२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

महत्त्वाकांक्षी युवा टिम

राजु घिसिङ

काठमाडौँ — नेपाली युवा टिम एएफसी यू–१९ वुमेन्स च्याम्पियनसिप २०१९ मा छनोट हुने लक्ष्यसहित अन्तिम तयारीका लागि बुधबार चीन प्रस्थान गरेको छ । छेन्दुमा दुई अभ्यास खेलसँगै एक साताको तयारीपछि दोस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्न नेपाली टिम म्यान्मारको मन्डला पुग्नेछ ।

महत्त्वाकांक्षी युवा टिम

नेपालले मन्डलाथिरि रंगशालामा हुने छनोटमा अस्ट्रेलिया, उज्वेकिस्तान र आयोजक म्यान्मार समावेश समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछ । ‘जस्तोसुकै राम्रो टिमलाई पनि हामी दबाबमा राख्न सक्छौं भन्ने लाग्छ,’ नेपाली युवा टिमका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले चीनतर्फ लाग्नुअघि भने, ‘अस्ट्रेलिया, म्यान्मारको पहिलाको खेलको भिज्युअल हेरेको छु । उनीहरूसँग खेल्न नसकिने भन्ने होइन, कडा चुनौती दिन सक्छौं । आक्रमक फुटबल सिकाएका छौं, आक्रमक नै खेल्छौं ।’


एसियाली महिला फुटबलमा अस्ट्रेलिया, उज्वेकिस्तान र म्यान्मार बलिया टिम मानिन्छन् । यसबारे प्रशिक्षक श्रेष्ठले भने, ‘वरियता आफ्नो ठाउँमा रहन्छ, त्यो राम्रो पक्ष हो । उमेर समूहमा वरियताले ठूलो फरक पार्छजस्तो लाग्दैन । त्यसैले हामी उनीहरूलाई चुनौती दिन सक्छौं ।’ छनोटको लक्ष्यबारे उनी बोले, ‘राम्रो प्रदर्शन गर्नेछौं । सकेसम्म छनोट (च्याम्पियनसिप) मा आउने कोसिस गर्नेछौं ।’


नेपाली महिलाको युवा टिमले पहिलोपल्ट दोस्रो चरणको छनोट खेल्न लागेको हो । अक्टोबर, २०१८ मा चोन्बुरीमा भएको पहिलो चरणको छनोटको पहिलो खेलमा घरेलु टिम थाइल्यान्डसँग ३–० ले हारेको नेपालले रेखा पौडेलको दुई गोलसँगै भारतलाई २–० ले हराएको थियो । अन्तिम खेलमा पाकिस्तानमाथि ९–० को जित रचेको नेपाल समूहको दोस्रो स्थानमा रहदै ‘हेड टु हेड’ का आधारमा भारतलाई उछिनेर दोस्रो चरणलाई छनोट भएको थियो । अक्टोबर–नोभेम्बर, २०१९ मा हुने च्याम्पियनसिप थाइल्यान्डले आयोजना गर्ने भएकोले दोस्रो स्थानमा रहेर पनि नेपालले अन्तिम छनोटमा खेल्ने मौका पाएको हो ।


पहिलो चरणको छनोटको तुलनामा टिममा धेरै सुधार भएको प्रशिक्षक श्रेष्ठले बताए । ‘टिमको राइट विंग्समा समस्या थियो, जुन अहिले पाएका छौं,’ उनले भने, ‘टिमको अट्याकिङ, मिडफिल्ड र कन्डिसनिङ राम्रो भएको छ ।’ राइट विंग्समा सविता रानामगरलाई पाएका उनले थपे, ‘हामीले पहिलो चरणमा थाइल्यान्डलाई दोस्रो हाफमा दबाब दिएका थियौं । ९० मिनेटसम्म एउटै गतिमा खेलेका थिए । त्यो जोस, जाँगर र गति हाम्रा खेलाडीमा छ ।’


