खेलकुदबाट सम्बन्ध कस्दै इनरुवावासी

इनरुवामा रात्रिकालीन खेलकुद
वेदराज पौडेल

इनरुवा — दशकअघि भएको मधेस आन्दोलनले इनरुवाको समाजलाई दुई भागमा विभाजन गर्‍यो । समयक्रमले समाजिक रूपमा सर्वसाधारणलाई घुलमिल त गरायो तर पहिला जस्तो आत्मीय सम्बन्ध भने स्थापित हुन सकेन । दुई समुदायलाई आ–आफ्नै गाउँमा सीमित गर्‍यो ।

खेलकुदबाट सम्बन्ध कस्दै इनरुवावासी

तर पछिल्लो समयमा इनरुवामा भइरहेको खेलकुदले दुई समुदायलाई जोड्ने मात्र होइन आत्मीयसमेत बनाएको छ ।


अहिले न पहाडे न मधेसी आफू कुन समूहको हुँ भन्ने भन्दा पनि बढी खेलप्रेमीको रूपमा एकअर्कालाई समर्थन गरिरहेको भेटिन्छन् इनरुवा रंगशालामा भइरहेका रात्रिकालीन खेलकुदमा । एउटा टोलबाट अर्को टोल जान धकाउनेहरू अहिले कुममा कुम जोडेर खेल हेरिरहेका भेटिन्छन् । युवामात्र होइन प्रौढ र बालबालिका अनि महिलाको समेत उपस्थितिले इनरुवाको समाज शान्तिपूर्ण बाटोमा छ । समाज निकै कसिलो बन्दै गएको आभाष दिलाउँछ ।


पहिले एउटा देख्दा असुरक्षित महसुस गर्ने दुई समुदाय अहिले एकअर्काको भरोसा बनेको झल्को खेलकुदमा देखिएको सहभागिताले जनाउँछ । अहिले इनरुवा इभेन्ट म्यानेजमेन्टले नगरसँगको संयुक्त आयोजनामा रात्रिकालीन फुटबल आयोजना गरिरहेको छ । मेयर कप रात्रिकालीन वडास्तरीय फुटबल प्रतियोगिता हेर्न दर्शकको उत्साहजनक उपस्थिति छ ।


इनरुवा रंगशालामा फुटबल हेरिरहकी इनरुवा ३ सखुवागाछीकी सविना पोखरेल खेलकुदले समाज जोड्ने काम गरेको बताउँछिन् । मधेस आन्दोलनपछि इनरुवा बजारमा सब्जी किन्न आउन धक मान्नेहरूअहिले फुटबल त्यो पनि रात्रिकालीन खेल हेर्न तँछाडमछाड गर्छन् । वडास्तरीय खेल भएकाले प्यारापिट बनाइएको छैन । भूइँमा बस्नका लागि बेलुका ७ बजे नै मैदान पुग्नुपर्छ ।


उनले भनिन्, ‘साँझ परेपछि नै खाना बनाएर नानीबाबुलाई खुवाउँछु र खेल हेर्न मैदान आइपुग्छु ।’ वडास्तरीय खेल राति ८ बजे सुरु हुन्छ । मैदान भने ७ नबज्दै लगभग भरिभराउ भइसक्छ ।


आफ्नो वडाको टिमको हौसला बढाउनु स्वाभाविक हो । त्यस अलावा चाहे अन्य कुनै टिम नै किन नहोस् । बलको पछाडि दौडिने खेलाडीको चालसँगै बलको रफ्तारमा एकटक लगाएका आँखाहरू गोलपोस्टको दिशातर्फ बढ्दै गर्दाको ‘गोल.....’ को गुन्जयमान ध्वनि रातको समयमा इनरुवा भएर यात्रा गर्ने जोकोहीलाई सहजै प्रभावमा पार्ने गरेको छ ।


