३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आठौंका उत्कृष्ट पाँच

नेपालगन्ज — ३५ खेल । ५ हजारभन्दा बढी खेलाडी । दिनको हिसाबमा सबैभन्दा लामो १५ दिन चलेको राष्ट्रिय खेलकुद । प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीसहित काठमाडौं, ललितपुर र पोखरामा समेत खेलाइएको कुम्भ खेलमेला आठौं राष्ट्रिय खेलकुद सकिएको छ ।

आठौंका उत्कृष्ट पाँच

दुई वर्षको अन्तरालमै हुने प्रतियोगिताको अवधारणा सफल पारेको यस आठौं राष्ट्रियमा धेरै युवा खेलाडीको उदय भएको छ । हरेक खेलमा नयाँ खेलाडीले प्रभाव जमाएका छन् । पुरानाको प्रदर्शन पनि त्यत्तिकै तेजिलो रह्यो । त्यसमध्ये हामीले केही खेलका खेलाडीलाई उत्कृष्टमा समेटेका छौं । त्यसका लागि उनीहरूले प्राप्त गरेको पदक र बलियो प्रतिद्वन्द्वीमाथि निकालेको नतिजा आधार मानेका हौं ।


आशिष चौधरी (एथलेटिक्स)

३ स्वर्ण, १ रजत


आशिष १०० र २०० मिटर दौडका स्वर्णधारी धावक हुन् । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४३ औं संस्करणमा आयोजित एथलेटिक्सको छोटो दूरीमा उनले प्रभावशाली गरे । आफ्नै जिल्लामा भएको प्रतियोगितामा स्वर्ण जित्दा आशिष थप दंग देखिए । उनी दाङको राप्ती गाउँपालिका ७ का हुन् । एथलेटिक्स दाङ तुलसीपुरस्थित बेलझुण्डीमा नवनिर्मित सिन्थेटिक ट्रयाकमा भएको थियो ।

सातौं राष्ट्रियमा राम्रोसँग ट्रेनिङ गर्न नपाएकाले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । उनी दोस्रो स्थानमा थिए । चुनावमा खटिनुपरेकाले आफूले राम्रोसँग ट्रेनिङ गर्न नपाएको उनले सुनाएका थिए । धनगढीमा सम्पन्न छैटौं राष्ट्रियमा भने १०० मिटर दौडमा हिट पार गरेर फाइनल खेलेका उनले २०० मिटरमा चौथो स्थान भेटेका थिए ।

त्यतिखेर एक महिनापछि हुने एसएलसी परीक्षाको दबाबमा रहेका कारण राम्रो प्रदर्शन गर्न नसकेको उनको ठम्याइ छ । यसपल्ट १०० मिटर दौडमा आशिषले मुख्य प्रतिद्वन्द्वी यामसाजन सुनारलाई पछाडि पारेका थिए । दुवैले एकदमै निकट दौड सिध्याए । मिलि सेकेन्डमा आशिष अघि रहे । उनले ११.०० सेकेन्डमा दौड पूरा गर्दा यामसाजनको टाइमिङ ११.१० सेकेन्डमा थियो । १०.३ को ह्यान्ड टाइमिङको राष्ट्रिय कीर्तिमान यामसाजनकै नाममा छ । यसपालि उनले प्रदेश ६ बाट खेलेका थिए ।

आशिषले २०० मिटर दौडमा भने व्यक्तिगत प्रदर्शन सुधार गरे । राष्ट्रिय कीर्तिमानको नजिक रहे । उनले २१.८३ सेकेन्डमा दूरी पार गरेर स्वर्ण जितेका हुन् । जबकि तिलकराम थारुको नाममा २१.५ सेकेन्डको ह्यान्डटाइम र रामकृष्ण चौधरीको नाममा २१.९२ सेकेन्डको इलेक्ट्रिोनिक टाइम रेकर्ड छ । रामकृष्णको नाममा १०० मिटरमा पनि १०.७१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । दुवै उनले आठौं साफ खेलकुदमा बनाएका हुन् ।

आशिषको अबको लक्ष्य भनेको दुई दशक पुरानो स्प्रिन्टको कीर्तिमान भंग गर्नु हो । ‘मेरो लक्ष्य भनेको यही प्रदर्शनलाई निरन्तरता दिँदै १०० र २०० मिटर दौडको कीर्तिमान आफ्नो नाममा राख्नु हो । त्यसका लागि कडा प्रशिक्षणमा रहने छु,’ उनले सुनाए ।

