१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्री कप क्रिकेट : म्याट बिछ्याएर प्रतियोगिता

कुशल तिमल्सिना

काठमाडौँ — पछिल्लो समय नेपालमा आयोजना हुने एकमाक्र राष्ट्रिय एकदिवसीय त्रिकेट प्रतियोगिता हो, प्रधानमन्त्री कप । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा हुने यस प्रतियोगिताको दोस्रो संस्करण अहिले चलिरहेको छ ।

प्रधानमन्त्री कप क्रिकेट : म्याट बिछ्याएर प्रतियोगिता

निर्माणाधीन मुलपानी (तल्लो) क्रिकेट रंगशालामा पनि प्रतियोगिताका केही खेल खेलाइएको छ । अन्तर्राष्ट्रिय एकदिवसीय मान्यताप्राप्त देशको राष्ट्रिय प्रतियोगिता म्याटमा खेलाइएको छ । यसले नेपाली क्रिकेटको घरेलु संरचनालाई उदांगो पारेको छ ।


सन् १९९६ मा नेफाल क्रिकेटले अन्तर्राष्ट्रिय त्रिकेट परिषद् (आईसीसी) बाट एसोसिएट राष्ट्रको मान्यता पाउनका लागि दशरथ रंगशालामा म्याट ओछ्याएरै क्रिकेट देखाइएको थियो । २३ वर्षको अन्तरमा नेपालले विश्वकप खेलिसकेको छ भने डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । तर घरेलु संरचना भने म्याटबाट माथि उठ्न सकेको छैन ।


अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेलाउन मिल्ने मैदान नेपालमा एकमात्र छ, कीर्तिपुरस्थित क्रिवि त्रिकेट मैदान । वर्षा मौसम सुरु हुन लागेकाले दुई मैदानमा प्रतियोगिता गर्ने आयोजकको योजनाअनुसार मुलपानी मैदान रोजिएको हो । निर्माण सम्पन्न भइनसके पनि खेल्न योग्य छ भन्ने सन्देशका लागि मुलपानीमा खेल आयोजना गरिएको राखेप सदस्यसचिव केशवकुमार विष्टले बताए । मुलपानी मैदानमा प्रधानमन्त्री कपका ९ खेल हुनेछ ।


‘सबैलाई यो भ्रम नहोस् कि मुलपानी मैदान आज उद्घाटन भएको होइन । यो एकेडेमी हो र यहाँ धेरै काम हुन बाँकी छ । अहिले यसको मैदान खेल्न योग्य छ भन्ने सन्देशका लागि मात्र खेल आयोजना गरिएको हो,’ सदस्यसचिव विष्टले आइतबार भने, ‘हाम्रो प्राविधिक कमिटीको खेलाउन सकिन्छ भन्ने सुझावका आधारमा खेलस्थल चयन गरिएको हो । यहाँ नवनिर्मित पिचले अनुकूल व्यवहार नगरेपछि म्याट ओछ्याएरै भए पनि खेल गरिएको हो । फेरि म्याटमा खेल्नै नहुने भन्ने पनि त होइन ।’


प्रधानमन्त्री कप क्रिकेट जेठ १ देखि सुरु गर्ने कार्यतालिका थियो । त्यसलाई परिवर्तन गरी जेठ १० गते मुलपानीमा उद्घाटन हुने भनियो । मुलपानीको पिच खराब रहेको थाहा भएपछि पुनः कीर्तिपुरमै उद्घाटन गरियो । एक वर्षदेखि निर्माणाधीन पिच निर्माणको नेतृत्व क्युरेटर अजय पाण्डेले गरेका हुन् । प्रधानमन्त्री कपका लागि एकसातामा पिच तयार बनाउने भन्दै उनले वैशाख ३१ देखि काम सुरु गरेका थिए । जेठ ९ सम्म तयार गर्ने लक्ष्य पूरा नभएपछि उद्घाटन स्थल सारिएको हो ।


