कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

थ्रीस्टारमाथि आर्मीको जित

पर्वत पोर्तेल

काँकडभिट्टा — साबिक विजेता त्रिभुवन आर्मी क्लब चौथो मेचीनगर गोल्डकप फुटबलमा बिहीबार फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टारलाई ३-२ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।  

थ्रीस्टारमाथि आर्मीको जित

उपाधिका लागि उसले नेपाल पुलिससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । पुलिस अघिल्लो दिन संकटा क्लबलाई टाइब्रेकरमा ४-३ ले हराएर फाइनल पुगेको थियो । यसअघि आर्मीले दुहबी गोल्डकपमा थ्रीस्टारलाई हराएको थियो ।


रोमान्चक खेलमा आर्मीका कप्तान तथा छरिता फरवार्ड नवयुग श्रेष्ठले २८ औं मिनेटमा गोल गरेर अग्रता दिलाए । सुमन अर्यालको पासमा उनले बललाई हेडरमार्फत जालीको सम्पर्कमा पुर्‍याए । ३९ औं मिनेटमा पुनः नवयुगले नै गोल थप्दै थ्र्रीस्टारविरुद्ध २-० को अवस्था बनाए । उनले त्यो गोल पनि सुमनको पासमा वान भर्सेस वानको अवस्थामा गरेका थिए ।


पहिलो हाफको अन्त्यतिर थ्रीस्टारका लागि विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरेर नतिजा उल्टाए । उनले डिफेन्डर अनन्त तामाङको पासमा सुन्दर ढंगले गोल गर्दा आर्मीका रक्षक विवश चौधरीले पत्तै पाएनन् । गोलपछि थ्री स्टारका खेलाडीमा उर्जा थपिएको थियो । आधाभन्दा बढी दर्शक थ्रीस्टार पक्षमा थिए ।


दोस्रो हाफको ५४ आंै मिनेटमा म्याक्सवेलले पुनः दोस्रो गोल थप्दा थ्रीस्टारका समर्थकले काँकडभिट्टा माविको मैदान गुन्जाएको थियो । सुनील बलको पासमा म्याक्सवेलले नाटकीय ढंगबाट बललाई पोस्टमा छिराए ।


थ्रीस्टारले बराबरी गरेको खुसी साट्न नपाउँदै आर्मीले अर्को गोल थप्यो । २-२ को बराबरी रहेको अवस्था अन्त्य गर्दै आर्मीका दीपकुमार लामाले सेसेहाङ आङदेम्बेको पासमा गोल गर्दै ३-२ को अग्रता दिलाए । खेल अवधिभर आर्मी थ्रीस्टारमाथि हाबी भयो । सेसेहाङले खेलको तेस्रो मिनेटमा पेनाल्टी एरियामा पाएको पास सदुपयोग गर्न नसक्दा गोल हुन पाएन । १७ औं मिनेटमा जितेन्द्र कार्कीले मैदानको मध्यभागबाट गरेको शक्तिशाली प्रहार पोस्ट नजिकैबाट बाहिरियो । अनमार्क रहेका सेसेहाङको प्रहार थ्रीस्टारका गोलरक्षक एलेन न्यौपानेले ४२ औं मिनेटमा विफल बनाए । ४९ औं मिनेटमा नवयुगको हेडर गोल हुन पाएन ।


थ्रीस्टारका खेलाडीले पनि धेरै अवसर गुमाए । थ्रीस्टारका म्याक्सवेलको शक्तिशाली प्रहार पोस्टको बारमा लागेर फर्कियो । जतिखेर १७ औं मिनेटमा खेल चलिरहेको थियो । २७ औं मिनेटमा विदेशी खेलाडी मान्साको फ्रि हेडर फितलो हुँदा आर्मीका गोलरक्षक विवश चौधरीले नियन्त्रणमा लिए । ३२ औं मिनेटमा आर्मीका गोलरक्षक बिट भइसकेको अवस्थामा सुशील राईले गरेको हेडर आर्मीका दीपक गुरुङले गोललाइनबाट जोगाए । म्यान अफ द म्याच नवयुग श्रेष्ठ भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।


आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो रोजाइका भरत खवास, विकेश कुथु, सन्तोष तामाङ जस्ता खेलाडीको अनुपस्थितिका कारण खेल थोरै फितलो भए पनि जितले उत्साह थपेको जनाए । उनले शनिबारको फाइनलमा पुलिसविरुद्ध सशक्त ढंगले मैदान ओर्लने र उपाधि कब्जा गर्ने सोचमा टिम रहेको बताए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले डिफेन्सलाइनको गल्तीका कारण गोल खानुपरेको बताए । 'समग्र खेल उत्कृष्ट हुँदाहुँदै रक्षापंक्तिको सानो गल्तीले पराजित बन्नुपर्‍यो,' केसीले भने ।

प्रकाशित : वैशाख १९, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?