उनी गोलकिपर अञ्जना रानामगर, कप्तान सरु लिम्बू, विंगर मञ्जली कुमारी योञ्जन, फरवार्डद्वय रश्मि कुमारी घिसिङ र रेखा पौडेललाई मुख्य खेलाडी मान्छन् । अञ्जना, दोस्रो रोजाइकी गोलकिपर उषा नाथ, डिफेन्डर पूजा रानामगर, मिडफिल्डर सरु, विंगर मञ्जली र रेखा पौडेल अघिल्लो साता मन्डलामै भएको ओलम्पिक छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गरेको नेपाली टिममा समावेश थिए । उनीहरूको त्यो अनुभव यू–१९ मा उपयोगी हुन सक्छ ।


प्रशिक्षक श्रेष्ठका अनुसार नेपालले एएफसी यू–१९ छनोटलाई साढे दुई महिना तयारी गरेको छ । ओलम्पिक छनोटबाट फर्केपछि पछिल्ला सबै (२३ खेलाडी) तीन दिन मात्र एकसाथ प्रशिक्षणमा सहभागी थिए । छेन्दुमा हुने तयारीले टिमलाई बलियो बनाउने कप्तान सरु लिम्बूको विश्वास छ ।


‘सबन्दा बलियो पक्ष टिमवर्क हो । हामी यू–१४ बाटै सँगै खेलिरहेका छौं । कसलाई कसरी बल दिँदा हुन्छ भन्ने थाहा छ,’ कप्तान सरुले भनिन्, ‘पहिलाभन्दा टिममा धेरै सुधारु भएको छ । डिफेन्स र आक्रमणका गल्ती सच्याउने अवसर पाएका छौं । फिनिसिङ हाम्रो कमजोर पक्ष हो, यसलाई चीनमा हुने तयारीले राम्रो बनाउने आशा छ ।’


घरेलु प्रतियोगिता प्रधान सेनापति ट्रफीमा गरिएको प्रदर्शनको आधारमा टिममा पहिलो चरणको छनोटमा सहभागी टिममा पाँच खेलाडी परिवर्तन गरिएको छ । प्रीति राई, सविता रानामगर, सलोनी रानामगर, मेनुका आलेमगर, निर्मला उपाध्यायले यू–१९ टिममा स्थान बनाए । उनीहरूको आगमन र राष्ट्रिय टिमका ६ खेलाडीको उपस्थितिले नेपाली टिमलाई बलियो बनाएको प्रशक्षिक हरिओम श्रेष्ठको विश्वास छ । उनको टिमले छेन्दुको एक साता बसाइमा यू–१५ र यू–१८ प्रान्तीय टिमसँग प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । उतैबाट नेपाली टिम मन्डला जानेछ ।


नेपाली युवा टिम अक्टोबर, २०१८ मा थिम्पुमा भएको साफ यू–१८ वुमेन्स च्याम्पियनसिपमा उपविजेता भएको थियो । त्यही टिमका खेलाडीको बाहुल्य रहेको नेपाली टिम एएफसी यू–१९ छनोटको पहिलो चरण पार गरेको एक्लो दक्षिण एसियाली हो । दोस्रो चरणमा अस्ट्रेलिया, उज्वेकिस्तान र म्यान्मारलाई पन्छाएर अघि बढ्न सजिलो भने छैन ।


दोस्रो चरणको छनोटको समूह ‘बी’ मा दक्षिण कोरिया, भियतनाम (आयोजक), इरान र लेबनानले प्रतिस्पर्धा गर्दै छन् । समूहमा शीर्ष दुई स्थानमा रहने चार टिम एएफसी यू–१९ वुमेन्स च्याम्पियनसिप २०१९ मा छनोट हुनेछन् । आयोजक थाइल्यान्ड, डिफेन्डिङ च्याम्पियन जापान, पछिल्लोपल्टको उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीनसँगै छनोट चरण पार गर्ने चार देश गरी कुल ८ टिमले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : वैशाख ६, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?