‘पिचको काममा कहिलेकाहिँ हामीले सोचेजस्तो नतिजा आउँदैन । प्रधानमन्त्री कपका लागि पिचको घाँस काटेर तीन चरणको रोलर लगाइयो । दुई चरणसम्म ठीकै थियो । तेस्रो चरणको रोलर लगाएर परीक्षण गर्दा पीचले एयर लियो, यस्तो पीचमा ब्याट्सम्यानलाई निकै कठिन हुन्छ,’ सन् २००३ यता क्युरेटरको काम गरिरहेका पाण्डेले भने, ‘यहाँ सात वटा पिच छन्, पूर्वतर्फको दुई पिचमात्र तयार पारिएको छ । अन्य पिचमा खेलाउँदा बाउन्ड्री पुग्दैन ।’


प्रधानमन्त्री कपको व्यवस्थापनको जिम्मा नेपालय इन्टरनेसनलले लिएको छ । त्यसका प्रबन्ध निर्देशक सुवास प्रधानले मुलपानीको माथिल्लो मैदानभन्दा तल्लो मैदान उपयुक्त देखिएकाले त्यसमा खेल आयोजना गरिएको दाबी गरे । ‘वर्षा मौसम सुरु नभए पनि अहिले जति बेला पनि पानी पर्नसक्छ । सानो वर्षामा पनि माथिल्लो मैदानमा पानी जमेर समस्या हुन्छ ।


यो मैदानमा ड्रेन प्रणाली राम्रो छ, प्राविधिकले पनि यहीँ गर्न सुझाव दिए,’ उनले भने । त्यही मैदानमा म्याट बिछ्याएर आइतबार कर्णाली प्रदेश र नेपाल पुलिसबीचको खेल सम्पन्न भयो । खेलका क्रममा पुलिसका कप्तान मन्जित श्रेष्ठले टाइलेट समस्या भएको गुनासो आयोजकसँग गर्दैथिए । रंगशालामा रहेको एकमात्र चर्पी मुख्य गेटनजिकै छ । टाइलेट पुगेर फर्कन ५ मिनेटभन्दा बढी लाग्ने भएपछि मन्जितको गुनासो आएको हो ।


मुलपानीको तल्लो मैदान २०७१ सालदेखि निर्माण थालिएको हो । यसको दक्षिण क्षेत्रमा प्यारापिट पनि बनिसकेको छ । पश्चिम क्षेत्रको ५१ आना जमिनमा देखिएको मुआब्जा विवाद गत मंसिरमा समाधान भएको हो । तर त्यहाँ जमिन खाली गराइएको छैन । अहिले प्रतियोगिता भइरहँदा बाउन्ड्री लाइनको १० मिटरमै स्थानीयको घर छ । त्यसै कारणले बाउन्ड्री नै सानो बनेको छ ।


'म्याटमै भए पनि खेल्न त पायौं’

नेपाली क्रिकेटको स्तर उकालो लाग्दै छ । घरेलु संरचना ओरालो लागिरहेको छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बन भएको तीन वर्ष पूरा भइसक्यो । यस्तोमा घरेलु संरचनाको विकास र विस्तारको कल्पना गर्न सकिन्न । त्यसले खेलाडीहरू आशावादी के कुरामा छन् भने ‘म्याटमै भए पनि खेल्न त पाइरहेका छौं नि ।’


प्रधानमन्त्री कपको साबिक विजेता एपीएफका कप्तान तथा राष्ट्रिय टोलीका प्रमुख सदस्य शरद भेषावकरले प्रतियोगिता आयोजना हुनु ठूलो कुरा भएको प्रतिक्रिया दिए । ‘सबैले म्याटमा खेलायो भनेर आलोचना गरिरहेका छन् । मेरो यसमा फरक मत छ । म्याटमै भए पनि हामीले खेल्न पाएका छौं । खेल निरन्तर हुनुपर्छ, पूर्वाधार बनिरहन्छन्,’ उनले भने, ‘पूर्वाधार छैन भन्दैमा खेल रोकिनुभएन ।’


पूर्व क्रिकेटर तथा प्रशिक्षक विनोद दासले पनि शरदकै भाषा बोले । तर पूर्वाधार निर्माणमा तदारुकता नहुनु र यही प्रतियोगिताकै पनि तयारी राम्रो गर्न नसक्नु राखेपको कमजोरी भएको उनको भनाइ छ । ‘राष्ट्रिय प्रतियोगिता भइरहेको थिएन । प्रधानमन्त्री कपले एकदिवसीय प्रतियोगिताको खडेरी टारेको छ । यो सकारात्मक कुरा हो । जहाँसम्म म्याट ओछ्याइएको कुरा छ, पहिलो बलदेखि नै अधिक घुम्ने विकेटमा खेलाएर ब्याट्सम्यानलाई सकस दिनुभन्दा म्याटमै खेलाउँदा के फरक पर्छ र ?’


