गल्फर शुक्र र पूर्वखेलाडी पुरस्कृत

प्रदीप मेन्याङ्बो

सुनसरी — गल्फ खेलाडी शुक्रबहादुर राई र टेवलटेनिसका पूर्वखेलाडी गीता थापा मगरलाई धरान उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले वर्ष खेलाडीको रुपमा शुक्रबार पुरस्कृत गरेको छ । समितिले गल्फर राईलाई वर्ष खेलाडीको रुपमा नगद एक लाख रुपैयाँ, पूर्वखेलाडी थापालाई 'अनसिन हिरो अफ द धरान' को रुपमा नगद ५० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्रदान गरेको हो ।

गल्फर शुक्र र पूर्वखेलाडी पुरस्कृत

शुक्रराज एम्मेच्योर गल्फका नम्बर वन खेलाडी बनेका धरानका युवा खेलाडी हुन् भने थापा टेवल टेनिसकी पूर्व नम्बर वन खेलाडी हुन् । पुरस्कृत राईले क्याडीबोइ हुँदाहुँदै सानै उमेरदेखि गल्फ खेल्दैआएका थिए । एउटै सिजनमा एक अन्तर्राष्ट्रिय गल्फ च्याम्पीयनशीप र स्वदेशमा दुई/दुईपटक एम्मेच्योर प्रोफेशनल गल्फको च्याम्पियनसिपको उपाधि जितेर नयाँ रेकर्ड बनाउने एम्मेच्योर गल्फर राईमात्र हुन् ।


गत साता मात्र राईले काठमाडौंमा सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन्ससिपमा एम्मेच्योर र प्रोफेशनल दुवैको उपाधि हात पारेका थिए । ०७५ माघ १० मा बंगलादेशमा आयोजित एम्मेच्योर ओपन गल्फ च्याम्पियनसिपमा उनले उपाधि हात पारेका थिए ।


पुरस्कृत भएपछि राईले भने, 'मैले अपेक्षा नगरेको सम्मान र पुरस्कार धरानबाट पाएको छु । सबैलाई हार्दिक अभार छ ।' उनले पुरस्कारको रकम आउँदो डिसेम्बरमा हुने साउथ एसियन गेम्समा गोल्डमेडल ल्याउनमा अभ्यास गर्न खर्च गर्ने जानकारी पनि दिए ।


पूर्वखेलाडी गीताले ०५१ सालमा सम्पन्न २७ औं राष्ट्रिय टेवल टेनिस स्पर्धामा महिला जुनियरमा स्वर्ण, डवलमा रजत, सिंगलमा कास्य र टिम इभेन्टमा कास्य पदक जितेकी थिइन् । सम्मानित भएपछि उनले भनिन्, 'टेवल टेनिसमै आधा जीवन बित्यो । जीवनमा टेवल टेनिसभन्दा केही सोचिन । अरु सपना पनि देखिन । यो सम्मानले मलाई टेवल टेनिसमा अरु काम गर्न थप प्रेरणा दिएको छ ।'


समारोहमा कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदीले थापालाई धरान उपमहानगरपालिकाले साउनदेखि लागू हुनेगरी नगरको टेवल टेनिस प्रशिक्षकको रुपमा नियुक्त गर्ने घोषणा गरिन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?