कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

स्वर्णधारी अजितलाई नगरपरिक्रमा

एक लाखसहित सम्मान
अवधेशकुमार झा

राजविराज — एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका राजविराज १२ निवासी अजितकुमार यादवलाई राजविराज नगरपालिकाले मंगलबार सम्मान गर्दे नगरपरिक्रमा गराएको छ । 

स्वर्णधारी अजितलाई नगरपरिक्रमा

नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झालगायत वडाध्यक्षहरूले स्वर्णधारी अजितलाई दोसल्ला र फुलमालाले सम्मान गरे ।


नगरप्रमुखले नगरपालिकाको तर्फबाट १ लाख १ हजार १ सय २१ रुपैयाँ र आफ्नो एक महिनाको तलब ३५ हजारसहित सम्मानित गरे । नगरप्रमुखले अजितका पिता पवनकुमार, आमा सरितादेवी र हजुरबुवा गंगाप्रसाद यादवलाई पनि दोसल्ला ओढाइ सम्मान गरे ।


स्वर्णधारी अजितले सरकारलाई खेलक्षेत्रमा लगानी बढाउन आग्रह गर्दै कुनै जात क्षेत्रभन्दा पनि समग्र नेपाल र नेपालीको शिर ठाडो पार्ने काममा लाग्नुपर्ने बताए ।


नगरप्रमुख यादवले एसियन एथलेटिक्समा स्वर्ण जितेर राजविराज नगरपालिकासँगै सिंगो नेपालको शान बढाएको स्मरण गराए । उनले खेलकुद क्षेत्रको विकासमा नगरपालिकाले थप लगानी गर्ने प्रतिबद्धता जनाए । सम्मान कार्यक्रमपछि नगरपालिकाका प्रमुख र उपप्रमुखसहित सम्पूर्ण वडाका जनप्रतिनिधीको सहभागितामा अजितलाई फुलमालाले सजाइएको गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो ।


सशस्त्र प्रहरीको विद्यालयबाट एसएलसी उत्तीर्ण अजित राजधानीको पिनाकल कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । २०७१ सालमा शिक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित ५ किमि सडक दौडमा तेस्रो स्थान हुँदै ५ हजार पुरस्कार पाएपछि उनी एथलेटिक्सप्रति हौसिएका थिए । त्यही प्रतियोगितापछि उनी दौडमा होमिए ।


‘त्यो दौड मेरो जीवनमा एथलेटिक्सको प्रतियोगितात्मक सुरुआत हो,’ अजितले कान्तिपुरसित भने, ‘अहिले एसियालीस्तरमा स्वर्ण पदक जित्दा सपनाजस्तै लागेको छ ।’ ०७१ सालको सडक दौड प्रतियोगितापछि ०७३ सालमा राष्ट्रपति कपमा कीर्तिमान बनाएपछि अजित एथलेटिक्समै आफ्नो भविष्य रहेछ भन्दै हौसिएको बताउँछन् । ‘विभिन्न प्रतियोगितामा भाग लिँदै जित्दै गएँ र हौसिँदै गएँ,’ अजितले भने, ‘देशलाई एथलेटिक्समा अझै उचाइमा पुरयाउने मेरो लक्ष्य छ ।’


स्वर्णधारी अजितलाई प्रदेश २ सरकारले ५ लाख र सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले ५१ हजारसहित सम्मान गर्ने घोषणा गरिसकेको छ । यसैबीच अजितको घर रहेको राजविराज नगरपालिका १२ ले पनि मंगलबारै उनलाई सम्मान गरेको छ ।

प्रकाशित : चैत्र २०, २०७५ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?