विश्व र्‍याफि्टङ च्याम्पियनसिप : नेपाल दसाैं

राजु घिसिङ

क्वीन्सल्यान्ड, अस्ट्रेलिया — नेपाली टिमले डाउन रिभरमा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं स्थान हासिल गरेको छ । त्यससँगै नेपाल क्वीन्सल्यान्डस्थित टली नदीमा आइतबार सम्पन्न १८ औं विश्व र्‍याफि्टङ च्याम्पियनसिपको पुरुष खुलातर्फ शीर्ष १० भित्र अटाउन सफल भयो । आर ६ को विश्व च्याम्पियनसिपमा यो नै नेपालको सबैभन्दा राम्रो नतिजा हो ।

१८ औं विश्व र्‍याफि्टङ च्याम्पियनसिपमा आइतबार डाउन रिभरमा प्रतिस्पर्धा गर्दै नेपाली टोली ।

अघिल्लो दिन स्ललोममा ५५ सेकेन्ड पेनाल्टी बेहोरेपछि १३ औं स्थानमा रहेको नेपाल समग्र (ओभरअल) मा १२ औं स्थानमा झरेको थियो । त्यसैले च्याम्पियनसिपको अन्तिम दिन डाउन रिभरमा सहभागी १६ देशमध्ये ८ टिमको अन्तिम समूहमा रहेर नेपालले डुंगा खियाउन सुरु गरेको थियो । आफ्नो समूहमा पहिलो भएको नेपालले ४६ मिनेट ४८.३० सेकेन्डमा रेस पूरा गर्दै डाउन रिभरमा छैटौं स्थान हात पार्‍यो ।

यस स्पर्धामा न्युजिल्यान्ड (४४ मिनेट ५८.४१ सकेन्ड), रुस (४५ मिनेट ३३.२७ सेकेन्ड) र ब्राजिल (४६ मिनेट २४.९७ सेकेन्ड) ले क्रमश : स्वर्ण, रजत र कांस्य पदक जिते । सुरज गुरुङ, शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँको नेपाली टिमलाई नजिक रहेर पनि चेक गणतन्त्र (४६ मिनेट २९.४४ सेकेन्ड) र जापान (४६ मिनेट ३१.९८ सेकेन्ड) ले भने उछिन्न सकेन ।
सुरुमै अरु टिम अगाडि बढेपछि नेपाल अन्तिममा परेको थियो ।

त्यसैले विस्तारै गति लिँदै नेपालले आफ्नो समूहमा सबैभन्दा अगाडि रेस पूरा गरेको हो । आधा दूरी पार गर्दासम्म अमेरिका, क्यानडा, इन्डोनेसिया र कोस्टारिकाभन्दा पछाडि रहेको नेपाली टिमले अन्त्यतिर टलीमा सही लय समातेको थियो । अन्त्यतिर अमेरिकालाई उछिन्दै नेपाल आफ्नो समूहमा पहिलो भयो । तेस्रो दिन शीर्ष आठमा रहेका टिमहरू पहिलो समूहमा थिए । त्यो समूहमा रहेका चीन, जर्मनी र आयोजक अस्ट्रेलियाभन्दा नेपालले राम्रो समय निकाल्दै डाउन रिभरमा छैटौं स्थान हात पारेको हो ।

'रेस सुरु गर्दा अन्त्यमा परेका थियौं,' नेपालका कप्तान सुरज गुरुङले भने, 'त्यसबाट सम्हालिँदै अगाडि बढेर सोचेभन्दा राम्रो समय निकाल्यौं । सुरुमै डुंगा जुध्नुपूर्व अघि बढ्न पाएको भए त्योभन्दा छोटो समयमै रेस पूरा गर्नसक्थ्यौं ।' डाउन रिभरमा इन्डोनेसिया सातौं, अमेरिका आठौं, क्यानडा नवौं र जर्मनी दसौं भए भने त्यसपछि अस्ट्रेलिया, कोस्टारिका, चीन, नर्वे, रोमानिया र कोलम्बिया क्रमशः ११ देखि १६ औंसम्म रहे ।

नेपालले आर ६ तर्फको विश्व र्‍याफटङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको यो दोस्रो अवसर हो । यसअघि सन् २०१७ मा जापानमा सम्पन्न च्याम्पियनसिपमा नेपाल डाउन रिभरतर्फ १३ औं भएको थियो । त्यस बेला नेपाली टिम १७ देशमध्ये समग्रमा १३ औं भएको थियो । त्यो प्रदर्शनलाई यसपालि उछिन्यो ।

निमबहादुर मगरले दुई महिना सेती, मस्र्याङदी, त्रिशूलीमा प्रशिक्षण दिएको टिम स्पि्रन्टमा पाँचौं, हेड टु हेडमा नवौं, स्ललोममा १३ औं र डाउन रिभरमा छैटौं हुँदै समग्रमा दसौं स्थानमा रह्यो ।