दुई विभागीयको जित

प्रधानमन्त्री कप क्रिकेटमा आइतबार दुई विभागीय टोलीले जित हासिल गरेका छन् । मुलपानी मैदानमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गर्दा त्रिवि मैदानमा त्रिभुवन आर्मीले प्रदेश १ माथि १ सय १३ रनको जित हासिल गर्‍यो ।


टस जितेर ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । उसले सुरुआती ५ विकेट सस्तैमा गुमायो । डेब्यु प्रतियोगिता खेलिरहेका कर्णालीका सुदन पोखरेलले सुरुआती ५ विकेट विकेट लिएपछि पुलिस संकटमा परेको थियो ।


तर दिलीप नाथ र कुशल भूर्तेलले छैटौं विकेटमा १ सय ३९ रनको शतकीय साझेदारी गरेपछि पुलिसको इनिङ्स उकासियो । दिलीपले ८४ बलमा ५ चौका र १ छक्काको साथमा ७२ रन योगदान गरे । कुशलले ७७ बलमा ६२ रन बनाउन ६ चौका र १ छक्का प्रहार गरे । कर्णालीका सुदनले ७ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ५ विकेट लिए । दिवान पुनले थप २ विकेट झारे ।


१ सय ८६ रनको लक्ष्य पछ्याएको कर्णाली टिम २७ ओभरमा ९१ रनमै समेटियो । उसका तीन खेलाडीले मात्र दोहोरो अंकको रन छुन सके । ओपनर सुशान्त थापाले २९, महेश खत्रीले १७ र दिनेश अधिकारीले १६ रन जोडे । पुलिसका आरिफ शेखले ४ र ललितनारायण राजवंशीले ३ विकेट लिए ।


आरिफले १० ओभरमा ६ मेडन राख्दै मात्र २० रन खर्चे । ललितले ३ ओभरमा ७ रन दिए । सागर ढकाल, पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट बाँडे । पुलिसका दिलीप नाथ म्यान अफ द म्याच चुनिए ।


त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा २ सय ४ रनको योगफल खडा गरेको थियो । राजेश पुलामी मगले ५६ रन बटुले । पाँचौं नम्बरमा ब्याटिङ गरेका राजेशले ९३ बलमा ४ चौका प्रहार गरे । आर्मीका कप्तान विनोद भण्डारीले ३०, हरिबहादुर चौहानले ४१ र करण केसीले २६ रन जोडे । बलिङमा प्रदेश १ का दीपेश कँडेलले ३ विकेट लिए । मुकुन्द यादव, फिर्दोष अन्सारी र सिद्धान्त लोहनीले २–२ विकेट लिए ।


२ सय ५ रनको लक्ष्य पाएको प्रदेश १ टिम २६.५ ओभरमा ९१ रनमै समेटियो । प्रदेश १ का राजन मगरले सर्वाधिक २६ रन बनाए । मुकुन्दले १८ तथा रवि रोयले १० रन थप्नुबाहेक अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् । प्रदेश १ को इनिङ्स ध्वस्त पार्ने क्रममा आर्मीका सुशन भारीले ह्याट्रिक पूरा गरे । उनले ५.५ ओभरमा २ मेडन राख्दै ५ रन खर्चिए । सुशनले प्रदेश १ का अन्तिम तीन ब्याट्सम्यानलाई लगातार तीन बलमा आउट गरेका हुन् । करण केसीले पनि २ विकेट झारे । राजेश पुलामी म्याच अफ द म्याच चुनिए ।

प्रकाशित : जेष्ठ १३, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?