुषतर्फ पाराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुलकन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा विभिन्न विधामा अवार्ड प्रदान गरेको हो ।

पोखरा स्पोर्टस् अवार्ड : युकेश र सुस्मी वर्ष खेलाडी

गण्डकी प्रदेशका लागि २०७५ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक, खेल संघ र पत्रकारलाई अवार्ड प्रदान गरिएको थियो । वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ युकेशसहित स्क्वासका अमृत थापामगर र फुलकन्ट्याक्टका रुपक नेपाली मनोनयनमा थिए । महिलातर्फ मनोनयनमा सुस्मीसहित सफ्ट टेनिसकी प्रीति बराल र सुटिङकी श्रेया केसी थिए । युकेशले टीभीएस अपाचे मोटरसाइकल र सुस्मीले टीभीएसकै विगो स्कुटर पुरस्कार पाए । पाराग्लाइडिङ प्रतियोगितामा भाग लिन देशबाहिर रहेकाले युकेशको अवार्ड उनका बुवा भूपालसिंह र आमा भगवती गुरुङले ग्रहण गरे ।


पारापाइलट बुवाकै संगतले युकेश सानैदेखि पाराग्लाइडिङसँग परिचित भए । उनले १५ वर्षकै उमेरमा पाराग्लाइडिङ उडाएका थिए । १८ औं एसियाडमा नेपालले पदक जितेको एकमात्र खेल थियो पाराग्लाइडिङ । इन्डोनेसियामा भएको एसियाडमा मेन्स क्रसकन्ट्रीतर्फ नेपालले रजत जित्दा उनी टोलीका मुख्य सदस्य थिए । हालै सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा टिम क्रसकन्ट्रीमा उनकै समूहले स्वर्ण जित्यो । सन् २०१८ मा कोरिया र चीनमा भएका दुई छुट्टाछुट्टै पाराग्लाइडिङ पि्र-वर्ल्ड कपमा पनि उनी सहभागी भए ।


वर्ष महिला खेलाडी सुस्मीले अवार्ड ग्रहण गर्दा आँसु थाम्न सकिनन् । दोस्रो दक्षिण एसियाली क्योकुसिन कराँते च्याम्पियनसिपमा खुला तौल समूहमा उनले स्वर्ण जितेकी थिएन् । आठौं राष्ट्रिय खेलकुदको खुला तौल समूहतर्फ उनले कांस्य जितिन् । २९ औं युरोपियन च्याम्पियनसिप क्योकुसिन कराँतेमा कांस्य, पहिलो राष्ट्रिय क्योकुसिन बुदोकाइ कराँते च्याम्पियनसिपमा स्वर्ण, दोस्रो राष्ट्रिय नेपाल न्यु प्लाजा क्योकुसिन बुदोकाइ कराँतेमा ४० केजी तौलमा स्वर्णसहित वेस्ट फाइटरको उपाधि उनको उपलब्धि हो ।


लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका पूर्व खेलाडी चित्रबहादुर गुरुङलाई प्रदान गरियो । सन् १९८७ मा कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा उनले बक्सिङबाट रजत जितेका थिए । सन् १९८९ मा भएको चौथो दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका उनले बेइजिङमा सन् १९९० मा भएको ११ औं एसियाली खेलकुदमा कांस्य जितेका थिए । स्याङ्जाको मनकामनामा २०१८ सालमा जन्मिएका उनी हाल वनविज्ञान अध्ययन संस्थानमा खेल शिक्षकमा कार्यरत छन् ।


यसअघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट र प्राडा वीरेन्द्रसिंह गुरुङ सम्मानित भइसकेका छन् ।


क्रिकेट खेलाडी अर्जुन कुमालले उदीयमान वर्ष खेलाडीको अवार्ड जिते । उनका प्रतिस्पर्धीमा आर्चरीकी अनुष्का शेरचन र आईटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर थिए । बागलुङका अर्जुन हाल ८ कक्षामा पढ्छन् । थाइल्यान्डमा एसीसी यू-१६ इलाइट कपमा नेपालले स्वर्ण जित्दा टिममा उनी पनि थिए ।


वर्ष प्रशिक्षक फुलकन्ट्याक्ट कराँतेका दीपक गोदार भए । उनले ह्यान्डबलका भीमसेन शाक्य र हक्कीका राजेन्द्र पाठकलाई पछाडि पारे । दीपकले अवार्डस्वरुप प्राप्त २५ हजार रुपैयाँमा २५ हजार थपेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीलाई प्रदान गर्ने घोषणा गरे ।


२०५० देखि खेलकुदमा छिरेका उनको प्रशिक्षण सुरुआत २०५४ देखि भएको हो । उनी हालसम्म जिल्ला, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ५२ खेलमा सहभागितामध्ये ५ स्वर्णसहित ३२ पदक जित्न सफल छन् । उनी आठौं राष्ट्रिय खेलकुदमा गण्डकीलाई ५ स्वर्ण दिलाउन सफल भए ।


चर्चित वर्ष खेलाडीको अवार्ड श्रेया केसीले जितिन् । उनले एसएमएस भोटका आधारमा उक्त अवार्ड जितिन् । उनले आठौं राष्ट्रिय खेलकुदमा एकलतर्फ स्वर्ण र टिमतर्फ रजत जितेकी थिइन् ।


उत्कृष्ट खेल संघको उपाधि कास्की जिल्ला बास्केटबल संघले जित्यो । उत्कृष्ट पत्रकारिता अवार्ड रेडियो बाराहीका विनोद लामिछानेले पाए । उदीयमान खेलाडी, वर्ष प्रशिक्षक, चर्चित खेलाडीले जनही २५ हजार र खेल संघले १५ हजार रुपैयाँ पाए । पत्रकारिता अवार्ड २० हजार राशिको छ ।


मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा खेलकुद एकेडेमी स्थापना गर्ने तयारी गरेको बताए । स्रोत र साधनले भ्याएसम्म खेलकदसम्बन्धी गतिविधिको सबै खर्च प्रदेशले बेहोर्ने उल्लेख गरे । आयोजक अध्यक्ष एकराज गिरीले अवार्डलाई निरन्तरता दिन सबैको साथ आवश्यक रहेको जनाए ।

प्रकाशित : जेष्ठ २४, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?