१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सावित्राको सान

काठमाडौँ — नेपाली सुपरस्टार सावित्रा भण्डारी आबद्ध सेतु एफसीले उत्कृष्ट पुनरागमनसहित मणिपुर पुलिस फुटबल क्लबलाई पराजित गरी इन्डियन वुमन्स लिग फुटबलको उपाधि उचालेको छ । पछि परेको स्थिति उल्टाउने क्रममा सावित्राले २ गोल गरेपछि सेतुले मणिपुरविरुद्ध ३–१ को जितसहित उपाधि जितेको हो । 

सावित्राको सान

पन्जाबको गुरुनानक रंगशालामा सेतु पहिलो हाफमा १–० ले पछि परेको थियो । सावित्रा, रतनवाला देवीसम्मिलित सेतुको अग्रपंक्तिले पहिलो हाफमा मणिपुरको सशक्त रक्षापंक्ति तोड्न असफल देखिएको थियो ।


प्रतियोगितामा सर्वाधिक गाल गरेकी मणिपुरकी रतनवालालाई रोक्ने चक्करमा लागेको सेतुको रक्षापंक्तिमा चक्मा दिँदै ४४ औं मिनेटमा राधारानी देवीको गोलमार्फत मणिपुरले खेलमा अप्रत्यासित अग्रता बनाएको थियो । पहिलो हाफमा सेतुले खेल नियन्त्रणमा राखे पनि गोल गर्न असफल भएको हो ।


दोस्रो हाफमा सेतु खेलमा फर्कियो, त्यो पनि उपहार गोलमार्फत । ५६ औं मिनेटमा ग्रेसले दायाँ क्षेक्रबाट इन्दुमथिका लागि गरेको त्रस क्लियर गर्ने क्रममा मणिपुरकी उमापति देवीले आफ्नै पोस्टमा गोल गर्न पुगिन् । आत्मघाती गोलपछि मणिपुरको निराशाको सदुपयोग गरी सावित्राले दुई गोल थपिन् ।


६१ औं मिनेटमा सावित्राले मणिपुरको डिफेन्स चिर्दै गोलरक्षक बिट गरी सेतुलाई अग्रता दिलाइन् । ७० औं मिनेटमा सन्ध्याको क्रसमा सावित्राले व्यत्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरी सेतुलाई पहिलो उपाधि निश्चित गरिन् । उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिइन् । समूह चरणको पहिलो खेलमा पनि यी दुई टिम आमनेसामने भएका थिए, जहाँ सेतुले ६–४ ले विजयी भएको थियो । सावित्राले ४ गोल गरेकी थिइन् ।


लिगमा सावित्राले १५ गोल गरिन् । सेतुले खेलेका ७ मध्ये ६ खेलमा गोल गरेकी सावित्राले तीन ह्याट्रिक गरेकी छन् । तीमध्ये २ खेलमा ४–४ गोल गरिन् । प्रतियोगिताभर सेतुले ४५ गोल गरेर ६ गोल खाएको छ । सेतुले गरेकोमध्ये एकतिहाइ गोल सावित्राले गरेकी हुन् ।


सावित्रा आफ्नो टिमको सर्वाधिक गोलकर्ता पनि भइन् । लिगकै सर्वाधिक गोलकर्ता भने मणिपुरकी बाला देवी हुन् । उनले २६ गोल गरिन् । फाइनलमा भने उनी गोलविहीन भएपछि मणिपुरको उपाधि लक्ष्य पूरा हुन सकेन ।


प्रतियोगितामा सेतुले सावित्रासहित नेपालकी अर्की स्ट्राइकर अनिता बस्नेतलाई पनि अुनबन्धित गरेको थियो । तर प्लेइङ सेटमा एकमात्र विदेशी राख्न पाउने नियमअनुसार अनिताले प्रतियोगितामा धेरै अवसर पाइनन् । उनी दुई खेलमा मात्र सुरुआती ११ मा सामेल भएकी थिइन् । अनिताले समूह चरणमा बैंग्लोर युनाइटेडविरुद्ध एक गोल गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?