१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आठौं राष्ट्रिय खेलकुद आजदेखि

तीन दशकपछि निर्धारित समयमै राष्ट्रिय खेलकुद आयोजना हुँदै
कुशल तिमल्सिना

काठमाडौँ — घरेलु खेलकुदको महामेला राष्ट्रिय खेलकुदको आठौं संस्करण बुधबार सुरु हुँदै छ । तेस्रो राष्ट्रिय खेलकुदयता निर्धारित समयमै राष्ट्रिय खेलकुद आयोजना भएको यो पहिलोपल्ट हो । आठौं खेलकुदको उद्घाटन नेपालगन्ज रंगशालामा वैशाख ५ गते हुनेछ ।

आठौं राष्ट्रिय खेलकुद आजदेखि

त्यस अघिदेखि नै अधिकांश खेलका स्पर्धा सुरु हुँदै छन् । बुधबार ललितपुरमा स्क्वासका स्पर्धा सुरु हुनेछ भने बाँकेमा फुलकन्ट्याक्ट कराँते हुनेछ । प्रदेश ५ मा पूर्वाधार नभएका कारण स्क्वास ललितपुरमा आयोजना गरिएको हो । पूर्वाधारकै कारण प्याराग्लाइडिङ र ट्रायथोलन कास्कीमा तथा गल्फ काठमाडौंमा आयोजना हुँदै छन् ।


२०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदको अवधारणा हरेक दुई वर्षमा आयोजना हुने भन्ने हो । सुरुआती ३ संस्करणबाहेक सातौं संस्करणसम्मको खेलकुद कहिल्यै समयमा भएन । तेस्रो (२०४२) र चौथो (२०५४) को बीचमा १२ वर्ष तथा चौथो (२०५४) र पाँचौं (२०६५) को बीचमा ११ वर्षको अन्तर रह्यो । ३ वर्षपछि २०६८ मा छैटौं र २०७३ मा सातौं राष्ट्रिय खेलकुद आयोजना भए ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले आफ्नो कार्यकाल खेलकुदका लागि स्वर्णकाल हुने बताउने गरेका छन् । ‘राष्ट्रिय खेलकुदलाई नियमित गराउने संकल्पसहित लागेका हौं र सफल पनि भयौं, चारवर्षे कार्यकालमा दुई राष्ट्रिय खेलकुद आयोजना हुनुले सकारात्मक सन्देश गएको छ,’ उनले भने ।


५ नम्बर प्रदेशका ५ जिल्ला (बाँके, बर्दिया, दाङ, रूपन्देही र कपिलवस्तु) मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद विशेष रहनेछ । राष्ट्रिय खेलकुदले नियमितता पाएको छ, पहिलोपल्ट संघीय संरचनाअनुसार प्रतियोगिता सञ्चालन हुँदै छ, गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीलाई पहिलोपल्ट घरेलु खेलकुदको महामेलामा सहभागी गराइँदै छ ।


एनआरएनएबाट ९ देशका २६ खेलाडीले एक खेलको स्पर्धामा सहभागिता जनाउनेछ । बुधबार पाँच खेलको स्पर्धा सुरु हुनेछ । स्क्वास ललितपुरमा, कुस्ती कपिलवस्तुमा, लन टेनिस रूपन्देहीमा, पुरुष हक्की नेपालगन्जमा र टेबल टेनिस दाङमा सुरु हुनेछ । बाँके जिल्लामा १७ खेलका १९ प्रतियोगिता सञ्चालन हुनेछन् । दाङमा ७ खेलका ८ प्रतियोगिता हुनेछन् । रूपन्देहीमा ६ खेलका प्रतियोगिता र कपिलवस्तुमा १ खेलको प्रतियोगिता सञ्चालन हुनेछ ।


आठौं राष्ट्रिय खेलकुदलाई आसन्न १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका रूपमा हेरिएको छ । १३ औं साग खेलकुद आगामी वर्ष मंसिरमा काठमाडौं र पोखरामा हुँदै छ । आठौं खेलकुदका पदक विजेता खेलाडी १३ औं सागको प्रारम्भिक छनोटमा रहने राखेपले जनाएको छ ।


नेपालगन्ज रंगशालाको फिनिसिङ हुँदै

प्रतियोगिताका खेलहरू चैत २७ मा सुरु भए पनि आठौं राष्ट्रिय खेलकुदको मुख्य खेलस्थल नेपालगन्ज रंगशाला स्तरोन्नति कार्य भइरहेको छ । जहाँ प्रतियोगिताको उद्घाटन र समापन हुनेछ ।


राखेप सदस्यसचिव विष्टले रंगशालामा भीआईपी प्यारापिटको छानो हाल्ने काम सकिएको र फिनिसिङको काम बाँकी रहेको जानकारी दिए । ‘कुर्सी जडानलगायतका अन्तिम चरणको काम सुरु भएको छ, दाङको बेलझुन्डीमा सेन्थेटिक ट्र्याक निर्माण सकिएको छ, हामी अन्तिम तयारीमा छौं, उद्घाटनको समयसम्म सबै पूर्वाधार तयार भइसक्छन्,’ उनले भने ।


सदस्यसचिव विष्टले दिगो पूर्वाधार निर्माण भएकाले भविष्यमा पनि विभिन्न राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सहज हुने दाबी गरे । खेलाडी तथा प्रशिक्षकले नेपालगन्जको गर्मीलाई मुख्य चुनौती मानिरहेको अवस्थामा विष्टले खेलाडी तथा अफिसियलको सुविधामा विशेष ध्यान दिने दाबी गरे । ‘हामीले खेलाडीलाई एसीयुक्त होटल र बस प्रयोग गरेका छौं, खेल पनि गर्मी कम हुने समयमा सञ्चालन गर्नेछौं,’ उनले भने ।


