कान्तिपुर हाफ म्याराथन : ३५ सयको सहभागिता निश्चित

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर हाफ म्याराथनको नवौं संस्करण शनिबार आयोजना हुँदै छ । 'एन्टी पोलुसन रन' को नारा दिइएको यस संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता निश्चित गरेका छन् । यो अहिलेसम्मकै सर्वाधिक सहभागिता हो । 

वैशाख २२ देखि जेठ ९ सम्मको नाम दर्ता समयमा हाफ म्याराथन महिला र पुरुष, ५ किलोमिटर कर्पोरेट दौड र हि्वलचियर दौड गरी ३ विधामा ३ हजार ४ सय ७५ जनाले सहभागिता निश्चित गरेका छन् । हाफ म्याराथनमा मात्र १ हजार २ सय ७० जनाको सहभागिता रहनेछ ।


५ किमि कर्पोरेट र मिडिया दौडमा पुरुषतर्फ १ हजार ४ सय र महिलातर्फ ८ सय १५ जनाले फारम भरेका छन् । हि्वलचियर दौडतर्फ २० जनाको सहभागिता निश्चित भएको छ । थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स हाताबाट शनिबार बिहान ७ देखि सुरु हुने दौडको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडाले गर्नेछन् । अघिल्लो संस्करणमा २ हजार ५ सय ६० जनाले सहभागिता जनाएका थिए ।


हाफ म्याराथन थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट थापाथली आएर सम्पन्न हुनेछ । ५ किलोमिटरको कर्पोरेट दौड थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, सिभिल अस्पताल अगाडिबाट फर्किएर सोही रुट थापाथली आएपछि सकिनेछ । हि्वलचियर दौड भने थापाथलीबाट माइतीघर मण्डला परिक्रमा गरी पुनः थापाथली आएपछि सम्पन्न हुनेछ ।


हाफ म्याराथनको आठवर्षे इतिहासमा महिलातर्फ एपीएफकी कान्छीमाया कोजु र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल सबैभन्दा सफल खेलाडी हुन् । दुवै आआफ्नो विधाका साबिक विजेता हुन् । कान्छीमायाले पाँचपल्ट र हरिले चारपल्ट उपाधि जितिसकेका छन् । यस संस्करणमा कान्छीले तयारी नगरेको भन्दै सहभागिता जनाएकी छैनन् । यसअघिका दुवै संस्करणका च्याम्पियन हरिका लागि भने यसपल्ट ह्याटि्रकको अवसर छ ।


हाफ म्याराथनको महिला र पुरुष दुवैका विजेताले १-१ थान हिरो डुएट स्कुटर र ५०-५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दुवै विधामा दोस्रोदेखि छैटौंसम्मका विजेताले क्रमशः ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


हि्वलचियरतर्फ दौडका विजेता (महिला र पुरुष) ले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १० र ५ हजार पुरस्कार पाउने छन् । कर्पोरेट दौडतर्फ भने भ्रमण प्याकेज पुरस्कार व्यवस्था गरिएको छ । उपाधि विजेता (महिला र पुरुष) ले ३ रात ४ दिनको थाइल्यान्ड भ्रमण, दोस्रो हुनेले २ रात ३ दिनको पोखरा भ्रमण र तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट पुरस्कारस्वरुप पाउने छन् ।


हाफ म्याराथनमा गत संस्करण हरिकुमारले १ घण्टा ९ मिनेट ०२ सेकेण्डमा दूरी पूरा गरी उपाधि जितेका थिए । होमलाल श्रेष्ठ र गजेन्द्र राई क्रमशः दोस्रो र तेस्रो भएका थिए । महिलातर्फ कान्छीमायाले १ घण्टा २१ मिनेट २८ सेकेण्डमा दूरी पूरा गरी उपाधि जित्दा सन्तोषी श्रेष्ठ र वृन्दा श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो भएका थिए । हि्वलचियरतर्फ पुरुषमा आर्मीका रामबहादुर तामाङ र महिलामा यामी झाँक्री तामाङ विजेता बनेका थिए । कर्पोरेटनर्फ पुरुषमा अजय तामाङ र महिलामा लादेन प्रधानले उपाधि जितेका थिए ।


