२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सकियो आठौं खेलकुद, नवौं गण्डकीमा

कुशल तिमल्सिना

बाँके — केही कमजोरी र विवादलाई थाती राखेर प्रदेश ५ का ५ जिल्लामा आयोजित आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको छ । वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको प्रतियोगिताको समापन नेपालगञ्ज रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले गरे ।

सकियो आठौं खेलकुद, नवौं गण्डकीमा

राष्ट्रिय खेलकुदमा ३५ खेलका लागि ५ हजार २ सय ११ (२ हजार ८ सय २५ पुरुष, २ हजार ३ सय ८६ महिला) खेलाडीले ३ सय ३२ स्वर्ण, ३ सय ३२ रजत र ४ सय ८० कांस्यलाई प्रतिस्पर्धा गरेका थिए । उद्घाटन वैशाखमा भए पनि प्रतियोगिताका खेलहरू चैत २७ गतेदेखि सुरु भएको थियो ।


आठौं खेलकुदमा त्रिभुवन आर्मी क्लबले सबैभन्दा धेरै पदक जितेर पुनः च्याम्पियन बन्यो । सातौंमा पनि आर्मी नै च्याम्पियन बनेको थियो । नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले क्रमसः दोस्रो र तेस्रो स्थान हासिल गरे । कर्णाली प्रतियोगिता आठौं खेलकुदमा पनि कमजोर देखियो । अन्य प्रदेशका खेलाडीको प्रदर्शन पनि अघिल्ले संस्करणको तुलनामा खस्किएको देखिए ।


यस संस्करणमा गैरआवासीय नेपाली संघ (एनआरएन) का टोलीसहित सात प्रदेश र ३ विभागीय गरी ११ टोलीको सहभागिता थियो । बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा ३२ खेलका स्पर्धा हुँदा काठमाडौं, ललितपुर र कास्कीमा एक एक खेल आयोजना गरियो । अघिल्ला संस्करणमा जस्तै यस संस्करणमा पनि विभागीय टोलीकै बर्चश्व रह्यो, जुन अपेक्षाकृत नै थियो ।


कमजोर पूर्वाधार र छोटो तयारीका बीच प्रतियोगिता खेल्न प्रदेश ५ पुगेका प्रदेश टोलीहरूले विभागका खेलाडीलाई चुनौति दिनै सकेनन् । खोलामा पौडी सिकेर पोखरीमा प्रतियोगिता खेल्न आउने खेलाडीसँग वर्षैभर प्रशिक्षण गरेका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नुपर्दा पक्कै पनि सकारात्मक नतिजाको अपेक्षा गर्न सकिँदैन । एथ्लेटिक्समा जुत्ता नलगाई प्रतियोगितामा सहभागी भएर खेलाडीलाई देख्दा नेपाली खेलकुदमा विकेन्द्रीकरणको छनक आउँदैन ।


आर्मीबाट आठौं खेलकुदमा सहभागिता जनाएकी पौडीकी ओलम्पियन गौरिका सिंहले १२ स्वर्ण पदक जितिन् । आठौं राष्ट्रिय खेलकुदमा एकल स्पर्धामा सबैभन्दा धेरै स्वर्ण जित्ने गौरिका नै बनिन् । उनले आफूले सहभागिता जनाएका कुनै पनि स्पर्धामा दोस्रो हुनु परेन । १२ मध्ये ६ स्पर्धामा गौरिकाले आफैंले बनाएको कीर्तिमान सुधार गरिन् । बाँकी ६ स्पर्धा २५ मिटरको शर्ट कोर्षमा पहिलोपल्ट आयोजना भएकाले कीर्तिमान बनाइन् ।


गौरिकाले राष्ट्रिय खेलकुदको इतिहासमै एकै प्रतियोगितामा सबैभन्दा धेरै स्वर्ण जित्ने कीर्तिमान बराबरी गरिन्् । यसअघि २०६५ सालमा आयोजना भएको पााचौं राष्ट्रिय खेलकुदमा पौडीबाटै करिस्मा कार्कीले १२ स्वर्ण जितेर कीर्तिमान कायम गरेकी थिइन् ।


