कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

थापाथली पार्क, चेसप्रेमीको जमघट

गणेश राई

काठमाडौं — सैन्यविज्ञ डा. इन्द्रजित राईको अटुट दैनिकीमध्ये चेस खेल्नु हो  । उनी बिहानैदेखि दिनभरि महत्त्वपूर्ण कार्यक्रमहरू सकिनासाथ अपरान्ह थापाथलीस्थित चेसपार्कमा टुप्लुक्क आइपुग्छन्  ।

थापाथली पार्क, चेसप्रेमीको जमघट

चेस खेलाडीमध्ये कुनै एकलाई लिन्छन् र खेल सुरु गर्छन् । चेसका ६४ कोठाभरि राजा, मन्त्री, हात्ती, घोडा, पिपालाई आ–आफ्नो स्थान ग्रहण गराउँछन् । ‘म हररोज चेस खेल्न आउँछु किनभने चेसले मानसिक तनावबाट मुक्त गर्छ,’ त्रिपुरेश्वर निवासी राईले आफ्नो दैनिकी सुनाए, ‘अब चाहिँ नबोलौं है नत्र चौपट हुन्छ ।’


त्यसरी चेस खेल्न आउनेमा राईको जोडी उदाहरणमात्र हो । त्यसरी खेल्नेमा दर्जन जोडी खेलिरहेका भेटिन्छन् । नेपाली सेनाका अफिसरहरू, विश्वविद्यालयका प्राध्यापकलगायत विशिष्ट ओहदाबाट अवकासप्राप्त फुर्सदिला व्यक्ति चेसपार्क धाउँछन् ।


वागमती नदीले छुट्टिएको काठमाडौं र ललितपुर जिल्लालाई थापाथली पुलले जोडिदिएको छ । ऐतिहासिक थापाथली पुलको उत्तर–दक्षिणतर्फ कालमोचन घाटक्षेत्र छ, जहाँ राणा र शाह खानदानी किरिया बस्दछन् । यहाँ सन्यासी अखडा, उदासी अखडा र राममन्दिर गरी तीन भाग रहेको छ । पुल छेउको सन्यासी अखडापरिसरमा शिव मन्दिर र खुला ठाउँ नै थापाथली पार्क हो । चेस खेलाडीनिम्ति अभ्यास गर्ने थलो बनेपछि थापाथली चेस पार्कले परिचित छ । यसलाई मुलुकको सबैभन्दा ठूलो चेस पार्कका रूपमा लिइन्छ ।


दस वर्षयता चेस खेलाडीको बाक्लो जमघट हुने गरेको छ । ऐतिहासिक थलोको नाम मेटिने भएपछि २०७५ कात्तिकमा ‘थापाथली पार्क चेस क्लब’ औपचारिक रूपमा दर्ता गरिएको छ । सेनाका अवकासप्राप्त कर्णेल इन्द्रबहादुर कार्कीको अध्यक्षतामा उक्त क्लब दर्ता गरिएको छ ।


‘यो ठाउँमा चेस खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको भेटघाट हुने महत्त्वपूर्ण थलो बनेको छ,’ जोगी, सर्वसाधारणदेखि उच्च ओहदाका चेसप्रेमीको स्थल भएको उल्लेख गर्दै अध्यक्ष कार्की भन्छन्, ‘चेस खेलले मानसिक विकासमा सहयोग गर्छ । विद्यालय र क्याम्पसका विद्यार्थीदेखि चासो राख्ने जोसुकैलाई प्रशिक्षित गराइने लक्ष्यसहित अघि बढेका छौं ।’


क्लबका सचिव असुन राजकर्णिकारले अन्तर्राष्ट्रिय नियमानुसार चेस खेलमा क्लासिक, र्‍यापिड र ब्लिज प्रचलन रहेको बताए । यस क्लबले यी तीनै किसिमको चेस प्रतियोगिता गराउँदै आएको छ । यस क्लबबाट २०६९ सालदेखि खेलाडी विभिन्न प्रतियोगिताहरू खेल्दै आएका छन् । जितेका छन् । क्लबको प्रतिनिधित्व गर्ने खेलाडीमा क्षितिज भण्डारी, आशिष फुयाँल, जनार्दन श्रेष्ठ, सुमित पन्त, सुशील चौधरी, सुमन राई लगायत छन् । क्लबका दुई दर्जन खेलाडीले अन्तर्राष्ट्रिय रेटिङ पाएका छन् । ६ फिडे मास्टरमध्ये एक महिला खेलाडी छन् ।