प्रकाशित : जेष्ठ १०, २०७६ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्

पशुपतिनाथको जमिनमा चर्च

गुरुयोजना कार्यान्वयन गर्दा हटाउँछौं : सदस्य सचिव ढकाल
दामोदर न्यौपाने

काठमाडौँ — पशुपतिनाथ जग्गाधनी । मोही व्यक्ति । जग्गा प्रयोगचाहिँ चर्चका लागि । कुत बुझाउनुपर्ने क्रिश्चियन समुदायको चर्चले । जग्गा प्रयोग गरेबापत पशुपतिनाथलाई बर्सेनि कुत बुझाउँछ क्रिश्चियन समुदायको संस्थाले । काठमाडौं महानगरपालिका-७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो । मिसनरिजले जमिन वर्षमा १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको छ ।

पशुपति क्षेत्रको चार किल्लाभित्र बनेको चर्च । तस्बिर : दामोदर/कान्तिपुर 

दुई कित्ता गरेर २ रोपनी १ पैसा २ दाम जमिन प्रयोग गरेको छ । 'यो हिन्दु धर्म लोप गराउने षडयन्त्र हो,' पशुपतिनाथ मन्दिरका भण्डारी केदारमान भण्डारी भन्छन्, 'हिन्दुको क्षेत्रमा अन्य धर्मले अतिक्रमण गर्नु हुँदैन । यो कानुनविपरीत छ ।'

एक धर्मको क्षेत्रको जमिनमा अर्काे धर्म वा सम्प्रदायले संरचना बनाउनु कानुनविपरीत हुन्छ । सर्वाेच्च अदालतको नजिरअनुसार पनि एक धर्मको स्वामित्वमा भएको जमिनमा अन्य धर्मले प्रयोग गर्न पाउँदैन । कोषका सदस्यसचिव प्रदीप ढकाल मोहीले जग्गा किनबेच गर्दागर्दै चर्चको स्वामित्वमा पुगेको बताउँछन् । 'जग्गा किनबेच गर्न यो समुदायले पाउने, ऊ समुदायले नपाउने भन्ने छैन । नेपालको संविधानले पनि सम्पत्तिसम्बन्धी अधिकार सुनिश्चित गरेको छ,' उनले भने, 'त्यही अधिकारअनुसार जग्गा किनियो, मिसनरीले प्रयोग गर्‍यो । तर, यो जायज होइन ।'

कालोपुलमा मिसनरीले सञ्चालन गरेको ज्ञानेश्वर चर्च पशुपतिनाथ क्षेत्रको चार किल्लाभित्र पर्छ । पशुपति क्षेत्र विकाष कोषले चर्चलाई बिस्तारै हटाउने प्रक्रिया अघि बढाइने जनाएको छ । 'बृहत् गुरुयोजना बन्दै छ,' सदस्य सचिव ढकाल भन्छन्, 'गुरुयोजना लागू हुने बेलामा यो चर्च पनि हामी लिन्छौं । अब पशुपति क्षेत्रका भू-उपयोगिता सहितको गुरुयोजना बन्दै छ ।'

पशुपति क्षेत्रको चार किल्लाबारे लिच्छविकालीन अभिलेख र हिमवत खण्ड लगायतका प्राचीन ग्रन्थमा पनि उल्लेख छ । परापूर्वकालदेखि तोकिएको चारकिल्ला एउटा छ । पछि २०४३ सालमा राजपत्रमै सूचना निकालेर तोकिएको चार किल्ला फरक छ । पहिला फराकिलो थियो, पछिल्लो चार किल्ला साँघुरिएको छ । 'हिन्दुको यस्तो आध्यात्मिक पक्ष जोडिएको ठाउँमा अन्य धर्मको अतिक्रमण हुनु जायज छैन,' ढकाल भन्छन् ।

यस्तो छ कानुनमा
पशुपति क्षेत्रभित्र अन्य धार्मिक संघसंस्थाको क्रियाकलाप भूमिसुधार ऐनविपरीत हुने सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारी बताउँछन् । भूमिसुधार ऐन २०२१ को दफा ५७ मा यससम्बन्धी व्यवस्था छ । यो ऐनले एउटा धार्मिक प्रयोजनका लागि राखिएका जग्गा त्यही प्रयोजनमा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । गुठीको लिखितबमोजिम काम नगरी धर्मलोप गरेमा त्यस्ता महन्थ, पुजारी या गुठियारलाई ५ सय रुपैयाँसमेत जरिवाना गर्न सकिने व्यवस्था छ । ऐनमा रकमी खारेजी गरी अर्काे रकमी नियुक्त गर्ने व्यवस्थासमेत छ । भूमिसम्बन्धी नियम २०२१ को ३९-ट) मा एउटा धार्मिक प्रयोजनमा राखिएका जमिन अतिक्रमण गर्न नहुने व्यवस्था गरेको छ । भूमिसुधारसम्बन्धी गठित समितिको ३९-अ) मा एक उपयोगका लागि निर्धारित जग्गा अर्को उपयोगमा लगाउन नपाइने व्यवस्था छ ।