परिषद्ले बिहान ७ देखि १० बजे र दिउँसो ४ बजेपछि मात्र खेल सञ्चालन गर्न सम्बन्धित खेल संघलाई निर्देशन दिइसकेको विष्टले बताए । अघिल्लो वर्षको रेकर्डका आधारमा यो मौसममा नेपालगन्जको तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । ‘मध्य दिनमा खेल खेलाउँदैनौं, बिहान र साँझको समयमा तापक्रम केही कम हुन्छ,’ विष्टले भने । दुई साताअघिको पत्रकार सम्मेलनमा सदस्यसचिव विष्टले २५ डिग्रीभन्दा बढी तापक्रममा खेल नखेलाइने दाबी गरेका थिए ।


ओलम्पिक टर्च सातै प्रदेश पुर्‍याइने

आठौं राष्ट्रिय खेलकुदको उद्घाटन अघि सातै प्रदेशमा ओलम्पिक टर्च पुर्‍याइने भएको छ । १४ जना ओलम्पियनले सबै प्रदेशमा टर्च पुर्‍याउनेछन् । वैशाख ५ गते उद्घाटनको दिन भने १४ जनाले नै टर्च लिएर मार्च पास गर्नेछन् ।


टर्च चैत २८ गते काठमाडौंबाट विराटनगर पुर्‍याइनेछ । चैत २९ गते बिहान ८ बजे विराटनगरमा, त्यही दिन दिउँसो साढे १ बजे प्रदेश २ को धनुषामा, चैत ३० गते प्रदेश ३ को केन्द्र हेटौंडामा, वैशाख १ गते बिहान गण्डकी प्रदेशको केन्द्र पोखरामा ओलम्पिक टर्च पुर्‍याइनेछ ।


वैशाख २ गते बिहान लुम्बिनीमा दीप प्रज्वलन गर्ने त्यही दिन बेलुकी कर्णाली प्रदेशको केन्द्र सुर्खेत लगिने र ३ गते बिहान कार्यक्रम गरिनेछ । ३ गते नै ओलम्पिक टर्चलाई सुदूरपश्चिमको केन्द्र धनगढी पुर्‍याइनेछ । आठौं खेलकुदको उद्घाटनको दिन ओलम्पिक टर्च नेपालगन्ज नगर फरिक्रमा गराइने कार्यत्रम रहेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


ओलम्पिक टर्च ओलम्पियनहरू जितबहादुर केसी, हरिबहादुर रोकाय, सुरेन्द्र हमाल, पुष्पराज ओझा, डम्बर कुँवर, दीपक विष्ट, विष्णुबहादुर सिंह, डम्बरदत्त भट्ट, संगीना वैद्य, विमला रानामगर, पार्वती थापा, मेनुका रावत, अनिता श्रेष्ठ र कमलबहादुर अधिकारीले बोक्नेछन् ।


लन टेनिस रूपन्देहीमा

रूपन्देही– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रूपन्देहीमा हुने सम्पूर्ण खेलको तयारी पूरा भएको छ । प्रतियोगितामा यहाँ ६ खेल हुनेछन् । बुधबारबाट लन टेनिस पुरुष र महिलाका स्पर्धा सुरु हुँदैछन् ।


प्रतियोगिताका लागि दुई विभागीय टिम, एनआरएन र तीन प्रदेशबाट खेलाडी यहाँ आइसकेका छन् । खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङका अनुसार विभागीयबाट आर्मी र एपीएफले सहभागिता जनाउनेछन् ।


सातमध्ये प्रदेश ३, गण्डकी र प्रदेश ५ ले मात्र भाग लिएका छन् । खेलमा १५ महिला र २८ पुरुषको सहभागिता रहने उनले बताए । ३५ खेलमध्ये बुटवलमा लन टेनिस र सफ्ट टेनिसको महिला पुरुष, शारीरिक सुगठन र पुरुष फुटबल प्रतियोगिता बुटवलमै हुनेछन् । तेक्वान्दो र पुरुष क्रिकेट प्रतियोगिता भैरहवामा हुने अध्यक्ष गुरुङले बताए ।


बुटवलमा हुने लन र सफ्ट टेनिस दुवैका लागि पूर्वाधार तयार गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा रूपन्देही लन टेनिस संघले ९२ लाख रुपैयाँ खर्चेर तीनवटा लन टेनिस कोर्ट र स्टेडियम निर्माण गरेको छ । आवश्यक सबै तयारी पूरा गरिएको संघका सचिव गोपाल ज्ञवालीले बताए । ‘सबै तयारी पूरा गरेर प्रतियोगिताको पर्खाइमा छौं,’ उनले भने, ‘खेलाडीसमेत बुटवल आइसकेका छन् ।’ प्रतियोगितामा प्रदेश ५ र एनआरएनको टिमबाहेक अन्य सबै टिमबाट महिला खेलाडी पनि सहभागी भएको उनले बताए ।


लन टेनिस वैशाख ६ गते समापन र सफ्ट टेनिस वैशाख ५ गतेबाट सुरु हुनेछ । लन टेनिस कम्प्लेक्समा प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रतियोगिता उद्घाटन गर्नेछन् । बुटवलमा हुने पुरुष फुटबल वैशाख ४ गते एन्फा टेक्निकल सेन्टर र शारीरिक सुगठन ६ गतेबाट कान्ति माविको सभाहलमा हुनेछन् । त्यस्तै सिद्धार्थ रंगशालामा क्रिकेट र तेक्वान्दो भैरहवाकै ब्याडमिन्टन कबर्ड हलमा हुनेछ ।

प्रकाशित : चैत्र २७, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?