‘म ६ वर्षदेखि क्लबबाट निरन्तर खेल्दै आएको छु,’ नेपाल च्याम्पियन युवा खेलाडी आशिष फुयाँल भन्छन्, ‘चेस खेल रमाइलोनिम्ति त हुँदै हो, यसले कन्सर्नट्रेसन पावर बढाउँछ । धेरै कुरा गहिराइमा सोचिन्छ ।’ आशिष बीएस्सी सीएसआईटीका विद्यार्थी हुन् । उनले आधा दर्जन प्रतियोगिता जितिसकेका छन् ।


२०६४ सालदेखि थापाथलीमा चेस खेलाडी र खेलको सुरुआत भएको हो । क्लबका सचिव राजकर्णिकारका अनुसार सुरुमा नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष राजेशहरि जोशीले चेस बोर्ड र गोटी उपलब्ध गराएका थिए । त्यसपछि नियमित रूपमा खेलाडीहरू आउने क्रम बढेको हो । सिकारुदेखि पारंगत खेलाडीको जमघट हुने गर्दछ । हाल दैनिक १५ वटा चेस बोर्ड खेल्ने समूह आउने गरेका छन् । बिहान ९ देखि साँझ ८ बजेसम्म खुला हुन्छ ।


क्लबका सदस्य सुकदेव चाम्लिङ नेपालमा चेस खेल प्रतिस्पर्धाभन्दा पनि पहिला समय कटाउने मेलोका रूपमा लिइन्थ्यो, तर अहिले युवापुस्तामा आकर्षण बढो रहेको बताउँछन् । ‘नेपालमा हुने चेस खेलमा ३३ प्रतिशत यसै क्लबका खेलाडी छन्,’ उनी भन्छन् ।


क्लबका अध्यक्ष कार्कीले अहिले पार्क हातमा एउटा पाले कक्ष, फलाम र केही काठका डेस्क–टेबल रहेको बताए । व्यवस्थित खेलस्थल र शौचालयको अभाव छ । जसले गर्दा महिला खेलाडीमैत्री संरचना नरहेको जनाइएको छ । ‘चेसको विकासमा देशकै नमुना क्लबका रूपमा विकास गर्न जनप्रतिनिधिमार्फत् महानगरसम्मको योजनानिम्ति ध्यानाकर्षण गराएका छौं,’ उनले भने ।


काठमाडौं महानगरपालिका वडा ११ स्थित यो पार्क गुठीको जग्गामा पर्दछ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थलगत अवलोकन गरी व्यवस्थापनका निम्ति १० लाख रुपैयाँ बजेट विनियोजन गराएका छन् । त्यसलगत्तै प्राविधिक टोलीले सर्भे गरेपछि चेस पार्क व्यवस्थित गर्न ३८ लाख रुपैयाँभन्दा बढी लागत स्टमेट गरेका छन् ।


महानगरपालिकाले अन्तर्राष्ट्रिय रूपमा विकास गर्ने तयारी गरेको वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए । ‘थापाथली ऐतिहासिक थलो हो र यही पुल छेउमा राष्ट्रिय, अन्तर्राष्ट्रिय चेस खेलाडीको जमघट हुने गर्दछ,’ वडाध्यक्ष तण्डुकारले भने, ‘खेलाडीको मनोबल बढाउनु छ भने यहाँ आउने जोकोहीले चेस खेल हेरेर मनोरन्जन लिन सक्नेछन् ।’

त्यसनिम्ति वडा कार्यालयले महानगरलाई योजनाका लागि सिफारिस गरेको र महानगरले टेण्डर प्रक्रिया अघि बढाएको उनले जनाए । योजनाअनुसार थापाथली पार्कभित्र व्यवस्थित चेस खेल क्षेत्र, वृद्धवृद्धा र बालबालिका बिसौनी, शौचालय, बगैंचा निर्माण हुनेछ ।

प्रकाशित : वैशाख २८, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?