सर्वाेच्च अदालतको नजिरअनुसार पनि हिन्दु धर्मका लागि राखिएका जग्गा अन्य धर्म सम्प्रदायले प्रयोग गर्न पाउँदैनन् । सिन्धुपाल्चोक मांखाका चरिबहादुर गहतराजले सर्वाेच्चमा दिएको रिट निवेदनमा न्यायाधीश प्रकाश वस्ती र कमलनारायाण दासको इजलासले गरेको फैसलामा एउटा धार्मिक आस्थामा अर्काे धर्मले अतिक्रमण रोक्नु नै धर्मनिरपेक्षता भएको नजिर प्रतिपादन छ । २०६८ जेठ १ गते भएको फैसलामा 'धर्मनिरपेक्ष मुलुक भए पनि इतिहास, संस्कृति, परम्परा र धार्मिक संस्कारलाई पशुपति क्षेत्र विकास कोषका रूपमा संगठित संस्थाको माध्यमबाट सुसञ्चालन, प्रवर्द्धन र व्यवस्थापन गरेको छ, जो धार्मिक निरपेक्षता प्रतिकूल छैन,' पशुपति वनकाली क्षेत्रको श्लेष्मान्तकमा क्रिश्चियन धर्मावलम्बीले गर्दै आएको दाहसंस्कार रोक्ने कोषको निर्णयविरुद्ध परेको रिटमा फैसला गरिएको नजिरमा छ, 'धर्मनिरपेक्षता भनेको राज्यको धर्ममा अहस्तक्ष्ाेपकारी भूमिका कायम राख्दै राज्यमा बस्ने विभिन्न धर्मावलम्बीको धर्मलाई समान रूपले सम्मान दिनुपर्छ भन्ने मान्यता मात्र हो । एउटा धार्मिक आस्था भएको ठाउँमा अर्काे धर्मले अतिक्रमण रोक्नु धर्मनिरपेक्षता हो ।'

अदालतले २०४३ फागुन १४ मा राजपत्रमा प्रकाशित भएको चार किल्लाको वनजंगल, जग्गाजमिन, मठमन्दिरसमेतका संरचना, भौगोलिक तथा वातावरणीय स्थितिको रेखदेख गर्ने दायित्व कोषको भएको अदालतले कोषलाई सम्झाएको थियो । 'ऐतिहासिक र पुरातात्त्विक महत्त्वका दृष्टिले मात्र नभई विश्वसम्पदा सूचीमा परेकोबाट पनि पशुपति क्षेत्रको संरक्षण गर्नुपर्ने अपरिहार्यता देखिन्छ,' फैसलामा छ, 'सो क्षेत्रको संरक्षणका निम्ति यसको पवित्रतालाई अनतिक्रम्य मान्दै कसैको त्यस क्षेत्रमा लास गाड्ने परम्परा छ भने पनि सम्बन्धित सम्प्रदायलेे सो परम्परा र प्रचलनमा समसामयिक सुधार ल्याउन उद्यत हुनुबाट नै सांस्कृतिक र धार्मिक हक संवर्द्धन भई राष्ट्रिय गौरव अभिवृद्धि हुनेछ । यस्तो छलफल चलाउने दायित्व कोषकै हो ।' पशुपति क्षेत्र विकाष कोष ऐनमा वर्णन गरिएको उद्देश्यअनुसार पनि पशुपति क्षेत्रभित्रको जग्गा क्रिश्चियन सम्प्रदायलाई उपलब्ध गराउनु कानुनसम्मत नभएको अदालतले ठहर गरेको छ ।

सबै धर्मसंस्कार मान्नेका लागि चिहान उपलब्ध गराउनु राज्यको दायित्वभित्र परेकाले पशुपति क्षेत्रभन्दा बाहिर चिहान उपलब्ध गराइदिन सरकारको नाममा आदेशसमेत दिएको थियो । सरकारले यो आदेश कार्यान्वयन गरेको छैन । त्यही भएर रातिराति क्रिश्चियन समुदायले पनि मृगस्थलीमा दाहसंस्कार गर्ने गरेका छन् । 'मैले नै १०/१५ वटा शव गाडेको देखेँ,' कोषका कोषाध्यक्ष मिलन थापा भन्छन्, 'अब यो क्षेत्र व्यवस्थित गर्छौं। अनि अन्य धर्मावलम्बीको पशुपतिमाथिको अतिक्रमण रोकिन्छ ।'


प्रकाशित : जेष्ठ १०, २०७६ २२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×