१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रधानमन्त्री कप जेठ १ देखि

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने देशकै एकमात्र एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठ १ देखि २४ गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहनेछ । 

प्रधानमन्त्री कप जेठ १ देखि

प्रतियोगिताको व्यवस्थापक संस्था नेपालय इन्टरनेसनलले आइतबार मिति सार्वजनिक गरे पनि टाइसिट भने सार्वजनिक गरेको छैन । २४ दिनसम्म चल्ने प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । दिनमा एक खेल हुनेछ ।


विजेताले २० लाख र उपविजेताले १० लाख पाउनेछन् । उत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल पुरस्कार पाउनेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । एपीएफ क्लब गत संस्करणको विजेता हो ।


प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैयाँ रहेकोमा राखेपले ८० लाख रुपैयाँ खर्च गर्नेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले प्रायोजक, विज्ञापनलगायतबाट संकलन गर्नेछ । त्यससम्बन्धी सम्झौतापत्रमा राखेप सदस्य सचिव केशवकुमार विष्ट र नेपालय इन्टरनेसनलका प्रबन्ध निर्देशक सुवास प्रधानले आइतबारै हस्ताक्षर गरे । सम्झौताअनुसार नेपालयले प्रतियोगिताका लागि ९३ लाख रुपैयाँभन्दा बढी संकलन गर्न पाउने छैन ।


खेलकुदको विकासमा निजी क्षेत्रसँग सहकार्यको योजनाअनुसार प्रतियोगिता व्यवस्थापनको जिम्मा नेपालयलाई दिइएको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । अघिल्लो संस्करण पनि नेपालयकै व्यवस्थापनमा सम्पन्न भएको थियो । नेपालयका प्रबन्ध निर्देशक प्रधानले अघिल्लो संस्करणको भन्दा यसपल्ट प्रतियोगिता भव्य बनाउन हरेक खेलको इनिङ्स ब्रेकको समयमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि 'किड क्लिनिक' सञ्चालन गर्न लागिएको जानकारी दिए ।


'क्रिकेटको क्रेज बढिरहेको अवस्थामा बालबालिकामा क्रिकेटको आधारभूत जानकारी तथा खेलकुदमा प्रोत्साहनका लागि १० जनाभन्दा बढी प्रशिक्षकले क्लिनिक सञ्चालन गर्नुहुनेछ,' प्रधानले भने । खेलका क्रममा ब्याट्सम्यानले छक्का प्रहार गरेको बल एक हातले क्याच गर्ने दर्शक/समर्थकलाई ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था पनि गरिएको प्रधानले जनाए ।


'नेपालले एकदिवसीय मान्यताप्राप्त गरिसकेको अवस्थामा अबको लक्ष्य टेस्ट मान्यता हो । त्यसका लागि एकदिवसीय प्रतियोगिता धेरैभन्दा धेरै आयोजना हुनु आवश्यक छ,' पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका प्रधानले भने, 'तर, हाम्रो देशमा एकदिवसीय प्रतियोगिता नै भइरहेको छैन । यसलाई भव्य बनाउन हामीले सबै सीप प्रयोग गर्नेछौं ।' उनले राष्ट्रिय टोलीका सबै क्रिकेटरले सहभागिता जनाउने पनि जानकारी दिए ।


राखेप सदस्य सचिव विष्टले राष्ट्रपति कप अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारी भइरहेको र बजेट पास भएमा अर्को वर्षदेखि अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट सञ्चालन गरिने जानकारी दिए । बजेट पास नभएमा प्रधानमन्त्री कपलाई नै अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा आयोजना गरिने सदस्य सचिव विष्टले दाबी गरे ।


प्रकाशित : वैशाख २३, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?