पौडीमै आर्मीकी डुवाना लामाले ६, एनआरएनका नाथान दोर्जे शेर्पाले ५ स्वर्ण जिते । जिम्न्यास्टिकतर्फ राजु राईले ५ स्पर्ण जितेर लगातार दोस्रो राष्ट्रिय खेलकुदमा आफूलाई अब्बल प्रमाणित गरे । सातौं खेलकुदमा उनले ७ स्वर्ण जितेका थिए ।


आर्मीलाई स्तब्ध पार्दै नेपाल पुलिस पुरुष भलिबलमा च्याम्पियन बन्यो । सातौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटतर्फ खेल जारी रहेकै समयमा विवाद भएपछि छाडेर हिडेको एपीएफले यसपल्ट सोही प्रतिस्पर्धी प्रदेश १ लाई पराजित गरी स्वर्ण जित्यो । महिला भलिबलमा एपीएफको दवदवा कायमै रह्यो ।


एथ्लेटिक्सको १ सय मिटर दौडमा यामसाजन सुनुवारलाई हराएर एपीएफका आशिष चौधरी सबैभन्दा तीव्र गतिका नेपाली धावन बने, आर्मीका कृष्ण चौधरीले पुरुष म्याराथनमा अहिलेसम्मकै उत्कृष्ट टाइमिङका साथ स्वर्ण जिते । उनले २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा दूरी पूरा गरे ।


भारत्तोलनमा नेपाल पुलिस र आर्मी क्रमसः महिला र पुरुषतर्फ च्याम्पियन बने । तेक्वान्दोमा नेपाल पुलिसले बाजी मार्यो । उसुमा आर्मी टिम च्याम्पियन बन्यो । प्याराग्लाइडिङमा पनि आर्मीकै खेलाडीहरू अगाडि देखिए ।

आठौं खेलकुदको मुख्य खेलस्थल बाँके जिल्ला हो । यहाँ १७ खेलका १९ स्पर्धा सञ्चालन गरिएको थियो ।


बाँकी बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा सञ्चालन गरियो । बाँकेमा सञ्चालन भएका खेलका लागि व्यवस्थापनको समस्या देखिएन । नेपालगञ्ज शहरको सम्पन्नताले व्यवस्थापनमा कमी हुन दिएन । अन्य जिल्लामा देखिएको व्यवस्थापनको लापरबाहीको भने खेलाडीहरूले नै दुखेसो गरे ।


एकान्तमा निर्माण गरिएका खेलस्थलका कारण खेलाडीहरूलाई खानपिनमा समस्या भएको थियो । दाङको बेलझुण्डीस्थित रंगशाला वरपर सामान्य होटनसमेत नहुादा खेलाडीले चाउचाउ खाएर भोक मेटाउनुपर्ने अवस्था आयो ।


यातायातको समस्याले पनि टोली समयमै खेलस्थल पुग्न नसकेको तथा फर्केर होटल आउन नसकेको देखियो । गर्मीका कारण खेल बिहान र बेलुकीको समयमा खेल आयोजना गर्ने भनिए पनि केहि खेलहरू प्राविधिक कारणले दिनभर सञ्चालन हुँदा खेलाडीहरूलाई कठिन भएको थियो ।


आठौं खेलकुलको स्थानीय आयोजक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले केही पूर्वाधारहरू मानववस्तीभन्दा टाढा भएकाले खेलाडीलाई पारबहन र खानपिनमा समस्या भएको बताए । उनले थपे, ‘खेलाडीले खेल्नै नपाउने, खानै नपाउने र बस्नै नपाउने अवस्था होइन ।’


