'प्रदूषण कम गर्न सम्भव छ’

कान्तिपुर हाफ म्याराथन
शिल्पा कर्ण

काठमाडौँ — कुनै पनि खेल महोत्सव खाली प्रतिस्पर्धामै मात्र केन्द्रित हुने गर्दैन । यसको सामाजिक प्रभाव उत्तिकै हुन्छ । विशेषतः कुनै पनि म्याराथन दौडले केही न केही सन्देश दिन खोजिरहेकै हुन्छ । फेरि लामो दूरीको दौडको माध्यमबाट समाजलाई छुने खाले सन्देश दिन सजिलो हुन्छ ।

'प्रदूषण कम गर्न सम्भव छ’

यसपल्टको कान्तिपुर हाफ म्याराथनको नारा नै रहेको छ, 'एन्टी पोलुसन रन' । त्यसो भनेको काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त सहर बनाउन जनचेतना बढाउने ।

विश्वका जति ठूला सहर छन्, त्यहाँ सहरकै नाममा म्याराथन हुने गर्छ । यस्तै एउटा दौड हो, कान्तिपुर हाफ म्याराथन । यसपल्ट यस हाफ म्याराथनले दिएको नाराले उत्साहित बनेका छन्, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ । उनी उपत्यका नगरपालिका फोरमका सचिव पनि हुन् । उनी मान्छन्, काठमाडौ उपत्यकामा प्रदूषण समस्याको समाधान सम्भव छ । उनीसँग प्रदूषण हुनुका कारणहरू छन् । त्यसको सम्भावित समाधानका उपाय पनि ।

कान्तिपुर हाफ म्याराथन र यसले दिएको नाराको सेरोफेरोमा कुराकानी गर्ने क्रममा श्रेष्ठ भन्छन्, 'अहिले उपत्यकाको भू-बनोटले गर्दा मुख्य रूपमा यहाँ वायु प्रदूषण नै मुख्य हो । कहिलेकाहीं यहाँ बस्न लायक छैन पनि भनिन्छ । त्यसमा आंशिक सत्यता मात्र छ । प्रदूषणको मुख्य समस्या सडक छेउमा मात्र हो । यसका लागि सडक कालोपत्रे गर्नुपर्छ । यहाँ गाडी बढी गुड्ने भएकाले त्यसपछि सरसफाइ राम्रोे हुनुपर्छ । त्यसका लागि उपत्यकाका दुवै महानगरपालिकाले ब्रुमर चलाइरहेका छन् ।'

यसले आंशिक सफलता मात्र पाएको देखिन्छ । यसको कारण हो, उपत्यका छिर्ने गाडीले बाहिरबाट धुलो लिएर आउनु । त्यसैले मेयर श्रेष्ठको जिकिर छ, चक्रपथ छिर्ने गाडीलाई सफा गर्ने, चक्का पखाल्ने योजना बनाउनुपर्छ । वायु प्रदूषणको अर्को कारक यहाँ गाडी धेरै गुड्ने भएर पनि हो । उनका अनुसार फोहोर मैला व्यवस्थापनले गर्दा जमिन प्रदूषण भइरहेको छ, विशेष गरेर काठमाडौं महानगरपालिकाभित्र । त्यो नियन्त्रणका लागि सरकारसँग पनि छलफल भइरहेको छ ।

डम्पिङ साइटसम्म पुग्ने सडक बनिरहेको छ । उनले भने, 'फोहोरमैलाको प्रश्नमा सबै स्थानीय तह एक भएर गइरहेका छौं । माटोको प्रदूषण निकै छ र यसको कारण हो रासायनिक मलको प्रयोग । हामीले आफ्नो नगरपालिकामा फोहोरबाट उत्पादित मलको प्रयोगलाई प्रोत्साहन गरिरहेका छौं । मध्यपुरका २ वडामा भान्साका फोहोरलाई कम्पोस्ट मल बनाउने जापानी प्रविधि प्रयोग गरिरहेका छौं । चार रोपनी जग्गा भाडामा लिएर यसै मलको प्रयोगबाट तरकारी उत्पादन गरेका छौं ।'

श्रेष्ठ मान्छन्, हाफ म्याराथनका क्रममा दिइएको सन्देशले धेरै हदसम्म आममानिस सचेत हुने छन् । उनी जल प्रदूषणको समस्या पनि सम्बोधन गर्नुपर्ने बेला भइसकेको औंल्याउँछन् । ढल व्यवस्थापन नै यसको उपाय हो । खोला छेउमा नाला बनाएर फोहोर पानीको टि्रटमेन्ट बनाउनु महत्त्वपूर्ण हो । मध्यपुर थिमीमा पर्ने मनोहरामा अहिलेसम्म ढल मिसाउन दिएका छैनौं ।' उनी के मान्छन् भने कुहिने र नकुहिने फोहोर छुट्याउन सके पनि धेरै सजिलो हुनेछ ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?