१६ औं पल्सर स्पोर्ट्स अवार्ड असारमा

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १६ औं संस्करण असार १७ मा हुने भएको छ । यसपल्ट अवार्ड विश्व खेलकुद पत्रकार दिवसको दिन गरिने मञ्चले जनाएको छ ।

१६ औं पल्सर स्पोर्ट्स अवार्ड असारमा

अवार्ड कार्यत्रम प्रज्ञा भवनको हलमा हुनेछ । आइतबार अवार्डको मिति घोषणासँगै मञ्चले मुख्य प्रायोजक बजाज पल्सरको नेपाली आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीसँगको सम्झौता पनि नवीकरण गरेको छ ।


मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हंशराज हुलासचन्दका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । अवार्डका लागि मञ्च र प्रायोजक कम्पनीबीचको १० वर्षे सम्झौतामा यो नवौं वर्ष हो । यस अवार्डका लागि पल्सरले २८ लाख ५० हजारबराबरको नगद र जिन्सी प्रदान गर्ने जनाएको छ ।


सम्झौतापछि कार्यकारी निर्देशक अभिमन्यूले स्पोर्ट्स अवार्डका लागि खेलकुद पत्रकार मञ्चसँगको लामो साझेदारी सम्भव भएकोमा गर्व लागेको बताए । ‘खेलकुदले देशलाई नै एकताबद्ध गराउँछ । खेलकुदमा लागेका व्यक्तिहरूको प्रोत्साहनका लागि खेलकुद पत्रकार मञ्चको प्रयासमा पल्सरले सहयोग गरेको हो । हामीले अहिलेसम्म १ करोड रुपैयाँभन्दा बढी प्रायोजन गरिसकेका छौं । यस वर्ष पनि २० प्रतिशतले बढाएका छौं,’ उनले भने । पल्सर स्पोर्ट्स अवार्ड १० विधामा प्रदान गरिनेछ । यसपालि एक विधा थप गरिएको छ ।


वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन गरी विजेता चयन गरिने छ । पिपल्स च्वाइस अवार्ड समर्थकको मतका आधारमा दिइने विधा हो । पारा एथलिट अवार्ड, लाइफटाइम एचिभमेन्ट र टिम अफ द इयर अवार्डमा मनोनयन नगरी कार्यक्रमकै दिन विजेता घोषणा गरिने मञ्चले जनाएको  । यस वर्ष इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड थप गरिएको हो । एसियाली खेलकुद पत्रकार संघसँगको सहकार्यमा हुने गरी अवार्डको विधा थप गरिएको मञ्चका अध्यक्ष सुवेदीले जानकारी गराए ।


यस वर्ष स्पेसल अवार्ड पनि मनोनयनमा आधारित हुनेछ । वर्ष २०७५ मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्ये उत्कृष्ट छानेर मनोनयन छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ । चार विधा (वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस) का विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्रकाशित : जेष्ठ १३, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?