घरेलु खेलकुदको महामेला आयोजनाको अधिकार पाएलगत्तैदेखि प्रदेश ५ ले पूर्वाधार तयारी सुरु गरेको हो । २ वर्षको समयमा पनि पूर्वाधार निर्माण सम्पन्न नभएपछि निर्माणाधीन पूर्वाधारमै अधिकांश खेल आयोजना भएका थिए । अरु त अरु नेपालगञ्ज रंगशालामा राष्ट्रति भण्डारीले प्रतियोगिताको उद्घाटन गर्दा त्यहाँको भीआईपी प्यारापिट निर्माणको काम जारी थियो ।


आठौं खेलकुदका लागि पूर्वाधार निर्माणमा मात्रै प्रदेश ५ का १ अर्वभन्दा बढी लगानी गरिएको छ । २५ करोड लागतमा नेपालगञ्ज रंगशालाले पुनर्जीवन पाएको छ । अहिलेसम्म पनि रंगशालाको भीआईपी प्यारापिट निर्माण कार्य सम्पन्न भइसकेको छैन । १५ करोड लगानी गरिएको पौडी पोखरी निर्माण सम्पन्न नभएपछि स्थानीय होटलमा प्रतियोगिता सञ्चालन भयो ।


आठौंका लागि नेपालगञ्जमा जुडो हल, शुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी, कवर्डहल स्तरोन्नत्ति, खजुरामा भलिबल एकेडेमी निर्माण भएका छन् । जुडो हल र भलिबल एकेडेमीबाहेक सबै पूर्वाधारको काम सम्पन्न हुन बााकी छ । दाङको बेलझुण्डीमा रंगशाला र एथ्लेटिक्सको सेन्थेटिक ट्याक निर्माण भएको छ । जहाँ २५ करोड लगानी गरिएको छ । घोराहीमा बास्केटबल कोर्ट, रुपन्देहीमा सिद्धार्थ रंगशाला स्तरोन्नत्ति र टेनिस कोर्ट निर्माण गरिएको छ ।


अध्यक्ष ओलीले प्रतियोगिता सम्पन्न हुनुमा मात्र होइन आफ्नो प्रदेशमा ठूलो मात्रामा पूर्वाधार निर्माण भएकोमा सन्तुष्टि व्यक्त गरे । ‘प्रतियोगिताकै लागि १ अर्वभन्दा बढी लागतमा बनेका खेल पूर्वाधारले हाम्रो प्रदेशलाई काठमाडौंपछिकै खेल पूर्वाधार सम्पन्न प्रदेशको रुपमा उभ्याएको छ, यसको उचित सदुपयोग गर्न सके पश्चिम नेपालका सबै जिल्लाका खेलाडी र खेलस्तर बढाउन अहम भूमिका खेल्नेछ ।’


राष्ट्रिय खेलकुदको ३७ वर्ष लामो इतिहासमा ८ पल्टमात्र प्रतियोगिता आयोजना भएको छ । हरेक दुई वर्षमा आयोजना हुनुपर्ने प्रतियोगिता यसपटकदेखि नियमित सम्पन्न हुनुले सकारात्मक सन्देश दिएको छ । नवौं राष्ट्रि खेलकुद गण्डकी प्रदेशमा आयोजना हुने निश्चित भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुदको झण्डा गण्डकी प्रदेश खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।


राखेप सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालमा दुईपल्ट राष्ट्रिय खेलकुद आयोजना गरेर लामो समयदेखि जारी बेथितीको अन्त्य गरेको दावी गरे । समापन समारोहलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न ठूलो कसरत गर्नुपर्‍यो, खेलाडीलाई राष्टो गहना भनेर मात्र हुँदैन, व्यवहारमा पनि लागू गर्नुपर्छ । नियमित प्रतियोगिता खेल्न पाउने उनीहरूको अधिकार कसैले खोस्न पाउँदैन । हामीले त्यही गरेका छौं,’ सदस्यसचिव विष्टले भने ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?