प्रशिक्षक धनीराम चौधरीको प्रशिक्षणमा आफूले कडा मिहिनेत गर्दा सफलता मिलेको उनको अनुभव छ । ४० औं एथलेटिक्स च्याम्पियनसिपका उत्कृष्ट खेलाडी हुन् आशिष । उनले १००, २०० सहित ४०० मिटरमा स्वर्ण जितेका थिए । प्रशिक्षक चौधरी पनि आशिष स्प्रिन्टमा राम्रो गर्नसक्ने धावकका रूपमा देखिएको बताउँछन् ।

आशिषले अर्को स्वर्ण ४ गुणा ४०० मिटर रिलेमा जितेका हुन् । रजत ४ गुणा १०० मिटर रिलेमा जितेका थिए । दुवै रिलेमा पदक जित्दा उनको टिममा सत्यबहादुर बुढा, नीरप्रताप महतो, शिवराज पार्की थिए । नीरप्रतापले पनि आशिषले जस्तै तीन स्वर्ण र एक रजत जितेका हुन् । ४०० मिटर दौड र ४०० मिटर हर्डल्समा स्वर्ण जितेका उनले रिलेबाट एक स्वर्ण र रजत पाएका थिए ।

२२ वर्षे आशिष गोल्डेनगेट कलेजमा बीबीएसमा अध्ययनरत गर्छन् । विभागीय टोली एपीएफ क्लबसँग आबद्ध भएको ३ वर्ष भयो । जुनियर र क्षेत्रीय स्तरमा गरेको प्रदर्शनका कारण उनी विभागतिर तानिएका हुन् । पहिला आर्थिक स्तर कमजोर भएता पनि दौडमा लाग्नबाट घरपरिवारको रोकावट थिएन ।

अहिले पनि आमाबा, दाजुभाउजुले घरबाट आफ्नो खेलमा ध्यान दिन, ब्यालेन्स डाइट खान र आवश्यक सामान किन्न सम्झाइरहने आशिष सुनाउँछन् । आशिष यतिखेर गाउँवासीको सम्मान थाप्न व्यस्त छन् । विभागको टोली राजधानी फर्के पनि उनी उतै रहे । उनले सुनाए, ‘गाउँपालिका, वडा अनि टोलछिमेकको सम्मान थाप्न व्यस्त छु । उहाँहरूले राम्रो गरिस्, अझ राम्रो गर्नुपर्छ भन्दै हौसला र आशीर्वाद दिनुहुन्छ । आफ्नो ठाउँबाट सम्मान पाउँदा खुसी छु ।’


दीपेश धामी (ब्याडमिन्टन)

२ स्वर्ण, २ रजत


दीपेश ब्याडमिन्टनका नयाँ राष्ट्रिय च्याम्पियन हुन् । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं संस्करणमा आयोजित ब्याडमिन्टनमा दीपेशले सिंगल्स र मिक्स डबल्समा स्वर्ण तथा टिम इभेन्ट र मेन्स डबल्समा रजत पदक जितेका थिए । उनी एपीएफ क्लबबाट खेल्छन् । दाङको घोराही कभर्डहलमा दीपेशले रत्नजित तामाङको वर्चस्व तोडेका थिए ।


३६ औं संस्करणदेखिका लगातार च्याम्पियन रत्नजितलाई मेन्स सिंगल्सको फाइनलमा हराएर दीपेश स्वर्ण जितेका हुन् । उनले २१–१६, २१–१४ को सेटमा आर्मी क्लब रत्नजितमाथि हाबी भए । त्यसअघि उनले पूर्व च्याम्पियन विकास श्रेष्ठलाई पन्छाएका थिए । पूर्व नम्बर १ तथा हाल प्रदेश १ बाट खेलेका भोजपुरका विकास श्रेष्ठलाई २१–११, २१–१५ मै हराएर नयाँ च्याम्पियन हुने दाबेदारी प्रस्तुत गरेका थिए ।


रत्नजितलाई भने दीपेशले राष्ट्रियस्तरको प्रतियोगितामा दोस्रोपल्ट हराएका हुन् । यसअघि उनले अघिल्लो वर्ष जेस्ट खुला ब्याडमिन्टनमा हराएर उपाधि जितेका थिए ।


