कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सगरमाथा युथ च्याम्पियन

धनकुटा — सगरमाथा युथ क्लब मोरङले नवौं अग्नि बसुन्धरा स्मृति टुबोर्ग रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । चौबिसे गाउँपालिकाको राजारानीमा जारी प्रतियोगिताको फाइनलमा सगरमाथाले चर्च ब्वाइज क्लब काठमाडौंलाई २–० ले पराजित गरेको हो ।

सगरमाथा युथ च्याम्पियन

सगरमाथाले उपाधिमा ह्याटिक गरेको छ । सगरमाथाले २ लाख र उपविजेता चर्च ब्वाइजले १ लाख रुपैयाँ पुरस्कार पाए ।


पहिलो हाफ गोलरहित रहेकोमा दोस्रो हाफको अन्तिम समयमा लगातार गोल गर्दै सगरमाथा विजयी भएको हो । सगरमाथाका मनोज राईले ७२ औं र भुवन बस्नेतले ७९ औं मिनेटमा गोल गरे । मनोजले पोस्टको देब्रे कुनाबाट प्रहार गरेको बल जालीको सम्पर्कमा पुगेको थियो । लगत्तै चर्च ब्वाइजका गोलकिपर किशोर गिरी पोस्टभन्दा अगााडि बढेको फाइदा उठाउँदै भुवन खाली पोस्टमा गोल गर्न सफल भए ।


चर्च ब्वाइजका निकेश लिम्बुले पहिलो हाफमा प्रहार गरेको बल बारमा लागेर फर्कियो । छिरिङ गुरुङले दोस्रो हाफको सुरुमा पोस्ट नजिकैबाट प्रहार गरेको बल बाहिरियो । निशान लिम्बुले प्रहार पनि सफल हुन सकेन । सगरमाथाका विष्णु सुनुवार, सुशील राई, भुवन बस्नेतले प्रहार विपक्षी गोलकिपरले बचाए ।


सर्वोकृष्ट खेलाडी सगरमाथाका विष्णु सुनुवार भए । उनले २० हजार रुपैयाँ पाए । राइर्जिङ प्लेयर आयोजक रारा फुटबल क्लबका नरेन्द्र बिक, सर्वाधिक गोलकर्ता दाउफिन्सका पेटेंगा, उत्कृष्ट प्रशिक्षक सगरमाथाका रवि गुरुङ, उत्कृष्ट फरवार्ड सगरमाथाका भुवन गुरुङ, उत्कृष्ट डिफेन्डर चर्चका छिरिङ गुरुङ, उत्कृष्ट गोलरक्षक सगरमाथाका पूर्ण चेम्जोङ र म्यान अफ द फाइनल सगरमाथाका मनोज राई घोषित भए ।


सेमिफाइनलमा चर्च ब्वाइजले क्यामरुनी क्लब दाउफिन्स र सगरमाथा युथले विभागीय टोली एपीएफलाई हराउँदै फाइनल तय गरका थिए ।विजेतालाई पूर्वमन्त्री सुनीलबहादुर थापालगायतले पुरस्कृत गरे ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?