२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

अनु र रीताको हार

ध्रुव तुलाधर

तुलसीपुर, दाङ — कराँतेको दोस्रो दिन आइतबारसम्म पुलिसका खेलाडीले बाजी मारेका छन् । ५ स्वर्णपदक साथ नेपाल पुलिस क्लब अगाडि छ । विभागीय वर्चस्व रहने कराँतेमा प्रदेश ३ का खेलाडीले दुई स्वर्ण जित्दै आर्मीसँग बराबरी गरेका छन् । दुवै टिमको खातामा २–२ स्वर्ण छ । एपीएफले एक स्वर्ण जितेको छ ।

अनु र रीताको हार

तुलसीपुरस्थित निर्माणाधीन अवस्थामा रहेको हलमा खेलाइएको कराँतेमा आइतबार अनुभवी खेलाडीहरू अनु अधिकारी, रीता कार्कीले स्वर्ण गुमाउनुपरेको छ । १८ औं एसियाली खेलकुद खेलिसकेका दुवै फाइनलमा पराजित भए ।


महिला ५० केजी तौल समूहमा एपीएफकी अनु आर्मीकी मिस्ली श्रेष्ठसँग पराजित भइन् । मिस्लीले ५–० अंकले स्वर्ण जितिन् । अनुभवी अनुले रजतमै चित्त बुझाइन् । यस इभेन्टमा प्रदेश २ की एलिसा तामाङ र प्रदेश ३ की सविना श्रेष्ठले कांस्य जिते ।


आर्मीबाट खेल्ने रीतामाथि पुलिसकी अनुपमा मगरले सफलता पाइन् । ६८ केजी तौलभन्दा माथि प्रतिस्पर्धा गरेकी रीताले सजिलै खेल गुमाइन् । पुलिसकी एरिका गुरुङ र एनआरआरकी शान्ति गुरुङले कांस्यपदक जिते । पूर्वराष्ट्रिय खेलाडी शान्ति मकाउबाट आएकी हुन् । प्रतियोगितामा भाग लिएका एनआरएनका दुवै महिलाले पदक जितेका छन् । अघिल्लो दिन क्यानडाबाट आएकी शुभद्राले कातामा रजत जितेकी थिइन् । एनआरएनएनले कराँतेमै सबैभन्दा बढी दर्जन खेलाडी सहभागी गराएको छ ।


महिला ४५ केजीमा एपीएफकी जिया कार्कीले स्वर्ण जितिन् । फाइनलमा उनले आर्मीकी कुसुम खडकालाई नकआउटमै ढालेकी थिइन् । प्रदेश २ की मीरा योञ्जन र प्रदेश ७ की वर्षा साउदले कांस्यपदक जिते । पुलिसका सोनाम लामा (ख) ले पुरुष ५० केजी तौलको स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा एपीएफका वीरबहादुर तामाङलाई हराए ।


फ्रदेश ३ का साजन मोक्तान र आर्मीका शिव खत्री संयुत्त तेस्रो हुँदै कांस्यपदकमा समेटिए । पुरुष ५५ केजी तौलको स्वर्ण प्रदेश ३ का विजय श्रष्ठले जिते । उनले प्रदेश १ का विवेक थापालाई हराए । दिनेशबहादुर घिसिङ (प्रदेश २) र लक्ष्मण तामाङ (एपीएफ) ले कांस्य जितेका छन् ।


पुरुष ८४ केजी तौलमा प्रदेश खेलाडीको वर्चस्व रह्यो । प्रदेश ३ का विपिनराज सिंहले प्रदेश १ का सागर राउतलाई हराएर स्वर्ण जिते । यसमा प्रदेश २ का सिर्जेष श्रेष्ठ र प्रदेश ७ का सागर शाहीले कांस्य पाए । पहिलो दिन शनिबार चार स्वर्णमा तीन पुलिसले जितेको थियो ।


त्यसमा मन्देकाजी श्रेष्ठ र चन्चला दनुवारको व्यक्तिगत कातासहित महिला टिम काताको स्वर्ण थियो । महिला टिम कातामा स्वर्ण जित्दा निर्मला तामाङ, कोपिला विष्ट र सरु कार्की थिए । दोस्रो भएको आर्मी टिममा संगीता मगर, सुनीता नेपाली र पूर्णा कुमाल थिए । आर्मीले पुरुष टिम कातामा स्वर्ण जितेको हो ।


झन्डै टाउको फुटेन

कराँतेका लागि बनाइएको कभर्डहल पूर्ण छैन । हलको आधा भागमा मात्र छानो लगाइएको छ । त्यहीं मुनि म्याट बिछ्याएर प्रतियोगिता भइरहेको हो । हलको चारैतिर केही मिटरमात्र ढलान उठाइएको छ ।


अहिले तत्काल भित्री भागमा घाम छेल्नका लागि त्रिपाल बेरिएको थियो । फलामको डण्डी सामान्य वेल्डिङ गरेर त्रिपाल बेरिएको रहेछ ।


आइतबार मध्याहन खेल चलिरहेको थियो । निर्णायकहरू भित्ताका आडमा कुर्सी राखेर बसेका थिए । पश्चिमी दिशाबाट आएको हावाको झोंक्का त्रिपालमा ठोक्किँदा वेल्डिङ गरिएको फलामे डण्डी निर्णायकको टाउकोतिर सोझिएका थिए । धन्य अलि सुस्त गतिमा खसेकाले निर्णायकहरू भाग्न भ्याए ।


कसैको टाउकोमा फलामे डण्डी बज्रिएन । एकछिन खैलाबैला मच्चियो । चर्को घाममा त्रिपालमुनि खेलाडीहरू वार्मअप गरिरहेका छन् । त्यहाँ बिहेभोजको पार्टीमा राख्ने जस्तो त्रिपाल राखिएको छ । जसमा घाम सजिलैभित्र छिर्दछ ।


प्रदेश ५ अन्तर्गत पर्ने प्युठान जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम थापा भने यो अस्तव्यस्ततामा गर्नुभन्दा हाम्रो ठाउँमा पनि एउटा खेल राखिएको भए कति राम्रो हुन्थ्यो भन्दै गुनासो पोख्दै थिए । उनले सुनाए, ‘हामीकहाँ कभर्डहल थियो, इन्डोर खेल गर्न सक्षम थियौं । तर हामीलाई त्यो अवसर दिइएन । सायद यो अवस्था आउँदैनथ्यो होला ।’

प्रकाशित : वैशाख ९, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?