मिक्स डबल्समा पूजा श्रेष्ठसँग मिलेर आठौं राष्ट्रियको स्वर्ण जितेका दीपेशले मेन्स डबल्स फाइनलमा भने रत्नजित र नवीन श्रेष्ठको जोडीसँग हार्दै उपाधि गुमाए । उनीसम्मिलित एपीएफ टोली टिम इभेन्टको फाइनलमा आर्मीसँग ३(२ गेमले हारेको थियो ।


दीपेशले कर्पोरेट ब्याडमिन्टन र चैतमा कृष्णमोहन स्मृति राष्ट्रिय ब्याडमिन्टनका ३– विधामा च्याम्पियन भएर आफूलाई अब्बल प्रमाणित गरिसकेका थिए ।


कञ्चनपुर महेन्द्रनगरका दीपेश उमेरले २२ पुगे । १० वर्ष नपुग्दै उनी राष्ट्रिय ब्याडमिन्टन खेल्न २०६४ सालमा चितवन आइपुगेका थिए । पहिलो खेलमै पराजित भए । तर अरु खेलाडीले पदक लगाएको देखेर उनको मनमा पनि पदकको त्यो भोक जाग्यो । त्यसपछि झन् ब्याडमिन्टनप्रति उनको मोह बढै गयो । ब्याडमिन्टन महँगो खेल भए पनि उनले सानैदेखि घरमै सिक्ने, खेल्ने वातावरण पाए । बुवा हरकसिंहले आफ्नै जग्गामा कोर्ट बनाएर उनलाई सानैदेखि खेल्न प्रेरित गरेका थिए ।


त्यसले दीपेशले जुनियर प्रतियोगितामै राम्रो छाप छोडेका छन् । उनले उमेर समूहको यू–५, यू–१७, यू–९ सबै प्रतियोगिता जितेका छन् । ब्याडमिन्टन एसियाको छात्रवृत्ति पाएपछि उनको खेलस्तरले निकै फडो मारेको हो । उनले सन् २०११–२ मै एसियन डेभलपमेन्ट प्रोजेक्टमा परेर प्रशिक्षण लिएका थिए । दीपेशलाई २०१२(२० सम्मका लागि ब्याडमिन्टन एसियाको छात्रवृत्ति छ । त्यसवापत उनले विभिन्न अन्तर्राष्ट्रिय सिरिज खेल्न जाँदा हवाई टिकटसहित खेल्नलाई चाहिने आवश्यक किट्स पाउँछन् ।


एसियाली खेलकुद, इन्डोनेसियाको खेलेका दीपेशसँग युथ ओलम्पिक, विश्व जुयिनर च्याम्पियनसिपको पनि अनुभव छ । उनले २०१४ मा चीनको नानजिङमा ओलम्पिक खेलेका हुन् । नेपाली ब्याडमिन्टनलाई दीपेशले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पनि दिलाएका छन् । दुई वर्षअघि पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश र ज्ञानु गौचनको जोडीले मिक्स डबल्समा ऐतिहासिक स्वर्ण जितेको थियो ।


घरेलु प्रतियोगिता उनले तीनै विभागीय टोलीमा रहेर खेलिसके । पुलिस र आर्मीबाट खेलिसकेका दीपेश अहिले एपीएफसँग छन् । पुलिस र आर्मीमा अनुबन्धन सम्झौता नमिलेपछि उनी एपीएफ लागेका हुन् । आर्मीमा लेफ्टिनेन्ट बनाउँछु भनेर पनि नबनाएको पीडा उनीसँग छ ।


उनी अहिले चीनमा छन् । राष्ट्रिय च्याम्पियन भएलगत्तै दीपेश ब्याडमिन्टन एसियन च्याम्पियनसिप खेल्न चीन गएका हुन् । उनले भने, ‘यसपालि आफूले सोचे जस्तो राम्रो खेल्न सकें । नेगेटिभ गेम भएन अर्थात अनावश्यक गल्ती गरिनँ । त्यसले गर्दा स्वर्णको हकदार बने ।’


ट्रेनिङ राम्रो भइराखेकाले सुरुदेखि नै प्रतियोगिता जित्छु भन्ने विश्वास लागिरहेको दीपेशले सुनाए । उनी किरण थापाको प्रशिक्षणमा रहेका थिए । १३ औं सागमा पदक जित्नुलाई उनले भावी लक्ष्य बनाएका छन् ।


गौरिका सिंह (पौडी)

