कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एएफसी कप : ‘मनाङ मर्स्याङ्दीलाई जित निर्विकल्प’

काठमाडौँ — लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्साङले आफ्नो टोलीले एएफसी कप समूह चरण पार गर्न बाँकी तीनै खेलमा सुखद नतिजाका लागि प्रयास गर्ने बताएका छन् । 

एएफसी कप : ‘मनाङ मर्स्याङ्दीलाई जित निर्विकल्प’

त्यसका लागि मनाङलाई बुधबार घरेलु मैदानमा भारतीय टोली मिनर्वा पन्जाबविरुद्ध हुने खेल महत्त्वपूर्ण छ । एएफसी कपको दक्षिण एसियाली समूहमा रहेको मनाङले यसअघि ३ खेलबाट १ अंक बटुलेको छ । समूह विजेताले मात्र अर्को चरणमा स्थान बनाउने नियमअनुसार मनाङलाई बाँकी ३ खेल गर या मरको अवस्थामा छ ।


‘सुरुआती ३ खेलमा हामीले अपेक्षाअनुसार नतिजा ल्याउन सकेनौं, बाँकी तीन खेल शतप्रतिशत जितका लागि खेल्नेछौं, अर्को चरणमा जाने हो भने हामीले सबै खेल जित्नुपर्छ । मिनर्वाविरुद्धको खेल जित्न सके त्यसपछि दुई खेलमा राम्रो गर्ने प्रेरणा मिल्नेछ,’ प्रशिक्षक लोप्साङले मंगलबार पत्रकार सम्मेलनमा भने । मनाङले मिनर्वाविरुद्ध उसैको मैदान भुवनेश्वरस्थित कालिंगा रंगशालामा २-२ गोलको बराबरी खेलेको थियो । त्यसअघिका दुई खेलमा मनाङ पराजित भएको हो । घरेलु मैदानमा बंगलादेशको ढाका अवहानी लिमिटेडसँग १-० ले हारेको मनाङले चेन्नईयन एफसीसँग २-० को हार बेहोरेको थियो ।


‘मिनर्वाविरुद्ध राम्रो प्रदर्शन गरे पनि अवसर सदुपयोग गर्न नसक्दा हामीले अंक बाँडेका थियौं,’ प्रशिक्षक लोप्साङले भने, ‘यस खेलमा हामीले अघिल्ला खेलका कमजोरी सुधार गर्ने लक्ष्य लिएका छौं । त्यहीअनुसार रणनीति परिवर्तन गरी आक्रामक फर्मेसन तयार गरेका छौं, हामीलाई घरेलु दर्शकको पनि साथ रहनेछ ।’


कप्तान विराज महर्जनले ‘ए’ डिभिजन च्याम्पियनको शैली मनाङले एएफसी कपमा देखाउन नसकेको स्विकारे । ‘यसअघिका तीनै खेलमा हामी हाम्रै कमजोरीले पराजित हुनुपरेको सत्य हो । लामो समयदेखि एउटै सेट भए पनि इन्ज्युरीका कारण खेलाडी परिवर्तन गर्नुपर्‍यो । टिममै तालमेल नमिलेजस्तो देखियो,’ राष्ट्रिय टोलीका समेत कप्तान विराजले भने । उनले मिनर्वाविरुद्धको खेल जसरी पनि जित्नैपर्ने भएकाले टिमका खेलाडीबाट शतप्रतिशत योगदान हुने अपेक्षा गरे ।


मनाङको जस्तै योजना मिनर्वा पन्जाबको पनि छ । लिगमा तीन चरणका खेल सकिँदासम्म समूह विजेताका लागि सबैको ढोका खुला रहेकाले मनाङविरुद्ध ३ अंकका लागि खेल्ने पन्जाबका प्रशिक्षक सचिन बडाढेले बताए । उनले नेपाली लिग च्याम्पियनविरुद्धको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरे । ‘मनाङविरुद्ध उसकै मैदानमा हुन लागेको खेलप्रति हामी सकारात्मक छौं,’ उनले भने ।


पन्जाबका कप्तान ओमालाजा नुरेक करिमले पनि मनाङसँगको खेल जित्नुको विकल्प नरहेको बताए । ‘मनाङ नेपाली लिग च्याम्पियन हो, हामी भारतको । नतिजा जस्तो पनि आउन सक्छ । तर, हामी शतप्रतिशत जितका लागि खेल्नेछौं ।’


यस समूहमा पन्जाबले यसअघिका तीनै खेल बराबरी खेलेको थियो । समूहमा उसको ३ अंक छ । एएफसी कपको समूह ‘ई’ मा मनाङसँगै दक्षिण एसियाली टोली बंगलादेशको अवहानी, भारतका मिनर्वा र चेन्नईयन छन् । सबैले होम एन्ड अवेका आधारमा ६-६ खेल खेल्नेछन् । समूह विजेता टोली इन्टर जोन प्लेअफको सेमिफाइनलमा पुग्नेछ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?