मैदानवरपर जडान गरिएका विद्युतीय प्रकाशले यत्रतत्र दर्शकको भीड सहजै नियाल्न सकिन्छ । युवायुवतीको क्रेज त छँदै छ । रातिको शीतलतामा रम्न चाहनेका लागि समेत फुटबल खेल गन्तव्य बनेको छ । स–परिवार खेल हेर्न पुग्नेहरू सिटी रिक्सा र अन्य सवारीका साधन चढेरै मैदान पुग्ने गरेका छन् ।


इनरुवा मालपोतचोकका विश्व ढुंगाना धरान मालपोत कार्यालयमा लेखापढी गर्छन् । इनरुवामा भइरहेको खेल छुट्ने होकी भनेर उनी दिनहुँ समयमा नै इनरुवा घर पुग्छन् । बेलुकाको खाना समयमा नै खाएर उनी खेल हेर्न मैदान पुग्छन । उनी भन्छन्, ‘इनरुवामा हुने रात्रिकालीन खेलकुदले इनरुवावासीले समयमा नै खाना पकाउने र खाने गर्न थालेका छन् ।’


आन्दोलनले कोरेको समाज विभाजनको रेखा क्रमशः मेटिए पनि खेलकुदले त्यसमा आत्मीयता थप्ने काम गरेको ढुंगानाले बताए । ‘पहिले एउटा समुदायको मानिस देख्दा अर्को समुदायका मानिस तर्सन्थे तर अहिले दुवै समुदायका मानिस सँगै बसेर अंकमाल गरेर खेलकुदको मज्जा लिइरहेको भेटिन्छन् ।’


लौकहीका चन्दन यादवको साँझको समयको उनको तालिकामा इनरुवा रंगशाला पर्ने गर्छ । कहिले टी १० रात्रिकालीन क्रिकेट त कहिले रात्रिकालीन फुटबल । प्रायः रंगशाला खाली नै हुँदैन । कुनै न कुनै खेलकुद आयोजना भइरहन्छ । जसले विभाजित समाजलाई एकै ठाउँमा जोड्ने र जम्मा गर्ने काम गरेको उनको ठम्याइ छ ।


खेलले नगरका १० वटै वडाका निर्वाचित जनप्रतिनिधि मात्रै नभएर उपलब्ध सांसदसहित दलीय नेता तथा कार्यकर्ता सबैलाई मैदानमा दर्शकका रूपमा उभ्याएको छ । फुटबल खेलले सानो र ठूलोको भिन्नता पूर्ण परिभाषालाई किनारा लगाइदिएको छ । सँगै बसेर खेलको मज्जा लिइरहेका दर्शकको भीड र खेलकुदप्रतिको बढ्दो उत्साहले नगरपालिकाका लागि अवसर र चुनौती दुवैलाई समान रूपमा बाहिर ल्याएको छ ।


खेलकुद विकाससँगै खेल र खेलाडीलक्षित योजना बुनिनुपर्ने आवाजहरू बाहिरिन थालेका छन् । एकपछि अर्को प्रतियोगिताहरू आयोजना गरिनु नगरको पहिचान र खेलाडी उत्पादन दुवै सवालमा सराहनीय भएको बताउने जिल्ला फुटबल संघका उपाध्यक्ष हिमाल थापा मगर नगरपालिकाको कार्यालय खेलकुदको क्षेत्रमा ठोस रणनीतिका साथ अघि बढ्न आवश्यक रहेको सुझाए ।


इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता नगरको पहिचान खेलकुद बनिसकेको बताउँछन् । मधेस आन्दोलनपछि ‘मृतनगर’ घोषित भएको इनरुवालाई चलायमान बनाउने काम खेलकुदले गरेको उनले बताए । उनले भने, ‘खेलकुदले नगरवासीलाई एकअर्कामा जोड्ने र आत्मीयता साटासाट गर्ने अवसरसमेत प्रदान गरिरहेको छ ।’


विभाजित समाज अन्तरघुलनको यो भन्दा अर्को उत्कृष्ट उपाय नभएकाले इनरुवा नगरपालिकाले खेलकुदलाई विकास निर्माणपछि दोस्रो स्थानमा प्राथमिकतामा राखेको बताए ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?