कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सुमन र सानुमाया च्याम्पियन

कुम्भराज राई

ओखलढुंगा — यसपालिको एभरेस्ट म्याराथनको उपाधि सुमन कुलुङले जितेका छन् । बुधबार सगरमाथा आधारशिविरदेखि नाम्चेसम्मको ४२.१९५ किलोमिटर दुरी उनले ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पार गरे । सुमन २०१७ को पनि उपाधि विजेता हुन् । 

सुमन र सानुमाया च्याम्पियन

कपिलदेव बुढाले ३ घण्टा ५६ मिनेट १० सेकेन्डबाट उपविजेता भए । रामकुमार राजभण्डारीले ३ घण्टा ५८ मिनेटमा दुरी पार गर्दै तेस्रोस्थान हात पारे । उपाधि विजेता सुमन सोलुखुम्बुको गुदेलका हुन् । ५ वर्षअघिदेखि उनले पर्यटकको भारी बोक्दाबोक्दै म्याराथन दौडिन थालेका थिए ।


महिलातर्फ सानुमाया बुढा प्रथम भइन् । उनले ५ घण्टा ३ मिनेट ४ सेकेन्डमा दौड पूरा गरिन् । रोजिना भण्डारी दोस्रो भइन् । उनले ५ घण्टा २४ मिनेट १२ सेकेन्ड लगाइन् । हुमी बुढामगरले ५ घण्टा २९ मिनेट १५ सेकेन्डबाट तेस्रो स्थान हात पारिन् । म्याराथनमा विभिन्न देशका गरी १ सय ८७ खेलाडी प्रतिस्पर्धामा थिए ।


दिङबोचेदेखि नाम्चेसम्मको २१ किलोमिटर हाफ म्याराथनको उपाधि भने बेलायतका अलेक्जेन्डर विलियम जल्यान्डले जितेका छन् । उनले ३ घण्टा ८ मिनेटमा दूरी पार गरे । ब्राजिलका कार्लोस फ्रेडरिको उपविजेता भए । उनले ३ घण्टा ४२ मिनेट ५० सेकेन्डमा दुरी पार गरे । भारतका जेरोमी लियोडले ३ घण्टा ४४ मिनेट ५५ सेकेन्डबाट तेस्रो भए । हाफ म्याराथनमा विभिन्न देशका १२ ले प्रतिस्पर्धा गरेका थिए ।


६० किलोमिटरको अल्ट्रा म्याराथन उपाधि किरण कुलुङले जितेका छन् । उनले ७ घण्टा १४ मिनेट १० सेकेन्डमा दूरी पार गरे । अर्जुन कुलुङ राई उपविजेता भए । उनले ७ घण्टा १४ मिनेट १५ सेकेन्डमा दूरी पार गरे । आर्मीका पूर्ण तामाङ तेस्रो भए ।


अन्तर्राष्ट्रिय खुला विधातर्फ भारतीय सेनाका सोनाम फुन्चोकले उपाधि हात पारे । लिथुवानियाका धावक रिमास जाभिसस दोस्रो भए । भारतीय सेनाका क्याप्टेन अमित चौहान तेस्रो भए ।


हिमालय एक्सपिडिसनले सन् २००३ देखि एभरेस्ट म्याराथन गर्दै आएको छ । यो संसारकै सबैभन्दा उचाइमा आयोजना हुने अल्ट्रा रेसको रूपमा चर्चित छ । प्रत्येक वर्ष सगरमाथा दिवस (मे २९) को अवसर पारेर प्रतियोगिता हुने गरेको छ ।


म्याराथन र अल्ट्रा विधाका उत्कृष्ट तीन विजेता खेलाडीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । खुला र हाफ म्याराथनका उत्कृष्ट तीनले क्रमशः ५०, ३५ र २५ हजार रुपैयाँबाट पुरस्कृत गरिएको आयोजक एक्सपिडिसनका प्रबन्धक शिखर पाण्डेले जनाएका छन् ।

प्रकाशित : जेष्ठ १६, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?