कान्तिपुर हाफ म्याराथन : ह्विलचेयर दौडमा यामी र रामबहादुरद्वारा उपाधि रक्षा

कुशल तिमल्सिना

काठमाडौँ — नवौं कान्तिपुर हाफ म्याराथनको ह्विलचेयर विधामा पुरुषतर्फ त्रिभुवन आर्मीका रामबहादुर तामाङ र महिलातर्फ यामी झाँक्रीले उपाधि रक्षा गरेका छन् । गत संस्करणमा पनि यी दुई च्याम्पियन बनेका थिए ।

शनिबार बिहान सम्पन्न दौडमा पुरुषतर्फ प्रमेबहादुर बस्नेत दोस्रो भए। उनी अघिल्लो सिजन पनि दोस्रो भएका थिए। मोहन बहादुर बस्नेतले तेस्रो स्थान हासिल गरे।

महिलातर्फ रजनी राईले दोस्रो स्थान हासिल गरिन् भने बविता थापा तेस्रो भइन्।ह्विलचियर रेस थापाथलीबाट सुरु भई माइतीघर मण्डलाबाट पुन: थापाथली फर्केको थियो । यो स्पर्धामा विजेता महिला र पुरुषले २०–२० हजार पाउने छन् । दोस्रोलाई १०–१० हजार र तेस्रो हुनेले ५–५ हजार हात पार्ने छन् ।

हाफ म्याराथन अन्तर्गत २१.१ किलोमिटरको दौड भने जारी छ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

आफू महान्, अरू भुसुना

भैरव रिसाल

सक्ता र शक्तिमा हुनेहरूले अमूल्य समयको सारै उपेक्षा एवं अपमान गर्न लागे । समयचेत शून्य हुँदै गए जस्तो लाग्यो । सार्वजनिक समारोह आयोजित गरिन्छन् । त्यस्ता अनुष्ठानमा जति उच्च तहको विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गर्‍यो, मुख्य अतिथिमा उति नै समय घर्काएर मात्र उपस्थित हुने पश्चगामी अभ्यास हुन लाग्यो ।

उहाँहरू बाहेक अरूहरू त केही होइनन्, भुसुना हुन् भन्ने मानसिकता मौलाउँदै गएको छ । ती सर्वोच्च व्यक्तित्वलाई आमन्त्रण गर्ने सामाजिक प्राणीमा पनि के–के हो अगतिशील पर्खने प्रवृक्ति देखिन लाग्यो ।

यस्ता विशिष्ट आसनमा बस्ने व्यत्तित्वलाई एउटा समय र अरूलाई अर्कै समय दिने चुत्थो व्यवहार गर्ने असभ्य काम हुन लाग्यो । समारोह समयमा थाल्दै नथाल्ने स्वाभिमानविहीन व्यवहार हुन लाग्यो । यो प्रवृत्ति सर्वोच्च, उच्च आसनमा बस्नेमा मात्र सीमित नभएर मध्यम र तल्लो पदमा आसीनहरूमा पनि सर्न लाग्यो ।

एउटाका लागि अनेकौंका अमूल्य समय अपव्यय हुन लाग्यो । आयोजकलाई भन्यो थालौं न कार्यक्रम ? ऊ अमिलो मुख लाएर यताउता दौडिन्छ । एकैछिन, एकैछिन, आइपुग्नै लाग्नुभो भन्छ । फेरि यताउता दौडन्छ, अनेकौं अभिनय गर्छ । एक घन्टा बित्यो, सवा घन्टा बित्यो, ढेड घन्टा बित्यो, बल्ल सवारी हुन्छ, उहाँको । कति महाशय त अचाक्ली ढिलो भएकोमा क्षमायाचना गर्ने सामान्य शिष्टाचार पनि गर्दैनन् । ढसमस्स शोफामा उपरखुट्टी लाएर बन्छन् । मानौं उनी मालिक अरू सबै उनका दास ।

उहाँ हिँड्नुभो !
यस्तो अवस्थालाई उपयुक्त संज्ञा के दिने भन्ने सोच आयो र मैले ‘सामाजिक सामन्तवाद’ नामकरण गरेँ । यसको एउटा उपमा २०७६ जेठ ५ गते आइतबारको एउटा घटनाबाट आएको हो ।