१२ स्वर्ण, ६ राष्ट्रिय कीर्तिमान


गौरिका सिंह आठौं राष्ट्रिय खेलकुदकी सबैभन्दा सफल खेलाडी हुन् । पहिलोपल्ट राष्ट्रिय खेलकुदमा सहभागिता जनाएकी गौरिकाले सर्बाधिक १२ स्वर्ण जितिन् । पौडीका प्रतियोगिता सुरु भएको पहिलो दिन वशाख ८ गते २ स्वर्ण जितेपछि गौरिकाले भनेकी थिइन्, ‘म यहाँ धेरै भन्दा धेरै स्वर्ण जित्न आएको हुँ, जसले मलाई अझै राम्रो प्रदर्शन गर्न हौसला मिलोस्र नेपालमै हुने १३ औं दक्षिण एशियाली खेलकुदमा राम्रो गर्न प्रेरणा मिलोस् ।’


चार दिनसम्म चलेको प्रतियोगितामा गौरिकाले आफू सहभागी सबै स्पर्धामा स्वर्ण जितिन् । त्यसमध्ये ६ स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधारसमेत गरिन् । गौरिकाले आफैंसँगको प्रतिस्पर्धा जारी रहेको र दिनदिनै राम्रो प्रदर्शन गर्नका लागि आत्मविश्वास जरुरी हुने मान्यता राख्छिन् ।


त्रिभुवन आर्मी क्लबबाट खेलेकी गौरिकाले ८ सय मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक, ४ सय मिटर फ्रिस्टाइल, १ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक, २ सय मिटर फ्रिस्टाइल, ८ सय मिटर बटरफ्लाई, चार गुण १ सय मिटर टिम रिले, २ सय मिटर इण्डिभिज्युअल मिड्ले, ५० मिटर फ्रिस्टाइल, १ सय मिटर ब्याकस्ट्रोक र ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिलेमा सहभागिता जनाकोमा सबै स्पर्धामा प्रतिस्पर्धीलाई धेरै पछि छोडिन् । २ सय मिटर फ्रिस्टाइल र ५० मिटर ब्याकस्ट्रोकमा उनले सोही स्पर्धामा पुरुषहरूले भन्दा राम्रो टाइमिङ निकालेकी छन् ।


पाँचौं राष्टिय खेलकुदमा करिस्मा कार्कीले १२ स्वर्ण जितेर राखेको एकै खेलकुदमा सर्बाधिक पदक जित्ने कीर्तिमान गाौरिकाले बराबरी गरिन् । आउने डिसेम्बरमा नेपालमै १३ औं साग खेलकुद हुँदैछ । यसअघिको संस्करणमा १ रजत र ३ कांस्य जितेकी गौरिका स्वर्ण पदक तयारीमा छिन् ।


‘घरेलु समर्थक र पोखरीमा पक्कै पनि राम्रो प्रदर्शन हुनेछ भन्ने अपेक्षा गरेको छु,’ गौरिकाले भनिन् । बेलायतमै बसेर पौडी सिकिरहेकी गौरिकाले नेपालका लागि र नेपाली खेलाडीसँग खेल्न पाउँदा गर्व लाग्ने बताइन् ।


राजु राई (जिम्न्यास्टिक)

५ स्वर्ण, १ रजत


नेपालमा जिम्न्यास्टिक गतिविधि शून्यप्रायः छ । राष्ट्रिय खेलकुदको समयमा मात्र यसको चर्चा हुन्छ । यस खेलबाट अन्तर्राष्ट्रिय सहभागिता पनि कमै सुनिएको छ । आठौं राष्ट्रिय खेलकुदका क्रममा नेपालगन्ज, कारकादोस्थित जुडो हलमा भएको जिम्न्यास्टिकमा राजु राईले ५ स्वर्ण जिते । दुई वर्षअघि पूर्वाञ्चलमा भएको सातौंमा उनले ७ स्वर्ण जितेका थिए । यसपल्ट २ स्पर्धा समावेश गरिएन भने एउटामा उनले रजतमात्र जिते ।


राजुले भल्टिङ टेवलमा रजत पदकमात्र जिते । आराउन्ड, टिम, फ्लोर, पुम्लिङ हर्स र प्यारालल बार स्पर्धामा फराकिलो अन्तरका साथ स्वर्ण पदक जिते । हाइबार र रोमन रिङ स्पर्धा भने यसपल्ट समावेश गरिएन । १९ वर्षीय राजुले नेपाल एपीएफ क्लबका लागि खेलेका हुन् ।


