१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आर्मीलाई कर्णाली प्रिमियर लिग

कृष्णप्रसाद गौतम

सुर्खेत — लगातार दोस्रोपल्ट त्रिभुवन आर्मी क्लबले वाइवाइ कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधि जितेको छ । वीरेन्द्रनगरस्थित कालुङचोक मैदानमा शनिबार भएको फाइनलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो । आर्मीले ५ लाख र न्यु होराइजनले २ लाख रुपैयाँ पुरस्कार पाए ।

आर्मीलाई कर्णाली प्रिमियर लिग

उत्कृष्ट खेलाडी होराइजनका कप्तान रहेका शक्ति गौचन घोषित भए । उनले ५० हजार थापे । उत्कृष्ट ब्याट्सम्यान कर्णाली-११ का रवीन्द्रजंग शाही र उत्कृष्ट बलर आर्मीका सुसन भारी घोषित भए । दुवैले जनही २० हजार प्राप्त गरे ।


टस जितेको आर्मीले २० ओभरमा ६ विकेट गुमाई १ सय ४६ रन बनायो । आर्मीका हरिबहादुर चौहानले ५६, राजु रिजालले ३४, भीम सार्कीले अविजित २१ रन बनाए । होराइजनका विकास श्रेष्ठले २, राहुल प्रजापति, विपिन खत्री र अखिलेश यादवले १-१ विकेट लिए ।


१ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले १८.३ ओभरमा सबै विकेट गुमाई ८७ रनमात्र बनायो । होराइजनलाई सस्तैमा रोक्न आर्मीका बलर जितेन्द्र मुखिया र शाहब आलमले ३-३ विकेट तथा सुसन भारीले २ विकेट लिए । होराइजनका विशाल सुनारले २६ र निश्चल चौधरीले १९ रन योगदान दिए । प्लेयर अफ द फाइनल आर्मीका हरिबहादुर चौहान भए ।


कर्णाली क्रिकेट एकेडेमीले वैशाख १२ देखि सुरु गरेको प्रतियोगितामा दुई विभागीयसहित ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करण सम्पन्न गर्दासम्म प्रतियोगिताले राष्ट्रिय मान्यता पाएको र कर्णाली प्रदेशको पहिचानको रूपमा आफूलाई स्थापित गराएको केपीएलका संयोजक रेशम शाहीले बताए । 'पूर्वाधार अभावबीच पनि कर्णालीमा स्तरीय प्रतियोगिता सम्पन्न गराएका छौं, गत वर्षभन्दा यो वर्ष प्रतियोगिता थप व्यवस्थित बन्यो,' उनले भने, 'आगामी वर्ष झन प्रतियोगितालाई स्तरीय बनाउँदै लैजाने छौं ।' गत वर्ष ३ लाख रहेको विजेताको पुरस्कार यसपालि ५ लाख पुर्‍याइएको थियो ।


समापनमा नेपाल एथलेक्टिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले कर्णालीमा खेल पूर्वाधारको विकास गर्न सरकारको ध्यान जान नसकेको औंल्याए । पूर्व सांसद शाहले अभावबीच पनि स्तरीय खेलाडी उत्पादन भइरहेकाले खेलक्षेत्रमार्फत कर्णालीलाई चिनाइरहेको जनाए । सिम्ता गााउँपालिका अध्यक्ष कविन्दकुमार केसी र सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायणकुमार कोइरालाले कर्णालीमा यति ठूलो प्रतियोगिता हुनु गौरवको विषय भएको जनाए ।


दर्शकमध्ये गोलाप्रथामा वीरेन्द्रनगर-३ का अमर बिकले मोटरसाइकल जितेको आयोजकले जनाएको छ । दर्शकका लागि दिनहुँ मोबाइल, एलईडी टेलिभिजन लगायत विभिन्न पुरस्कार व्यवस्था गरिएको संयोजक शाहीले बताए । उनका अनुसार ६० लाख रुपैयाँ खर्च भएको अनुमान छ ।

प्रकाशित : वैशाख २१, २०७६ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?