आठौं राष्ट्रिय खेलकुद : चन्द्रकलाको राष्ट्रिय कीर्तिमान 

१०० मिटरमा आशिष र सरस्वती च्याम्पियन
ध्रुव तुलाधर, तस्बिर : अनिस रेग्मी

तुलसीपुर, दाङ — आठौं राष्ट्रिय खेलकुदको एथलेटिक्सको पहिलो दिन बिहीबार महिला सटपुटमा चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । 

बेलझुण्डीस्थित नवनिर्मित एथलेटिक्सको ट्रयाक एन्ड फिल्डमा नेपाल पुलिस क्लबकी चन्द्रकलाले १२.०४ मिटर सटपुट फाल्दै नयाँ कीर्तिमान रचेर राष्ट्रिय खेलकुदको स्वर्ण जितिन्। पुरानो कीर्तिमान पनि उनकै नाममा रहेको छ।

एक वर्षअघि वैशाखमै काठमाडौंमा सम्पन्न राष्ट्रिय टिम तयारी छनोटका क्रममा उनले ११.५६ मिटरको कीर्तिमान बनाएकी थिइन्। राष्ट्रिय कीर्तिमान बनाएवापत् चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउने छिन्। राष्ट्रिय खेलकुद परिषदले व्यक्तिगततर्फ स्वर्ण जित्नेका लागि १५ हजार र राष्ट्रिय कीर्तिमानका लागि २५ हजार दिने घोषणा गरिसकेको छ।

यस इभेन्टमा प्रदेश ५ की संगीता अधिकारीले १०.५६ मिटर र एपीएफकी वसन्ती चौधरीले १०.०५ मिटरबाट क्रमशः रजत र कांस्य पदक जितेका थिए। १८ खेलाडीले सटपुटमा प्रतिस्पर्धा गरेका थिए।

१०० मिटर दौडको स्वर्ण एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरीले जितेका छन्। पुरुषतर्फ आशिषले ११.०० सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जित्दा प्रदेश ६ का यामसाजन सुनारले रजतमा चित्त बुझाए। यामसाजनले ११.१० सेकेन्डबाट दोस्रो स्थान हात पारे। १०.३ सेकेन्डको ह्यान्डटाइमिङको राष्ट्रिय कीर्तिमान भने यामसाजनकै नाममा छ। आनन्ददेव चौधरीले ११.१५ सेकेन्डबाट कांस्य पदक जितेका छन्।

महिलातर्फ पहिलो तीनै स्थानमा चौधरी खेलाडीले वर्चस्व जमाए। सरस्वतीले १२.१९ सेकेन्डमा दौड पूरा गरिन्। उनले प्रदेश ५ की जयरानी चौधरीलाई पछि पारेकी हुन्। जयरानीले १२.३९ सेकेन्डबाट रजत जितिन्। आर्मीकी कृष्णा चौधरीले १२.५२ सेकेन्डबाट कांस्यमा नाम लेखाइन्।
पहिलो दिन आर्मीका लागि महिला १० हजार मिटर दौडबाट विश्वरुपा बुढा र सटपुटमा टेकप्रसाद दाहालले स्वर्ण दिलाएका छन्। विश्वरुपाले ३७ मिनेट ३०.८९ सेकेन्डमा रंगशालाको २५ ल्याप पूरा गरेर स्वर्ण जितेकी हुन्। उनकी निकट रहेकी पुलिसकी राजपुरा पछाईंले ३७ मिनेट ३०.९२ सेकेन्ड लगाइन्। यो टाइमिङले राजपुरालाई रजत दिलायो।

प्रदेश ३ की सन्तोषी श्रेष्ठले कांस्य जितिन्। उनको टाइमिङ ३७ मिनेट ५०.५३ सेकेन्डको थियो। एपीएफकी पुष्पा भण्डारी र गण्डकी प्रदेशकी डोलमाया महतोले क्रमशः चौथो र पाँचौं स्थानमा रहेर दौड पूरा गरे।

सटपुटमा टेकप्रसादले १२.१९ मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन्। पुलिसका पुष्कल खड्का १२.०४ मिटरबाट रजत र आर्मीकै चित्रबहादुर ओली ११.८५ मिटरबाट कांस्य जित्न सफल भए।

पुरुष १० हजार मिटरको स्वर्ण कर्णाली प्रदेशका दुर्गा बुढाले जितेका छन्। उनले ३१ मिनेट ०३.०६ सेकेन्डमा दौड पूरा गरेक थिए। विभागीय टोलीका खेलाडीलाई पछि पार्दै प्रदेश ४ का अनिश थापाले रजत पदक जिते। उनले त्यसका लागि ३१ मिनेट ०९.७१ सेकेन्ड लगाए। राष्ट्रिय कीर्तिमानधारी एपीएफका गोपीचन्द्र पार्की भने तेस्रो भए। उनले ३१ मिनेट ५८.३ सेकेन्डमा दूरी पार गरेका थिए।

यो इभेन्टको राष्ट्रिय कीर्तिमान गोपीचन्द्रकै नाममा छ। उनले ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमान सन् २०१४ को इन्चोन एसियाडमा बनाएका थिए। राष्ट्रिय खेलकुदको यस इभेन्टमा १८ जना धावक प्रतिस्पर्धामा थिए।

प्रकाशित : वैशाख ५, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा प्रदेश २ कै अग्रता

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत घोराहीमा भैरहेको महिला फुटबलमा बिहीबार पनि प्रदेश २ विजयी भएको छ ।

दाङको घोराहीमा जारी महिला फुटबल प्रतियोगितामा खेल्दै प्रदेश २ र ५ का खेलाडीहरु । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर 

घोराहीको भरतपुर मैदानमा भएको बिहानको खेलमा प्रदेश ५ लाई एकका विरुद्ध तीन गोल पराजित गर्दै प्रदेश २ विजयी भएको हो । खेलको पहिलो हाफमा प्रदेश २ की जर्सी नम्बर ११ की रजनी थोकरले ३५ औं मिनेटमा गोल गरेकी थिइन् ।

यसैगरी दोस्रो हाफमा प्रदेश २ की जर्सी नम्बर ७ की दिलकुमारी राना मगरले २८ औं मिनेटमा गोल गरेकी थिइन् । जर्सी नम्बर ५ की सजनी थोकरले ४१ औं मिनेटमा गोल गरेर प्रदेश २ लाई विजयी बनाएकी थिइन् ।

प्रदेश ५ की जर्सी नम्बर १० की ममता पुन मगरले दोस्रो हाफको २५ औं मिनेटमा एक गोल गरेकी थिइन् । दोस्रो खेल अपरान्ह प्रदेश नं. ३ र ७ बीच हुने भएको छ । बुधबारको उद्धघाटन खेलमा पनि प्रदेश २ ले सुदूरपश्चिमलाई शुन्यका विरुद्ध ४ गोल गर्दै विजय हासिल गरेको थियो ।

प्रकाशित : वैशाख ५, २०७६ १३:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्