सातौं र आठौं दुवै खेलकुदमा उनले एपीएफसँग औपचारिक सम्झौता गरेनन् । मात्र एपीएफको जर्सीमा खेलिदिए, पदक जितिदिए । दुईवटा राष्ट्रिय खेलकुदमा गरी १२ स्वर्ण जितेपछि राजु आफ्नो प्रदर्शनबाटै सन्तुष्ट हुन सकेका छैनन् । ‘वास्तवमा खेलकै लागि भनेर तयारी नै हुदैन, घरेलु प्रतियोगितामा मेरो प्रतिस्पर्धीनै छैनन् भन्दा हुन्छ, आफ्नो प्रतिस्पर्धीको स्तर फरक हुँदा जितेको पनि स्वाद हुने रहनेछ,’ राजुले भने ।


यसपल्ट प्रतियोगिताका क्रममा उनी चोटका बाबजुद पनि धेरै स्वर्ण जिते । प्याारालल बारको प्रतिस्पर्धामा उनको दाहिने कुमको हड्डी फुस्किएको छ । राजुले भने, ‘त्यतिबेल पेनकिलर खाएर प्रतिस्पर्धा गरेँ, अहिले आएर फिजियोथेरापी गरिरहेको छु, ठूलो चोट छैन ।’


यसै वर्ष नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुदको जिम्न्यस्टिकतर्फ राजुले घरेलु टोलीको प्रतिनिधित्व गर्नेछन् । उनलाई यसका लागि वैदेशिक प्रशिक्षणको व्यवस्था भइदिए हुन्थ्याो भन्ने लागेके छ । ‘हाम्रो त हेपिएको खेल जस्तो लाग्छ, न गतिविधि हुन्छन् न सरकारी निकायको नजरमा परिन्छ, अन्तर्राष्ट्रिय पदक जुन खेलबाट आए पनि एउटै त हो,’ उनले दुखेको गरे ।


कमलबहादुर श्रेष्ठ (तेक्वान्दो)

३ स्वर्ण


२८ वर्षीय कमलबहादुर श्रेष्ठले ९ वर्षअघि नेपाल पुलिसको जागीरेको रूपमा प्रवेश गरेपछि तेक्वान्दो सुरु गरेका हुन् । जागीरको सिलसिलमा तेक्वान्दोमा होमिएका कमल अहिले पुम्सेतर्फके निर्विकल्प च्यम्पियनको रूपमा दरिएका छन्, केही वर्षयता । पूर्वााञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा पुम्से विधा समावेश नभएकाले उनले अफ्नो प्रतिभा देखाउन पाएनन् ।


अर्घाखाँचीका कमलले आफ्नै प्रदेशको राजधानी रुपन्देहीमा भएको आठौं खेलकुदअन्तर्गत राष्ट्रिय तेक्वान्दोमा तीन स्वर्ण जिते । ‘मैले पुलिसको लागि खेलेँ, आफ्नै प्रदेशको आफ्नै शहरमा खेलेर जित्न पाउँदा दोहोरो खुसी हुने रहेछ,’ कमलले सुनाए, ‘मेरा लागि मुख्य चुनौती आर्मी र एपीएफका खेलाडीहरू थिए, उनीहरूले कडा टक्कर दिएकै हुन् तर मैले साचेअनुसार प्रदर्शन भयो ।’ कमलले एकल पुम्से, युगल पुम्से र टिम पुम्से विधामा स्वर्ण जितेका हुन् ।


गतवर्ष सम्पन्न राखेप च्याम्पियनसिपमा पनि उनले तीनै विधामा स्वर्ण जितेर राष्ट्रिय टोलीको क्याम्पमा कोरिया भ्रमण गरेका थिए । उतैबाट इन्डोनेसियाको जाकार्तामा आयोजित १८ औं एसियाली खेलकुद खेलेका उनले हालै भियातनाममा सम्पन्न एसियन तेक्वान्दो प्रतियोगिता पनि खेले ।


नेपालमै हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने उनले लक्ष्य लिएका छन् । त्यहीअनुसार तयारी गर्न सहयोग गर्ने तथा आफूलाई यस अवस्थासम्म ल्याउन अहम् भूमिका निर्वाह गर्ने नेपल पुलिस क्लब र कोरियन प्रशिक्षक क्वान योङ दाललाई विशेष धन्यवाद दिए ।

प्रकाशित : वैशाख १४, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?