राजु र संगीताको राष्ट्रिय कीर्तिमान

बाँके — त्रिभुवन आर्मी क्लबका राजु चौधरी, नेपाल पुलिसका संगीता राई र मुई लामाले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबारदेखि सुरु भएको भारत्तोलनतर्फ आआफ्नो तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

राजु र संगीताको राष्ट्रिय कीर्तिमान

नेपालगन्जको नगर भवनमा भएको स्पर्धामा पुरुष ६१ केजी तौलसमूहमा राजुले क्लिन एन्ड जर्क र कुलतर्फ तथा मुईले स्न्याचतर्फ कीर्तिमान बनाउँदा महिलाको ४९ केजीमुनि संगीताले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।


राजुले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा १ सय १० गरी कुल २ सय केजी भार बहन गरी स्वर्ण जिते । यस तौलमा रजत पदक जितेका मुईले स्न्याचतर्फ ९२ केजी भार बहन गरी नयाँ राष्ट्रिय कीर्तिमान बनाए । मुईले क्लिन एन्ड जर्कतर्फ १ सय ५ केजी गरी कुल १ सय ९७ केजी भार उचाले । आर्मीकै सन्तोष थपलियाले स्न्याचतर्फ ८१ र क्लिन एन्ड जर्कतर्फ १ सय केजी गरी कुल १ सय ८१ केजी भार बहन गरी कास्य जिते ।


पुरुष ६१ केजी तौलमा यसअघि तुसार बुढामगरले फागुनमा भएको क्षेत्रीय छनोटमा राखेको स्न्याचतर्फ ७२ र क्लिन एन्ड जर्कतर्फ ९२ गरी कुल १ सय ६४ केजीको कीर्तिमान तोडिएको हो । कीर्तिमानसहित स्वर्ण जितेपछि खुसियाली साट्दै आर्मीका राजुले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न राष्ट्रिय नतिजाले प्रोत्साहन मिल्ने बताए । सातौं राष्ट्रिय खेलकुद र २०७४ मा भएको राखेप च्याम्पियनसिपमा पनि राजुले आफ्नो तौलसमूहमा स्वर्ण जितेका थिए । त्यतिबेला उनी ६२ केजी तौलसमूहमा खेल्ने गरेका थिए ।


महिलातर्फ ४९ केजीमुनि संगीताले स्न्याचतर्फ ५८ र क्लिन एण्ड जर्कतर्फ ७५ केजी गरी कुल १ सय ३३ केजी उचाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । ४८ केजीमा प्रतिस्पर्धा गर्ने उनी भारत्तोलनको नियम परिवर्तन भएसँगै ४९ केजी स्पर्धामा खेल्न थालेकी हुन् । राष्ट्रिय खेलकुदमा दोस्रो सभागिता भए पनि उदयपुरकी २६ वर्षीय संगीताले पहिलो स्वर्ण जितेकी हुन् । ‘सातौं खेलकुदमा दोस्रो भएकी थिएँ, यसपटक धेरै आशा थियो कि राम्रो गर्न सक्छु भन्ने,’ ७ वर्षदेखि नेपाल पुलिस क्लबबाट खेलिरहेकी संगीताले भनिन्, ‘योजनाअनुसार सफल भएको छु, सपना पूरा भयो ।’


संगीताले अब अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार हुने बताइन् । नेपालमै हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुदमा राम्रो गर्नेगरी तयारी थाल्ने संगीताको योजना छ । राष्ट्रिय खेलकुदमा स्वर्ण दिलाउन सहयोग गर्ने परिवार र विभाग सबैलाई उनले धन्यवादसमेत दिइन् । म्हिलाको ४९ केजीमुनिमा स्न्याचतर्फ ४५ तथा क्लिन एन्ड जर्कतर्फ ५७ गरी कुल १ सय २ केजी भार बहन गरेकी प्रदेश १ की कृष्ण चौधरीले रजत र घरेलु टोली प्रदेश ५ की पवित्रा थापामगरले कास्य जितिन् ।


उनले स्न्याचतर्फ ४० र क्लिन एन्ड जर्कतर्फ ४५ गरी कुल ८५ केजी तौल उठाइन् । महिलाको ४५ केजीमुनिमा त्रिभुवन आर्मीकी रिता गुरुङले स्न्याचतर्फ ४५ र क्लिन एन्ड जर्कतर्फ ४५ गरी कुल ९० केजी भार बहन गरी स्वर्ण जितिन् । प्रदेश ५ की हीरामती चौधरीले स्न्याचतर्फ ३० र क्लिन एन्ड जर्कतर्फ ४४ केजी गरी कुल ७७ केजी उचाल्दै रजत र प्रदेश २ की काजल सदाले स्न्याचमा ३० र क्लिन एन्ड जर्कमा ३७ गरी कुल ६७ केजी उचाली कास्य जितिन् ।


विश्व भारत्तोलन महासंघको नियम परिवर्तन भएपछि आठौं खेलकुदमा भारत्तोलनको २० स्पर्धा समावेश गरिएको छ । अहिले महिलाको १० र पुरुषको १० तौलसमूहमा प्रतिस्पर्धा भएको हो । यसअघि सातौं राष्ट्रिय खेलकुदमा १५ स्पर्धा (पुरुष ८ र महिला ७) समाजवेश भएकोमा आर्मी टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको पहिलो दिन नै आर्मीले ३ स्वर्ण जितिसकेको छ । पहिलो दिन चार स्पर्धाको फाइनल सम्पन्न भएको हो ।


ह्यान्डबल

राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५, आर्मीले कर्णाली प्रदेशलाई ४७–१०, प्रदेश १ ले प्रदेश २ लाई २८–१४ र एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पराजित गर्‍यो । महिलामा गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४, आर्मीले कर्णालीलाई ५४–२, सुदूरपश्चिमले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले हराए ।


आर्चरी

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरू सम्पन्न भए । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका असीम शेरचन, प्रहरीका तिलक पुनसंगै १६ खेलाडीले छनोट चरणमा सफलता पाए ।


पुरुष कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ र राजेश राणा, थसाङ स्पोर्ट्स क्लब, काठमाडौंका रमेश भट्टचन र बाँकी २ ले छनोटमा सफलता पाए । पुरुष स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङ, बेस्ट आर्चरी क्लब, काठमाडौंका प्रज्ज्वल ताइ, आर्मीका कमल दानी, अन्नपूर्णका राजकुमार छन्यालसहित ३२ खेलाडी छनोट भए ।


महिला स्ट्यान्डर्डमा अन्नपूर्णकी अर्चना थापा, एपीएफकी सोनुजया राई, अन्नपूर्णकी अनुशा गुरुङ, आर्मीकी मन्जु बजगाईंसहित १६ खेलाडी छनोट भए । प्रतियोगितामा ८८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?