२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

'अत्यावश्यक छ साइकल संस्कार’

कुशल तिमल्सिना

काठमाडौँ — वर्तमान विश्वमा मानव सभ्यताका लागि सबैभन्दा ठूलो चुनौती प्रदूषण बनिरहेको छ । वायु, जल, ध्वनि प्रदूषणको बढ्दो मात्रा मन्द विषको रूपमा फैलिरहेको छ ।

'अत्यावश्यक छ साइकल संस्कार’

तत्कालै असर नदेखिने प्रदूषण नियन्त्रण गर्न गरिएको अभियान हो, ‘एन्टी पोलुसन रन’ । कान्तिपुर हाफ म्याराथनको नवौं संस्करणको नारा हो यो ।


यसपल्ट कान्तिपुर हाफ म्याराथन प्रतिस्पर्धामा मात्र केन्द्रित छैन । यसलाई प्रदूषणविरुद्धको दौड बनाएर प्रदूषण नियन्त्रणका प्रयास र सम्भावनाबारे पनि प्रचार गर्ने लक्ष्य राखिएको छ । प्रदूषण नियन्त्रणका लागि सबैभन्दा सस्तो र प्रभावकारी समाधान भनेको साइकल संस्कारको विकास नै हो ।


१० वर्षदेखि काठमाडौंमा साइकल संस्कार फर्काउन लागिपरेका अभियन्ता साहिल श्रेष्ठको भनाइ सापटी लिने हो भने साइकल संस्कार स्थापित गर्नसके ५० प्रतिशतभन्दा बढी प्रदूषणका कारकहरू निमिट्यान्न हुन्छन् ।


‘हाम्रो जस्तो साइकल संस्कार नभएको सहरमा रहर र बाध्यता दुई कारणले साइकल चढिन्छ । साइकलको प्रयोग जसरी भए पनि यसले वातावरण प्रदूषण नियन्त्रणमा परोक्ष प्रभाव पारिरहेको छ,’ साइकल सिटी नेटवर्क नेपालका पूर्व अध्यक्ष श्रेष्ठले थपे, ‘साइकलले आफ्नो ‘लाइफ साइकल’ मा गर्ने प्रदूषण शून्य छ । फलाम र रबर उत्पादनको प्रदूषणबाहेक साइकलले पुर्‍याउने असर अरु के होला र ?’


१० वर्षअघि साइकललाई विकासका बाधक ठान्नेहरू अहिले साइकलको आवश्यकता महसुस गर्न थालेका छन् । यसको महत्त्व बुझ्न/बुझाउन थालेका छन् । नीति निर्माण तहमा बस्नेहरूको चेतनामा साइकल प्राथमिकतामा नपर्दा चाहिँ श्रेष्ठलाई दुःख लाग्छ ।


‘१० वर्षअघि कलेज पढ्दा सुरु भएको हाम्रो अभियानले अहिलेसम्म काठमाडौं सहरमा साइकल संस्कारको महत्त्व स्थापित त गरेको छ, तर साइकलमैत्री सडक निर्माण भने शून्यप्रायः छ । तीनकुने–माइतीघर सडकमा समेत साइकल गुडाउन समस्या छ, चक्रपथको त कुरै नगरौं,’ उनको गुनासो थियो ।


खेलकुदको कार्यक्रमबाट प्रदूषण नियन्त्रणलाई मुख्य अभियानका रूपमा मनाउने कान्तिपुरको योजनाले यस क्षेक्रमा त्रियाशील सबैका लागि मार्गदर्शक बन्नसक्ने अपेक्षा श्रेष्ठले गरेका छन् । ‘काठमाडौंको मुख्य समस्या वायु प्रदूषण हो, यसको असर तत्कालै देखिन्न, कालान्तरमा देखिने असरका लागि अहिले नै सचेत बनाउन सञ्चारमाध्यम र सर्वसाधारणको स्वयंको चेतना नै समाधानको अचूक ओखती हो,’ उनको सुझाव छ, ‘यो अभियान एउटा प्रतियोगितामा मात्र सीमित नहोस्, प्रदूषण नियन्त्रणका लागि १० वर्षे दौडको नामबाट जनचेतना अभियान सुरु गर्न सकियो भने यसले समाजमा सकारात्मक असर पर्नेछ ।’


प्रदूषणको असरजस्तै नियन्त्रणको अभियान पनि दीर्घकालीन हुनुपर्छ । त्यसका लागि साइकल संस्कार अपरिहार्य किन पनि भइसकेको छ भने प्रदूषणको मुख्य कारक नै इन्धनबाट चल्ने सवारी साधन हुन् । यस्ता सवारीहरू सम्पन्नताको सूचकका रूपमा लिइन्छ ।


साइकल चढ्ने मान्छेलाई वर्गीय विभेद गरिन्छ । त्यसकै परिणाम त हो, साइकल मानिसहरूको प्राथमिकतामा पर्न छाडेको । ‘५० वर्षअघिसम्म काठमाडौंमा पनि साइकल संस्कार थियो । जस्तो तराईका सहरहरूमा अहिले पनि छ । तर आधुनिकताको होडमा अहिले साइकल बिर्सिएको छ । भविष्यमा तिनै मान्छेहरूले साइकलको महत्त्व बुझ्ने छन् जसको परोक्ष फाइदा प्रदूषण नियन्त्रणमा पनि हुनेछ,’ श्रेष्ठले भने ।


प्रदूषण नियन्त्रणका लागि साइकल सबैभन्दा सस्तो र वातावरणमैत्री माध्यम हो । अंग्रेजीमा एउटा भनाइ छ, ‘फास्टेस्ट वे टू गो ग्रिन । ग्रिनेस्ट वे टू गो फास्ट ।’

प्रकाशित : जेष्ठ ७, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?