कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कथा कुवेती फुटबलको

हिमेश बज्राचार्य

काठमाडौँ — जति बेला पुराना पुस्ताका खास फुटबल खेलाडी भेटिन्छन् । ती दिनका कथा फेरि दोहरिन्छ आफैं । जति सुनिए पनि फेरि खुसीले सुन्न तयार कथा । सन् १९८२ नोभम्बरको २१ को त्यो दिन । नेपालले पहिलोपल्ट औपचारिक रूपमा ठूलो र आधिकारिक फुटबल खेलेको क्षण थियो त्यो ।

कथा कुवेती फुटबलको

प्रतियोगिता थियो नयाँ दिल्लीमा भएको एसियाली खेलकुद । त्यो दिनको प्रतिद्वन्द्वी थियो कुवेत । त्यति बेला नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक थिए, रुडी गुटनडफ ।

त्यसैले त हो । नेपाली फुटबल इतिहासको चर्चा गर्दा कुवेत त्यसमा सबैभन्दा पहिले ठोक्किन आउने नाम हो । गुटनडफलाई आधुनिक नेपाली फुटबलका पिता भने पनि हुन्छ । उनले नै पहिलोपल्ट आधुनिक फुटबलको तौरतरिका नेपाल भित्र्याएका थिए । त्यो बेला भर्खरै स्पेनमा विश्वकप सकिएको थियो, सन् १९८२ को संस्करण । त्यसमा एसियाबाट खेलेको टिम थियो कुवेत । त्यस्तोमा कुवेती टिमको सान कस्तो थियो होला । अहिले पनि अनुमान गर्न सकिन्छ ।

संयोगले त्यही टिमविरुद्ध नेपालको पहिलो खेल थियो । नेपाली टिम पनि कम्तीको थिएन । तत्कालीन टोलीका खेलाडीलाई अहिले पनि नेपाली फुटबलको स्वर्णिम पुस्ता मानिन्छ । यही टिमले कुवेतलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको थियो । प्रत्येक खेलाडीलाई निर्देशन थियो, विपक्षीको एक खास खेलाडी च्याप्ने । नेपाली खेलाडीले त्यसरी नै खेले जसरी प्रशिक्षकले सिकाए । कुवेती खेलाडीदेखि प्रशिक्षक पनि हायलकायलको स्थितिमा थिए ।

पहिलो हाफमा कुवेतलाई नेपालले कुनै गोल गर्न नसकेको समाचारले त्यति बेला नयाँ दिल्लीको एसियाली खेलकुद आयोजनास्थलमा तहल्का नै मच्चिएको थियो । आखिरमा खेल कुवेतकै पक्षमा रह्यो ३–१ ले । नेपालले गरेको त्यो एक गोललाई अहिले पनि खुबै सम्झने गरिन्छ । त्यो ऐतिहासिक गोल गर्ने खेलाडी थिए यामबहादुर घले । धेरैले यो पूरा नामलाई हेक्का राखेका हुने छैनन् । तर वाईबी भनेपछि फेरि सबैले ओ हो, वाईबी घले भन्ने छन् ।

यति चर्चित नाम हो यो नेपाली फुटबलमा । मानबहादुर मल्ल र वाईबीले सेन्टरबाट बल चलाएर अगाडि बढाएका थिए र सबै कुवेती खेलाडीलाई स्तब्ध पार्दै वाईबीले गोल गरिहाले । त्यो पुस्ताका प्रमुख खेलाडी गणेश थापा यी सबै घटना सुनाउँदा अझै हौसिन्छन् । त्यो खेलको पूरा घटनाक्रम सुनाएको तिनैले नै हो । अहिले यो प्रसंग किनभन्दा मंगलबार मात्रै नेपाली टिम कुवेतविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेर फर्केको छ ।

नेपालका स्विडिस प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले खेलेको यो पहिलोपल्ट हो । पहिलो खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोके पनि दोस्रोमा भने हार आत्मसात् गर्न बाध्य रह्यो । नेपाल त्यो खेलमा १–० ले मात्र पराजित रह्यो । स्कोरकै आधारमा मात्र कुरा गर्दा नेपालको प्रदर्शन उम्दा मान्न सकिन्छ । मैदानमै नेपालको प्रदर्शन सायद केही हदसम्म यस्तो थिएन । नेपालले कुवेतविरुद्ध लामो समययता खेलेको हो । त्यसअगाडि नेपालले कुवेतविरुद्ध समग्रमा चारपल्ट खेलेको थियो ।

पहिलो खेल त त्यही एसियाली खेलकुदको भयो नै । त्यसपछि नेपालले सन् १९८६ को एसियाली खेलकुदमा फेरि कुवेतविरुद्ध खेल्यो । त्यसमा पराजित भयो ५–० ले । नेपालले फेरि एसियाली खेलकुदमै कुवेतको सामना गर्‍यो हिरोशिमामा । वर्ष थियो १९९४ । अनि स्कोर थियो ८–० को हार । सन् २००० को एसिया कप छनोटमा नेपालले कुवेतको सामना गर्दा हारको अन्तर थियो, ५–० । अहिले लगभग दुई दशक अन्तरमा नेपालले फेरि कुवेतको सामना गरेको हो ।

अहिले आएर कुवेती फुटबल त्यस्तो रहेन, जुन कुनै समय थियो । साँच्चै कुनै समय कुवेत एसियाली फुटबलको महाशक्ति थियो । सन् १९८० मा कुवेत घरमै भएको एसिया कपमा विजेता थियो । त्यही वर्ष कुवेत ओलम्पिकमा पनि छनोट भयो । त्यससछि पालो आयो सन् १९८२ को विश्वकप । सन् १९७० देखि १९९० बीच भएका दस संस्करणका गल्फ कपमा कुवेत सातपल्ट विजेता रह्यो । यो तथ्यांकले प्रस्ट देखाउँछ, कुवेती फुटबल वास्तवमै कति बलियो थियो भनेर । अहिलेको कुवेती फुटबलको कथा भने बेग्लै छ ।

कमजोर र निरीह । सन् १९९० पछि कुवेती फुटबल ओरालो लाग्न सुरु भयो । एक वर्षअगाडि मात्र त हो । कुवेती फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्ध हटेको । कुवेती फुटबलमा त्यहाँको राजनीतिक हस्तक्षेपपछि फिफाले प्रतिबन्ध लगाएको थियो । यसले कुवेती फुटबललाई तहसनहसकै स्थितिमा पुर्‍याइदियो । फिफा वरीयतामा कुवेत कता हो कता हुने गरेर

तल झर्‍यो ।

प्रतिबन्धको ७ सय ८२ दिनले कुवेती फुटबललाई त्यस स्थितिमा पुर्‍याइदियो, जहाँबाट माथि उठ्न कुवेतले अझै धेरैभन्दा धेरै मिहिनेत गर्नुपर्नेछ । त्यसबीचमा एक पुस्ताका कुवेती खेलाडी सधैंका लागि हराए । फुटबलमा खराब व्यवस्थापनले कसरी एउटा उम्दा फुटबल इतिहास कलंकित हुन्छ, कुवेत त्यसको राम्रो उदाहरण हो ।

अहिले कुवेतसँग फेरि खेल्ने अवसर पाएका बेला ती पुराना दिन सम्झने बहाना भने मिलेको छ । अनि कुवेती फुटबलबाट शिक्षा के पनि लिन सकिन्छ भने समृद्ध इतिहासबाट शून्यमा झर्न खराब व्यवस्थापन भए पुग्छ ।


प्रकाशित : चैत्र १३, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?