दुर्गाले जिते रारा ट्रेल

राजबहादुर शाही

रारा, मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा आयोजित प्रथम ट्रेल रनको उपाधि जुम्लाका २८ वर्षीय धावक दुर्गाबहादुर बुढाले जितेका छन् ।

दुर्गाले जिते रारा ट्रेल

नेपाली सेनाले आयोजना गरेको प्रतियोगितामा दुर्गाले निर्धारित दुरी ५५ मिनेट ३८ सेकेन्डमा पार गरे । उनले १ लाख रुपैयाँ पुरस्कार हात पारे । दुर्गाले आठौं राष्ट्रिय खेलकुदमा स्वर्णसहित तीन पदक जितेका थिए ।


जुम्लाकै २७ वर्षीय धीरबहादुर बुढा दोस्रो भए । उनले ५९ मिनेट १६ सेकेन्डमा पार गरे । ६० मिनेट २० सेकेन्डमा दुरी पार गरी सेनाका नवराज सावत तेस्रो भए । दोस्रोले ६० हजार र तेस्रोले ४० हजार रुपैयाँ पुरस्कार पाए । सेनाका भीम गुरुङले चौथो स्थान हासिल गरी २० हजार र जुम्लाका प्रकाश कठायतले पाँचौं स्थान हासिल गरी १० हजार रुपैयाँ जिते ।


रारा ट्रेल रनको उपाधि जित्ने दुर्गा जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का हुन् । भारतीय सेनाको जागिर छाडेर उनी दौडमै होमिएका छन् । १३ वर्षको उमेरदेखि दौडै आएको उनले स्मरण गराए । उनले कर्णाली स्पोर्टस क्लबमार्फत खेल्दै आइरहेका छन् ।

राराको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता गरिएको नेपाली सेनाले जनाएको छ ।


ट्रेल रनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै सेना, प्रहरी र सशस्त्र प्रहरीका खेलाडीले सहभागिता जनाएका थिए । श्रीदल गुल्मका अनुसार प्रतियोगितामा १ सय ३० खेलाडी सहभागी थिए । पहिलोपल्ट आयोजित प्रतियोगिता भव्य रूपमा सफल भएको श्रीदल गुल्मका गुल्मपति सेनानी रवि केसीले बताए ।


प्रतियोगिताको उद्घाटन उत्तर–पश्चिम पृतनाका उपरथी सरोजप्रताप राणाले गरेका थिए । दौडलाई प्रत्येक वर्ष निरन्तरता दिँदै जाने राणाले बताए । उनले प्रतियोगितामार्फत राराको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । राराको पर्यटन विकासलाई माथि उठाउन खेल गतिविधि बढाउँदै लैजानुपर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?