३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मनाङलाई महानगरको सम्मान

काठमाडौँ — नेपाली फुटबल इतिहासमै पहिलोपल्ट स्थानीय तहबाट आर्थिक सहयोग पाएका फुटबल क्लबले सम्बन्धित तहबाट सम्मान पाएका छन् । 'ए' डिभिजन लिग विजेता मनाङ मस्र्याङदी, उपविजेता सीएमजी क्लब संकटासँगै महानगरका ६ 'ए' डिभिजन क्लबलाई काठमाडौं महानगरपालिकाले विशेष सम्मान गरेको छ । 

गत वर्ष असोजदेखि पुससम्म चलेको 'ए' डिभिजन लिगमा सहभागी काठमाडौंका क्लबलाई महानगरपालिकाले १० लाख रुपैयाँबराबर नगद तथा खेल सामग्री यसअघि नै सहयोग गरेको थियो । आफूले सहयोग गरेकै क्लब शीर्षस्थानमा आएको भन्दै महानगरपालिकाले भविष्यमा पनि सहयोग निरन्तरता हुने जनाएको छ ।


'हामीले गरेको सहयोग सानो थियो । पहिलोपल्ट गरिएको यस्तो सहयोगले प्रोत्साहन गरेकै थियो । आगामी वर्षमा पनि आर्थिक सहयोग निरन्तरता दिनेबारे छलफल गरेर निर्णय गर्नेछौं,' महानगर प्रमुख विद्यासुन्दर शाक्यले सोमबार आयोजित कार्यक्रममा भने । महानगरले आफ्नो क्षेत्रका ५ 'बी' डिभिजन क्लब र ७ ' डिभिजन क्लब र ७ 'सी' डिभिजन क्लबलाई पनि पूर्व प्रतिबद्धताअनुसार क्रमशः ३ र २ लाख रुपैयाँ प्रोत्साहन सहयोग प्रदान गरेको छ ।


'बी' डिभिजनका ब्वाइज युनियन क्लब, अन्नपूर्ण क्लब (आरसीटी), टुसाल युथ क्लब, बाँसबारी क्लब र श्री कुमारी क्लबलाई ३-३ लाख रुपैयाँ प्रदान गरिएको हो । माघमा भएको 'बी' डिभिजन लिगअघि नै महानगरपालिकाले सहयोग प्रतिबद्धता व्यक्त गरेको थियो ।


'सी' डिभिजनको सानो गौचरन युवा क्लब, समाज कल्याण युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भू क्लब, सामाजिक युवा क्लब, महावीर क्लब र मनोहरा एकीकृत युवा क्लबलाई २-२ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरियो । फागुन महिनामा 'सी' डिभिजन लिग गरिएको थियो ।


महानगरपालिकाले आफ्नो तहभित्र नगरस्तरीय रंगशाला, व्यायामशाला वा खेलकुद मैदानका लागि जग्गा पहिचानको काम गरिरहेको र निकट भविष्यमै पूर्वाधार निर्माणको योजना बनाइरहेको जानकारी दिएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको खेलकुद नीति निर्माणका लागि सरोकारवालासँग सहयोगको अपीलसमेत गरेका छन् ।


क्लबहरूले खेलाडीलाई रोजगार प्रदान गरी सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परोक्ष सहयोग गरिरहेकोमा तीनै तहको सरकारबाट उनीहरूको प्रोत्साहन बढाउन सहयोग गर्नुपर्ने धारणा राखे । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले काठमाडौं महानगरको सामाजिक विकासका लागि क्लबमार्फत जनपरिचालनको व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


'राष्ट्रका निकायले खेलकुदमा लगानी गर्दा बिनास्वार्थ खेलकुद विकासमा लागेकालाई प्रोत्साहन मिलेको छ, जसले खेलकुद विकासमा सहयोग गर्नेछ,' हिमालयन शेर्पा क्लबका अध्यक्ष रहेका शेर्पाले भने, 'महानगरको सामाजिक विकासमा क्लब आफ्नो भूमिका निर्वाह गर्न तयार छन् ।'

प्रकाशित : वैशाख २४, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?