२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आठौं राष्ट्रिय खेलकुद : सुष्मिताको नयाँ कीर्तिमान

बाँके — सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुष्मिता नेपालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्  । सुष्मिताले २४० पूर्णांकमा २३४ अंक जोडदै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमानी स्वर्ण जितिन्  ।

२२७ अंकमा आर्मीकी कल्पना परियार दोस्रो तथा २०३ अंकमा प्रहरीकी अस्मिता राई तेस्रो भइन् ।
नेपालगन्ज रंगशालास्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताअन्तर्गत सोही स्पर्धाको पुरुषमा प्रदेश ५ का अर्नव घिमिरे पहिलो भए । उनले कुल २४० अंकमा २१६ अंक जोडे । २१४ अंक जोडेका प्रहरीका हरिबहादुर थापा दोस्रो तथा १९६ अंक जोडेका आर्मीका सुरेश चौधरी तेस्रो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

उसुमा आर्मीलाई १४ स्वर्ण आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ । आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो । एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पार्‍यो । प्रहरीले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त गर्‍यो । २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा १ स्वर्ण कर्णाली प्रदेशले हासिल गर्‍यो ।

उसुको अन्तिम दिन मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए । थाउलोको महिला चियन सु/छियाङ सुमा एपीएफकी कविता थापामगर पहिलो भइन् । कविताले १८.०५ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी अलिशा खाती दोस्रो तथा आर्मीकी मुना शिरीष मगर तेस्रो भए । पुरुष ताव सु/कुन सुमा आर्मीका विश्व बुढा मगरले स्वर्ण जिते । उनले १८.९ अंक जोडे । एपीएफका कुमार सिन्जाली दोस्रो तथा प्रदेश ५ का राजीव तामाङ तेस्रो भए ।

सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूर प्रदेशकी गौरी घर्ती मगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ती श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए । महिला ६५ केजीमा एपीएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुनमगरले प्रदेश १ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शीलु डंगोलले गण्डकीकी अनिशा आलेमगरलाई फाइनलमा पाखा लगाउँदै स्वर्ण जिते ।

प्रकाशित : वैशाख ११, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?