मित्र कृष्ण केसीले माओवादी जनयुद्धको दौरान तत्कालीन शाही नेपाली सेनाको ‘भैरव गण’ ले राजनीतिक माओवादी कार्यकर्ताहरूउपर गरेको चरम एवं बर्बर ताडना र यातनाको पराकाष्ठा, विभत्स दमनको सीमा उल्लंघनका दृश्यहरू दृश्याङ्कन गरिएको एउटा लघुवृत्त चित्र कुमारीहल (सिनेमा) कमलपोखरीमा प्रदर्शन गर्ने कार्यक्रम थियो ।

कृष्णले मलाई पनि डाकेका थिए, आउन करै गरेका थिए । सवारी साधनका लागि मित्र सुशील प्याकुर्‍यालसँग आग्रह गरेर गएको थिएँ । त्यहाँ हुनेसम्मको शिष्टाचार गरे ।

त्यो वृत्तचित्र हेर्ने प्रमुखमा आमन्त्रित रहेछन्, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । मलाई प्रचण्ड बस्ने पंक्ति छेवैमा राखे कृष्णले । दायाँतिर दमननाथ ढुङ्गाना, हिसिला यमी, विनामगर थिए । हामी तीनैजना गफियौं ।

वृत्तचित्र देखाउँदैनन् त । पौने नौ भो, नौ भो । कृष्ण केसी यताउता दौडिन्छन्, मुख रातो भएको छ, पसिना आएको छ, कृष्णलाई । सादा पोसाकका सुरक्षाकर्मी सक्रिय छन्, सचेत छन् । कम्युनिष्ट कार्यकर्ता पनिसक्रिय छन् । दमनजीले भन्नुभो, ‘निकैअबेर भो डाक्टर सुन्दरमणि दीक्षित हिँड्नु हुन्छ । नभन्दै डा. दीक्षित हिँड्नुभो ।’

सजीव वृत्तचित्र
हामी पनि निस्कने कि भन्यौं । तर निस्कन भने निस्केनौं । हामी तीन जनाबीच राजनीतिदेखि अरू विभिन्न विषयमा उडन्तेदेखि गढन्तेसम्मका कुरा भए । मैले हिसिलासँग जिज्ञासा राखेँ, ‘खोइ हिसिलाजी, बाबुरामजीलाई फोनमा भेटै हुँदैन, क्या हो ?’

हिसिलाजीले हाँस्दै जवाफ दिनुभो, ‘मेरो त भेट हुँदैन ।’ हामी पनि हाँस्यौं । रमाइलो गर्‍यौं । तैपनि प्रमुख मान्छे आउँदैनन् । कृष्ण केसी उही असामान्य अवस्थामा थिए । हलमा कति जना त कराउँथे, सुरु गरौं भनेर । अष्टलक्ष्मी शाक्य पनि हिँड्नुभो ।

साढे नौ बजेपछि खबर आयो, ‘प्रचण्ड आउनुभो’ भन्ने । अनि लगत्तै अर्को खबर आयो, ‘उहाँ रेष्ट रुम पस्नुभो’ भन्ने । अब सुरु हुने भो, मान्छे खुसी भए । प्रचण्ड हामीसँग हात मिलाउँदै त्यही पंक्तिमा बस्नुभो । वृत्तचित्र पनि प्रदर्शित हुन थाल्यो, भीषण भाषण केही भएन । वृत्तचित्र उत्तम थियो ।

यातनाका भयावह द्दश्य हेर्दा प्रायः मान्छेका आँखा रसाएका मात्र थिएनन्, बरबर आँसु नै झरेका थिए । त्यो वृत्तचित्र हेर्न जम्मा भएकामध्ये प्रायः आफ्ना मान्छे–छोराछोरी, श्रीमान–श्रीमती, आमा–बाबु, नाती–नातिनी, इष्टमित्र, आफन्त–बेपत्ता पारिएका मध्येका धेरै थिए ।

वृत्तचित्रको अन्त्यमा प्रचण्डको भाषण नै चित्रित थियो । तसर्थ अर्को भाषण सुन्नु परेन । जनयुद्धपछिको प्रचण्ड दुईपल्ट प्रधानमन्त्री– कार्यकारी प्रधानमन्त्री भैसक्नुभो । तर बेपत्ता मान्छेहरूको मरे बाँचेको पत्ता लागेको छैन । केपी शर्मा ओली पहिलोपल्ट प्रधानमन्त्री हुँदा पनि बेपत्ता पारिएका मान्छेहरू पत्ता लागेनन् ।

