कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुलिसको कठिन जित

विप्लव भट्टराई

इलाम — भारतको पश्चिम बंगालस्थित युनाइटेड दार्जिलिङविरुद्ध २–१ गोलको कठिन जित निकाल्दै नेपाल पुलिस क्लब पाँचौं माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ  । पुलिसले फाइनल प्रवेशका लागि एपीएफ र क्यामरुनको दाफिन्सबीचको विजेताको सामना गर्नुपर्नेछ  ।

पुलिसको कठिन जित

पुलिसलाई सोमबार छैटौं मिनेटमा सौजन्य याक्खा राईले गोल गर्दै अग्रता दिलााए । दार्जिलिङका गोलरक्षक विनोद क्षत्रीले फाउल गरेपछि पाएको फ्रिकिकमा सौजन्यले गोल गरेका हुन् । अर्को गोल पनि पुलिसले फ्रिकिकमार्फत नै निकाल्यो । भरत शाहले ८१ औं मिनेट गरेको प्रहारलाई दार्जिलिङका गोलरक्षकले वचाउन सकेनन् ।


उद्घाटन खेलमा आयोजकलाई हराउँदै पुलिस प्रतिद्वन्द्वी पाएको दार्जिलिङका लागि करन राईले ८४ औं मिनेटमा १ गोल फर्काए पनि जित निकाल्न पर्याप्त रहेन । म्यान अफ द म्याच पुलिसका सौजन्य घोषित भए । जारी सिजनमा खप्तड गोल्डकप जितेको पुलिसले त्यसयता अर्को उपाधि उचाल्न सकेको छैन । तिलोत्तमामा दाफिन्ससँग पराजित पुलिसले त्यहाँ भने युनाइटेड दार्जिलिङ २–० ले पराजित गरेको थियो । पुलिस इटहरीमा सेमिफाइनलमा मनाङसँग पराजित रह्यो भने पोखरामा क्वाटरफाइनलमा दाफिन्ससँग नै रोकियो । झापा गोल्डकपको क्वाटरफाइनलमा टाइब्रकेरम थ्री–स्टारलाई नतिजा सुम्पिएको पुलिसले माइभ्यालीमा पनि सुरक्षित महसुस गर्न हम्मे प¥यो ।


पुलिसका अजित भण्डारी, रवि पासवान र सुमन लामा राष्ट्रिय टिमको क्लोज क्याम्पमा छन् । एएफसी यू–२३ च्याम्पियनसिपको छनोटका तयारीका क्रममा अभिषेक रिजाल र तेज तामाङ पनि नेपाली युवा टोलीसँग छन् । ‘नयाँ खेलाडीलाई मौका दिए पनि अपेक्षाअनुरूप खेल्न सकेनन्,’ प्रशिक्षक अनन्त थापाले भने, ‘विपक्षी टिमको फिनिसिङ नमिल्दा हामीले जित निकाल्न सक्यौं ।’ दार्जिलिङले भने हारमा बललाई दोष लगाएको छ । ‘उता खेलेको बल र यताको नमिल्दा’ खेलाडीले चाहेअनुसार प्रदर्शन गर्न नसकेको भनाइ दार्जिलिङको टोलीको थियो । पहिलो खेलमा भन्दा २ खेलाडी परिवर्तन गरेको दार्जिलिङले पुलिसलाई अन्तिम मिनेटसम्म चुनौती भने पस्किएको थियो । पुलिसविरुद्धको खेलमा मनीष बस्नेत र इन्डियन आर्मीका विशाल क्षत्रीलाई खेलाएको दार्जिलिङले केही सुन्दर अवसरलाई गोल गर्न सकेको थिएन ।


तिलोत्तमापछि दोस्रो पटक नेपाल छिरेको सीमापारि दार्जिलिङको टिमले सुकुना, मिलनमोड र सुकिया गोल्डकप जितेको थियो । मंगलबार डिफेन्डिङ च्याम्पियन थ्रिस्टार क्लब र हिमालयन शेर्पाबीच अर्को क्वाटरफाइनल हुनेछ । हिमालयनले हिजोको खेलमा नेप्लिज एकाडेमी हङकङलाई पराजित गरेको थियो भने थ्रिस्टार बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश पाएको हो । फागुन २६ गते सुरु भएको प्रतियोगिता चैत ५ गतेसम्म चल्नेछ । विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : फाल्गुन २९, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?