स्पि्रन्ट (१०∞), हेड टु हेड (२०∞), स्ललोम (३५∞) र डाउनरिभर (३५∞) गरी १ हजार अंकको प्रतिस्पर्धामा नेपालले ६ सय ७२ अंकजोड्यो । अन्तर्राष्ट्रिय र्‍याफि्टङ महासंघ (आईआरएफ) ले विश्व च्याम्पियनसिपमा शीर्ष आठमा रहने टिम २०२० को मार्चमा चिलीमा हुने विश्व र्‍याफि्टङ कपमा छनोट हुने घोषणा गरेको थियो । आठौं स्थानमा रहेको इन्डोनेसियाभन्दा १६ अंक पछाडि रहेपछि नेपालले चिली यात्रा निश्चित गर्न भने सकेन । छनोट भएका पुरुष खुलाका आठ र महिलाका सात टिमलाई आतेजाते र खानेबस्नेको सबै व्यवस्था आईआरएफले गर्ने जनाएको छ ।

ब्राजिल फेरि च्याम्पियन
डिफेन्डिङ च्याम्पियन ब्राजिलले सर्वाधिक ९०९ अंक जोड्दै पुरुष खुलाको उपाधि रक्षा गर्‍यो । स्पि्रन्ट र स्ललोममा स्वर्ण पदक जितेको ब्राजिल हेड टु हेडमा पाँचौं र डाउन रिभरमा तेस्रो भयो । उसले स्पि्रन्ट र हेड टु हेडमा तेस्रो तथा स्ललोम र डाउन रिभरमा दोस्रो भएको रुसलाई ७ अंकले पछाडि पार्दै उपाधि रक्षा गरेको हो ।

दुई वर्षअघि जापानमा चारै स्पर्धामा स्वर्ण कब्जा गरेको ब्राजिलले यसअघि सन् २००७, २००९, २०१३, २०१५ र २०१७ मा आर ६ को विश्व च्याम्पियनसिप जितेको थियो । २(२ वर्षमा हुने आर ६ को च्याम्पियनसिप २०११ मा जापानले जितेको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

आशिष च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — झापाको डाइनामिक चेस एकेडेमीका आशिष पाण्डेले काठमाडौं मेयर कप उमेर समूह चेसअन्तर्गत यू-१६ खुलाको उपाधि जितेका छन् । लगातार पाँच राउन्डमा जित पाएका उनले छैंटौ र सातौं राउन्डमा बराबरी खेलेका थिए ।

विधागत विजेता आशिष पाण्डे, एलिशा तामाङ र कुशल बेलवासे ।  

६ अंक बटुलेका उनले प्रोगेसिभ अंकका आधारमा सैनिक आवासीय माविका प्रनीत जोशीलाई पछाडि पारेका थिए । प्रनीतले पनि ६ अंक नै लिएका थिए । अन्नपूर्ण माविका प्रवेश लामा र श्रीमहांकाल माविका विजय टमाटाले पनि ६ अंक बटुलेका थिए । प्रोगेसिभ अंकमा पछाडि रहेका प्रवेश तेस्रो र विजय चौथो भए ।

यू-१२ छात्रातर्फ अन्नपूर्णकी एलिशा तामाङ विजेता भइन् । उनले ख्वपि्रङ एकेडेमीकी अंशुदिल प्रजापतीलाई प्रोगेसिभ अंकमा पछाडि पार्दै उपाधि जितिन् । दुवैले समान ६ अंक बटुलेका थिए । मिसन युथ क्लबकी सन्तोषी बिक ५ अंकसहित तेस्रो स्थान भइन् ।

यू-१२ छात्रतर्फका हेड टु हेड च्यालेन्जमा प्रतिद्वन्द्वीलाई पराजित गर्दै मिसन युथका कुशल बेलवासे विजेता भए । कमलपोखरी स्कुलका अनुपजंग शाह दोस्रो भए । दुवैले समान ६ अंक ल्याएका थिए । साढे ५ अंकसाथ मिसन युथका आश्चर्य चौधरी तेस्रो भए । प्लेयर अफ द गेमको उपाधि भने श्रीमहांकाल माविका विजय टमटाले हात पारे । यू-१२ छात्रामा पुष्पसदनकी सुभाना महर्जन र छात्रमा दीपज्योतिका जसिम मोहम्मद अल सैयद उत्कृष्ट भए । सबै विधाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उत्कृष्टले जनही ५ हजार पाए ।

मखन चेस क्लबले आयोजनागरेको प्रतियोगिता विजेतालाई कामनपा वडा २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले पुरस्कृत गरे ।

नुमा थाम्सुहाङ (प्रशिक्षार्थी)

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्