२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

प्रदूषण रोक्न नागरिककै भूमिका निर्णायक

म्याराथनको समयमा खेलाडीलाई सहज वातावरण बनाउने जिम्मेवारी सबैभन्दा धेरै सर्वसाधारणकै हुन्छ । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो ।
कुशल तिमल्सिना

काठमाडौँ — काठमाडौं उपत्यकामा लामो दूरीको दौड प्रतियोगिता आयोजनाका लागि सबैभन्दा ठूलो चुनौती यातायात व्यवस्थापन हो ।

प्रदूषण रोक्न नागरिककै भूमिका निर्णायक

सवारी चाप कम हुने शनिबार वा अन्य सार्वजनिक विदाका दिन आयोजना भए पनि म्याराथनजस्ता प्रतियोगितामा खेलाडीलाई सबैभन्दा ठूलो डर सवारी साधनकै हुने गरेको विगतको अनुभव छ ।


शनिबार कान्तिपुर हाफ म्याराथनको नवौं संस्करण आयोजना हुँदै छ र यातायात व्यवस्थापनमा ट्राफिक प्रहरीले सबैमा यो अनुरोध गरेको छ कि राष्ट्रियस्तरको प्रतियोगिता सफल बनाउन सर्वसाधारण सबैबाट सहयोग अपेक्षा गर्दछौं ।


म्याराथनको समयमा खेलाडीलाई सहज वातावरण बनाउने जिम्मेवारी सबैभन्दा धेरै सर्वसाधारणकै हुन्छ । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो । सहरका जनताले प्रतियोगितालाई अपनत्व लिएर प्रतियोगिताको समयमा सकेसम्म कम सवारी चलाउनु यातायात व्यवस्थापनका लागि उपयुक्त विकल्प हुनसक्छ । त्यसबाहेक दौडको रुटभन्दा वैकल्पिक मार्गको प्रयोग गरेर पनि प्रतियोगितालाई सहयोग गर्न सकिन्छ ।


नेपाल प्रहरीका प्रमुख सर्वर्न्द्रे खनालले पनि कान्तिपुर हाफ म्याराथनलक्षित गरी शनिबार बिहानको समयमा दौड हुने बाटोमा ट्राफिक डाइभर्सन गरिने बताए । ‘कान्तिपुर हाफ म्याराथन केवल दौडमात्र रहेन, यसले वातावरण प्रदूषणविरुद्धको दौडका रूपमा अभियान बोकेको छ,’ प्रहरी महानिरीक्षक खनालले भने, ‘प्रदूषणको मुख्य कारक सवारी साधनलाई दौड हुने समयमा ग्यारेज वा घरबाट ननिकाल्ने कि ? यसले दौडको रुटलाई पनि सहज बनाउँछ, प्रदूषणविरुद्धको अभियानमा पनि ऐक्यवद्धता जस्तो देखिन्छ ।’


अन्तर्राष्ट्रिय ठूला म्याराथन आयोजना हुँदा सम्बन्धित सहरका बासिन्दाले त्यस समयमा आफैंले रुट खाली गरेर सहयोग गर्छन् । नेपालमा पनि त्यस सहयोगको अपेक्षा सर्वसाधारणबाट गरिएको छ । तर त्यो मात्र समस्याको समाधान पनि होइन ।


‘काठमाडौंमा वैकल्पिक मार्गहरू निकै थोरै छन्, मुख्य सडक बन्द हुँदा वा त्यसको विकल्पका रूपमा अर्को सडकबाट गन्तव्यमा पुग्ने सम्भावना कम छ, शनिबारको समय भएकाले सवारी चाप कम हुन्छ र हामीलाई व्यवस्थापनमा पनि सहज हुन्छ,’ आईजीपी खनालले भने ।


आईजीपी खनालले कान्तिपुर हाफ म्याराथनलाई ‘एन्टी पोलुसन रन’ को अभियान बनाएकाले विकराल बन्दै गएको प्रदूषणबारे जनचेतना जगाउन सबैभन्दा प्रभावकारी हुने धारणा राखे ।


‘प्रदूषणको असर दीर्घकालीन हुने भएकाले मानिसहरू यसबारे कम चिन्तित देखिन्छन्, खेलकुद प्रतियोगिताको माध्यमबाट आममानिसलाई सहज रूपमा बुझ्ने र देखाउने कुरामा प्रभावकारी हुनेछ,’ उनले भने, ‘यस्तो अन्तर्राष्ट्रिय अभ्यास पनि छ । यसले सन्देश राम्रो जानेछ र सबैमा सहज रुपमा पुग्छ भन्ने लाग्छ ।’


मुख्यतः अपराध न्यूनीकरणका लागि नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियान सञ्चालन गरिरहेको छ । विकासोन्मुख देशमा पुराना सवारी र निर्माणकार्य प्रदूषणका मुख्य कारक हुन् । प्रहरीको अभियानलाई प्रदूषण नियन्त्रणका लागि पनि उपयोग गर्नेबारे योजना बनिरहेको आईजीपी खनालले जानकारी दिए ।


‘पुराना सवारी नियन्त्रण, फुटपाथ खाली गर्ने, सडकमा निर्माण सामग्री राख्न बन्द गर्ने लगायतका कामहरू अहिले भइरहेकै छन्, त्यसबाहेक वैकल्पिक मार्गको विस्तार, करिडोर निर्माणले पनि प्रदूषण र यातायात व्यवस्थापनमा सहयोग पुग्छ । प्रहरीले जनतासँगको सहकार्यमा धेरै काम गरिरहेको छ र गरिरहने छ,’ उनले भने ।


प्रदूषणको दीर्घकालीन असर कम गर्न नागरिककै भूमिका निर्णायक हुने आईजीपी खनालको धारणा छ । उनले भने, ‘मानिसलाई आज आफूले गरेको लापरबाहीको असर अर्को पुस्ताले किन बेहोर्ने ? भन्नेबारे बुझाउनु अहिलेको आवश्यकता हो । प्रदूषणले जलवायुमा नकारात्मक असर परिसकेको छ र यसले अझै विकराल रुप लिनेछ भनेर सबैलाई चेतनशील बनाउनु अत्यावश्यक भइसकेको छ ।’

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?