१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एएफसी कप : मनाङ तयार, अबहानी उत्साही

काठमाडौँ — मनाङ मर्स्याङदी क्लबका प्रशिक्षक छिरिङ लोब्साङले क्षमतावान खेलाडीको संयोजन र राम्रो तयारीका कारण घरेलु मैदानबाट जितको सुरुआत गर्ने बताएका छन् । 

एएफसी कप : मनाङ तयार, अबहानी उत्साही

लिग च्याम्पियनको हैसियतमा मनाङले बुधबार एएफसी कपमा प्रतिस्पर्धा गर्दै छ । छनोट प्रतियोगिताको समूह ‘ई’ मा मनाङको पहिलो प्रतिद्वन्द्वी हुनेछ बंगलादेशको ढाका अबहानी लिमिटेड ।

‘यू–२३ र राष्ट्रिय टोलीको खेलका कारण हामीले पछिल्लो एक सातामाक्र संयुत्त अभ्यास गर्न पायौं । लिगदेखि नै खेलाडीहरू फिट भएकाले छोटो भए पनि राम्रो तयारी छ,’ प्रशिक्षक लोब्साङले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘लिगको समयमा हामीलाई इन्ज्युरीको समस्या थियो । अहिले समाधान भइसकेको छ । अन्य क्लबबाट पनि लोनमा खेलाडी भिक्र्याएका छौं, हामी सशत्त छौं ।’

प्रिम्याच कन्फ्रेन्समा मंगलबार दुवै क्लबका प्रशिक्षक र कप्तानले जित्ने दाबी गरेका छन् । अबहानी बंगलादेश प्रिमियर लिग च्याम्पियन हो । यीबाहेक यो समूहमा भारतका दुई क्लब मिनेरवा पन्जाब र चेन्नाई एफसी छन् ।

मनाङले एएफसी कपका लागि प्रशिक्षक परिवर्तन गरी लोब्साङलाई जिम्मेवारी दिएको हो । ‘लिगको समयमा म नभए पनि मनाङका खेलाडीका लागि म र मेरा लागि खेलाडीहरू नौलो होइनन् । लामो समयदेखि एकअर्कालाई बुझेकाले खेलाडीका लागि कस्तो प्रशिक्षण र सुविधा चाहिन्छ भन्ने मलाई थाहा छ,’ उनले भने ।

मनाङका कप्तान विराज महर्जनले बुधबारको खेललाई टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताए । उनले भने, ‘नकआउट प्रतियोगिता र राष्ट्रिय टिमको तयारीका कारण सबै फिट छौं । एक साताको तयारी राम्रो भएको छ । हामी सम्पूर्ण रूपमा खेलका लागि तयार छौं ।’

‘दुवै टोली उत्तिकै बलिया छन्, सन्तुलित पनि । दुवैका लागि सम्भावना बराबरीकै हो । हामी उनीहरूविरुद्ध सशक्त रूपमा प्रस्तुत हुनेछौं,’ कप्तान विराजले थपे । मनाङले पहिलो चरणको छनोट पूरा गरेर प्लेअफ सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ ।

अबहानीबिरुद्ध मनाङका विदेशी डिफेन्डर शहिद अजिज खेल्न पाउने छैनन् । उनले सन् २०१४ को एएफसी प्रेसिडेन्ट्स कप समूह चरणको अन्तिम खेलमा मंगोलियाको इर्चिम एफसीविरुद्ध दोहोरो पहेँलो कार्ड पाएका थिए । उनी एक खेलको प्रतिबन्धमा रहेका कारण अवहानीविरुद्धको खेल गुमाउने भएका हुन् ।

अबहानीका पोर्चुगिज प्रशिक्षक मारियो लिसिनोले तीन साताको तयारीपछि मनाङविरुद्धको खेलका लागि काठमाडौं आएको बताए । ‘हाम्रा लागि यो कठिन खेल हो तर बंगलादेशको राष्ट्रिय टोलीबाट खेलेका तथा विदेशी खेलाडीका कारण टिम सन्तुलित छ,’ प्रशिक्षक लिसिनोले भने, ‘मनाङको टिममा पनि राष्ट्रिय खेलाडीहरू छन्, साफ च्याम्पियनसिपका क्रममा हामीले विराज, हेमन गुरुङको खेल देखेका थियौं । घरेलु मैदानमा उनीहरू प्रभावशाली बन्नेछन् ।’

अबहानीका कप्तान तथा गोलरक्षक साहिदुल अलाम सोहेलले ‘एस्ट्रो टर्फ’ मा खेल्न कठिन हुनसक्ने बताए । ‘टर्फ हाम्रा लागि नयाँ हो, प्राकृतिक मैदानमा तयारी गरेर यहाँ खेल्दा केही कठिन त हुन्छ । बराबर स्तरको टिम भए पनि मैदानसँग हामी कम अभ्यस्त हुनेछौं,’ कप्तान सोहेलले भने, ‘तर हामी यहाँ ३ अंक हासिल गर्न आएका हौं । यसअघिका दुई संस्करणमा समूह चरण पार गर्न सकेका थिएनौं, अहिले अर्को चरणमा पुग्न उत्साही छौं ।’

अबहानीबाट खेल्ने स्ट्राइकर सन्डे चिजोबा हाइटीका हुन् । उनीबाट अबहानीले धेरै अपेक्षा गरेको छ । प्रशिक्षक लिसिनोले उनीबारे भने, ‘चिजोबा बलिया र प्रभावशाली छन् । उनी हाम्रा गोल स्कोरर हुन् । मनाङविरुद्ध उनको उत्कृष्ट प्रदर्शन हुने अपेक्षा छ ।

होम एन्ड अवेका आधारमा हुने प्रतियोगितामा यस समूहका खेल जुन महिनासम्म चल्नेछ । एउटा टिमले ६ खेल खेल्नेछ । मनाङले आफ्नो दोस्रो खेल १७ अप्रिलमा चेन्नाई एफसीसँग एरिना रंगशाला अहमदाबादमा खेल्नेछ । मनाङले तीनवटा होम म्याच एन्फा कम्प्लेक्समा खेल्नेछ ।


आजको खेल

मनाङ मर्स्याङदीविरुद्ध ढाका अबहानी

समय : १५ः०० बजे

एन्फा कम्प्लेक्स मैदान

प्रकाशित : चैत्र २०, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?