कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

जसले खेल्न पाएनन्

कुशल तिमल्सिना

बाँके — करिअरको गति चढ्दै गएका खेलाडीका लागि वर्षौंको मिहिनेत प्रदर्शन गर्ने उपयुक्त ठाउँ हो, राष्ट्रिय प्रतियोगिता । घरेलु खेलकुदको महामेलाको रूपमा प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद जारी छ । देशभरका ५ हजार ३ सयभन्दा बढी खेलाडी एकै ठाउँ भेला भएका छन । प्रतियोगिता खेल्न नेपालगन्ज पुगेका सुदूरपश्चिमका एक खेलाडी खेल्नै नपाएर घर फर्कनुपरेको छ ।

जसले खेल्न पाएनन्

कञ्चनपुरका सुरेश गिरी उसुका सान्सो ६० केजीमुनि तौलसमूहका खेलाडी हुन् । आठौं खेलकुदलाई उनले फागुनमा दाङमा भएको छनोट प्रतियोगितामा दोस्रो स्थान ल्याएका थिए । पहिलो स्थान हासिल गर्ने कैलालीका बालकिसन चौधरी यसबीचमा सशस्त्र प्रहरीमा भर्ना गएपछि सुरेशले आफूले खेल्न पाउने सोचेका थिए ।


त्यस्तो भएन ।


क्षेत्रीय खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद परिषद्बाट आएको सान्सो र थाउलोतर्फ २२ खेलाडीको सीमित कोटाअनुसार सान्सोतर्फ १० र थाउलोतर्फ १२ खेलाडीको नामावली पठाउँदा सुरेशको नाम परेन । क्षेत्रबाट आएको नाममा सान्सोको ६० केजीमूनि तौलसमूहमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडी नै छैनन् ।


सुदूरपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लद्वारा हस्ताक्षरित खेलाडी तथा व्यवस्थापकको नामसहितको पत्र वैशाख ३ गते आएको छ । त्यस पत्रमा सुरेशको नाम छैन । उनै मल्लले वैशाख ५ गते अर्को पत्र लेखेका छन् जहाँ सुरेशलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।


यसबारे बुझ्दा कार्यालय प्रमुख मल्लले छनोटमा पहिलो भएका खेलाडीबाट आफू खेल्न नसक्नेबारे जानकारी नभएको र जानकारी भएपछि पुनः पत्र पठाइएको बताए । ‘छनोटमा पहिलो भएका खेलाडीबाट आफू खेल्न नसक्ने जानकारी हामी पाएका थिएनौं, त्यहीअनुसार खाली राखेर पठाएको हो, उनले खेल्न नसक्ने भएपछि त्यस तौलसमूहमा दोस्रो भएका खेलाडीलाई वैकल्पिकमा नाम सिफारिस गरेका हौं,’ मल्लले भने ।


आठौं खेलकुदअन्तर्गत उसुका स्पर्धा शुक्रबारदेखि सुरु भएका छन् । सुरेश खेल्न नपाएपछि घर फर्किएका छन् । उनले प्रशिक्षकले राजनीति गरेर आफूलाई प्रतियोगिताबाट वञ्चित गराएको आरोप लगाए । क्षेत्रीय उसु प्रशिक्षक रतन खातीप्रति आक्रोशित देखिए । उनले भने, ‘पहिलो भएका बालकिसन खेल्न नआउनेबारे मैले गुरु (खाती) सँगै जिल्ला खेलकुद विकास समिति र क्षेत्रीय खेलकुद विकास समितिमा पनि जानकारी गराएको हो । गुरुले मेरो कुरा नसुनी उल्टै मैले जे चाहन्छु त्यही हुन्छ भनेर धम्की दिनुभयो ।’


‘खेलाडीको मिहिनेत देखिने भनेकै यही समयमा हो । मजस्ता नयाँ खेलाडीका लागि त सिक्नलाई झन् धेरै अवसर हो । प्रशिक्षकले बाइपास गर्न खोज्नुभयो । प्रशिक्षकको मनोमानीले गर्दा मैले खेल्न पाइनँ,’ १८ वर्षीय सुरेशले भने, ‘उसु गतिविधि कम भएको ठाउँमा मैले राम्रो गर्ने प्रयास गर्दा प्रोत्साहन गर्नुपर्ने अवस्थामा निराश बनाइयो ।’


उसुका मुख्य प्रशिक्षक अम्मर थिङले क्षेत्रीय खेलकुद विकास समितिबाट आएको पहिलो चिठीलाई आधिकारिक मानेर दर्ता गरिसकेपछि आएको अर्को हस्तलिखित चिठीलाई प्राविधिक समितिले स्वीकार नगरेको जानकारी दिए । ‘सुरुमा आएको चिठीलाई आधिकारिक मानेका छौं, यहाँ आउँदा सबै प्रक्रियासंगत नै देखिन्छ, एउटा तौलसमूहमा खेलाडीले खेल्न नपाएको बारेमा हामीले सुनेका छौं, त्यो क्षेत्रकै समस्या हो,’ उनले भने ।


सुदूरपश्चिम प्रदेशका प्रशिक्षक रतन खातीले भने क्षेत्री खेलकुद विकास समितिका कारण समस्या भएको दावी गरे । ‘सुदूरपश्चिममा उसुलाई विवादमा ल्याउने प्रयास भएको छ । प्रशिक्षकलाई जानकारी नदिइ दोस्रो चिठी अनधिकृत रुपमा आएको छ । छनोटमा पहिलो भएको खेलाडी खेल्न नसक्नेबारे समयमै जानकारी नभएकैले यो अवस्था आएको हो,’ उनले भने ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?