१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

शुक्र र गीतालाई अवार्ड

प्रदीप मेन्याङ्बो

सुनसरी — गल्फ खेलाडी शुक्रबहादुर राई र टेबलटेनिसकी पूर्व राष्ट्रिय खेलाडी गीता थापामगरलाई धरान उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले शुक्रबार वर्ष खेलाडीमा पुरस्कृत गरेको छ ।

शुक्र र गीतालाई अवार्ड

समितिले गल्फर शुक्रलाई वर्ष खेलाडीमा चुन्दै एक लाख र गीतालाई ‘अनसिन हिरो अफ द धरान’ को रूपमा ५० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ ।


शुक्र एकपछि अर्को गर्दै एमेच्योर गल्फमा नम्बर वान खेलाडी बनेर सफलताको शिखरमा पुगेका धरानका युवा खेलाडी हुन् । गीता टेबलटेनिसकी पूर्व नम्बर वान खेलाडी हुन् । पुरस्कृत राईले क्याडीबाट गल्फ खेल्न थालेका थिए ।


शुक्रले एउटै सिजनमा एक अन्तर्राष्ट्रिय गल्फ च्याम्पियनसिप र स्वदेशमा प्रोफेसनल गल्फ च्याम्पियनसिपका दुई उपाधि जितेर जितेर नयाँ कीर्तिमान बनाएका थिए । गत साता शुक्रले काठमाडौंमा सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप र पुसमा सूर्य नेपाल इस्टर्न ओपन जितेका थिए । उनले माघमा बंगलादेशमा आयोजित एमेच्योर ओपन गल्फमा पनि उपाधि जितेका थिए ।


धरानको निर्वाणा कन्ट्री क्लबमा आयोजित इस्टर्न ओपनमा नेपालका नम्बर वान प्रो शिवराम श्रेष्ठलाई हराउँदै शुक्रले एकसाथ एमेच्योर र प्रोफेसनल दुवै उपाधि जितेर सबैलाई आश्चर्यमा पारेका थिए । उनले इन्डोनेसियाको जकार्तामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।


२१ वर्षीय उनी विश्वका ६ हजार २ सय ५३ गल्फरमा ९०३ औं वरीयतामा छन् । आर्थिक अवस्था कमजोर भए पनि गल्फमा उत्कृष्ट प्रदर्शन गर्दै आएका शुक्रलाई पाँच महिनाअघि मात्र बेलायत, सिंगापुरमा कार्यरत नेपाली र धरानका बासिन्दा र गल्फ एसोसिएसनले ७ लाख रुपैयाँको एउटा घर निर्माण गरिदिएका थिए ।


हाल नेपाल गल्फ एसोसिएसनले मासिक ८ हजार रुपैयाँ तलब दिँदै आर्थिक सहयोग गर्दै आएको छ । पुरस्कृत भएपछि उनले भने, ‘मैले अपेक्षा नगरेको सम्मान र पुरस्कार धरानबाट पाएको छु । सबैलाई मेरो हार्दिक आभार । आज मैले पाएको एक लाख नगद बैंकमा राख्छु । यो रकमले डिसेम्बरमा हुने दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने गरी अभ्यास गर्नेछु ।’


धरानले सम्मान पुरस्कृत गरेकी टेबलटेनिसकी ४६ वर्षीया पूर्व खेलाडी गीताले ०५१ सालमा सम्पन्न २७ औं राष्ट्रिय टेवलटेनिस स्पर्धामा महिला जुनियरमा स्वर्ण, डबल्समा रजत, सिंगल्समा कांस्य र टिम इभेन्टमा कांस्य जितेकी थिइन् ।


०५३ सालमा जनकपुरमा सम्पन्न २८ औं राष्ट्रिय टेबलटेनिस प्रतियागितामा महिला डबल्समा कांस्य, सिंगल्समा रजत र टिम इभेन्टमा रजत, ०५५ सालमा सम्पन्न चौथो राष्ट्रिय खेलकुदमा महिला सिंगल्समा स्वर्ण, महिला डवलमा रजत र टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् ।


०६० मा काठमाडौंमा सम्पन्न ३० औं राष्ट्रिय टेबलटेनिसमा स्वर्ण, पोखरामा सम्पन्न ३१ औ राष्ट्रिय प्रतितियोगितामा पनि स्वर्णलगायत अरु धेरै पदक जितेकी गीता अन्तर्राष्ट्रिय टेबलटेनिसमा पनि छाएकी थिइन् ।


उनले भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली, सिंगापुरमा सम्पन्न १३ औं एसियन टेबलटेनिस, सन् १९९७ मा बंगलादेशको ढाकामा सम्पन्न सिल्भर जुब्ली इन्डिपेन्डेन्ट्स टेबलटेनिस च्याम्पियनसिपको महिला टिम र डबल्स दुवैमा स्वर्ण पदक दिलाएकी थिइन् ।


उनले धरानमा स्वयंसेविकाको रूपमा नयाँ पुस्तालाई टेबलटेनिस प्रशिक्षण दिँदै आएकी छन् । टेबलटेनिसमै गीताले आधा जीवन बिताए पनि राष्ट्रिय खेलकुद परिषदको बेवास्तामा परेकी थिइन् । आफ्नै गृहनरमा सम्मानित भएपछि उनले भनिन्, ‘टेबलटेनिसमै आधा जीवन बित्यो । जीवनमा टेबलटेनिसभन्दा केही सोचिनँ । अरु सपना पनि देखिनँ । यो सम्मानले मलाई टेबलटेनिसमा अरु काम गर्न थप प्रेरणा दिएको छ ।’


उनलाई धरान उपमहानगरपालिकाले साउनदेखि लागू हुने गरी नगरको टेबलटेनिस प्रशिक्षकको रूपमा नियुक्त गर्ने घोषणा कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गरिन् । उनले भनिन्, ‘धरान खेलकुदको पूर्वाधारयुक्त सहर भएकाले र्स्पोर्टस भिलेजका लागि अवधारणा ल्याएका छौं । त्यसको डीपीआर हुँदै छ । प्रदेश रंगशाला धरानमा निर्माण गर्न पहल गरिरहेका छौं ।’


उनले उपमहानगरले सामुदायिक विद्यालयलक्षित गरेर खेलकुदका गतिविधि तीव्र बनाएको बताइन् । नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले नगरले खेलकुदमा विनियोजन गरेको खर्चमध्ये ६० प्रतिशत रकम खेलकुदको पूर्वाधार तयारी र ४० प्रतिशत खेलकुद प्रवर्द्धनमा प्रयोग गर्ने निति अवलम्बन गरेको बताए ।


एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले स्थानीय, प्रदेश र केन्द्र सरकारले खेलाडीको जीविकोपार्जनका लागि यस्ता पुरस्कार सम्मान महत्वपूर्ण हुने र नयाँ पुस्तालाई प्रेरित गर्ने बताए ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?