दोस्रोपल्ट प्रधानमन्त्री भएको पनि यतिका भैसक्यो, तर बेपत्ता पारिएका मान्छे बेपत्ता नै छन् । बेपत्ता पारिएका मान्छेहरू पत्ता लगाउन गठित पहिलो आयोगले पनि पत्ता लगाउन सकेन । दोस्रो आयोग बनिसकेको छ, तर बेपत्ताहरूको पत्तो छैन । बेपत्ताहरू बेपत्ता नै छन् ।

मात्र हावादारी कुरा हुन्छन् । कुराको घ्यु लाग्दैन । विद्यादेवी भण्डारी दोस्रो कार्यकालको राष्ट्रपति छन् । उनका धर्मपति श्रीमान मदन भण्डारीको दुर्घटना वा हत्या पत्ता लागेको छैन । निरीह उनी प्रतीक्षामै छन् भने अरूको के कुरा ?

बरु आउन सक्तिनँ भनौँ
यो रचनाको आशय हो, आजको असजिलो र अस्वाभाविक अवस्थाको खोजी तथा चर्चा । परिस्थिति यस्तो छ, कोही पनि सन्तुष्ट छैन, तर कुनै उपाय सोचिँदैन । मान्छे खुला छैन । सामाजिक सञ्जालमा एकथरी झकझकाउँछन्, अरू केही देखा पर्दैन ।

केही विशेष दिवस मनाउँदा सडक सक्रिय हुन्छ, तर ? सेलाउँछ । केही प्रदर्शन हुन्छन्, धर्ना हुन्छन्, सेलाउँछन् । हाल मिडिया काउन्सिल विधेयकबारे सडक केही तात्यो । तर परिणाम शून्य छ । शिक्षा सम्बन्धमा एउटा अनुष्ठान आयोजना गरिएको रहेछ, प्रज्ञा प्रतिष्ठानको मूल कक्षमा ।

केदारभक्त माथेमा जस्ता महामनाहरूको अग्रसरतामा त्यो अनुष्ठान आयोजित रहेछ, शिक्षा विषयमा । प्रचण्ड मुख्य अतिथि भई आउने भन्नुभएको रहेछ । प्रचण्ड प्रधानमन्त्री निवासमा हुनुहुँदो रहेछ । सम्पर्क गर्दा आउँछु–आउँछु, एकैछिनमा आउँछु भन्दाभन्दै आउँदै आउनु भएनछ । माथेमाले प्रसङ्गमा भन्नुभएको मसँग ।

हो, यस्तै स्थिति वा अवस्थालाई प्रतिध्वनित गर्न ‘सामाजिक सामन्तवाद’ भनेको हो । जसमा नेताका साथै अरू पनि यस्ता छन्, जो समयमा आयो भने सानो भइन्छ भन्ने घमन्ड गर्छन् । त्यही भएर ‘सामाजिक सामन्तवाद’ मा एउटा अर्को वाद पनि थप्न मन लाग्यो, ‘घमन्डवाद’ स्पष्ट कुरा केही नहुने, हुँदै नहुने, कुरा पनि हुँदैन भन्न नसक्ने । आयोजकहरू पनि प्रमुख अतिथिलाई समयमा ल्याऊन नसक्ने ।

समयमा कार्यक्रम नगर्ने । कार्यत्रममा आमन्त्रित कति रोगी होलान्, ज्येष्ठ नागरिक होलान्, समयमा औषधि खानपर्ने होला, केही मतलवै छैन । खालि मुख्य मान्छेको मात्र बढी सम्मान गर्ने (सम्मान गर्ने शब्द पनि मिल्दैन कि चाकरी गर्ने) लामो समय कुराएर अन्य अभ्यागतको अपमान, चरम अपमान गर्ने आजको अवस्थालाई के सामाजिक सामन्तवाद भन्नु बढी होला र ?

जेठ १५ गते गणतन्त्र दिवसदेखि यस्तो सामाजिक सामन्तवाद अन्त्य गर्ने प्रण गरौं । सबै आमन्त्रितलाई एउटै समय दिऊँ । बोलाएको भन्दा ढिलोमा १५ मिनेटभिक्र कार्यत्रम सुरु गरौं । गणतन्त्र यस्तो हुन्छ, समयमा काम हुन्छ भन्ने सन्देश दिऊँ ।

आयोजक संस्था वा व्यक्ति प्रमुख अतिथिको बँधुवा मजदुर होइन भन्ने सन्देश दिऊँ । सामाजिक सामन्तवाद र घमन्डवाद उखेलौं ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्