१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेपालका १४ यु-१९ खेलाडी दक्षिण अफ्रिका अभ्यास खेल खेल्न जाने

धनगढी — तेस्रो संस्करणको धनगढी प्रिमियर लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने १४ जना १९ वर्ष मुनिका खेलाडीलाई दक्षिण अफ्रिका लगिने भएको छ । 

नेपालका १४ यु-१९ खेलाडी दक्षिण अफ्रिका अभ्यास खेल खेल्न जाने

डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्ट्स एड मिलेर दुई साताको लागि खेलाडी दक्षिण अफ्रिका लान लागिएको हो ।


डीपीएल इमर्जिङ स्टार्स नाम दिइएको उक्त टोलीले केपटाउनमा ६ म्याच खेल्ने छ । दसैं पछि हुने उक्त भ्रमणको तालिकामा ५० ओभर र दुईदिवसीय अभ्यास खेल पनि राख्न सकिने रायन मरोनले बताए ।


अफगानिस्तानको ब्याटिङ प्रशिक्षक रहिसकेका मरोन डीपीएलमा सीवाइसी अत्तरियाका प्रशिक्षक छन् भने दक्षिण अफ्रिकी फिल्डिङ स्टार जोन्टी रोड्स टोलीका मेन्टर हुन् ।


यी दुईले नै आफ्नो राष्ट्रमा नेपाली युवा खेलाडीलाई अभ्यास म्याच खेल्न लैजान लागेका हुन् । रोड्स डीपीएलका सद्भाव दूत पनि हुन् । रोड्स र मरोनले नै डीपीएलबाट उत्कृष्ट १४ जना यु-१९ खेलाडी छान्ने छन् ।


खेलाडीहरुको नामावली भने डीपीएलको फाइनल भएको भोलिपल्ट फागुन १२ गते सार्वजिनक गरिने रोड्सले बताए । उनले भने, 'हामी तथ्याङ्क मात्रै होइन मैदान भित्रको सबै पाटो हेरेर खेलाडी छान्ने छौं ।'


दक्षिण अफ्रिका भ्रमणको क्रममा कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । डीसीएका अध्यक्ष सुवास शाहीका अनुसार खेलाडीसँग कुनै रकम लिइने छैन भने प्रायोजकबाट सबै खर्च उठाइने छ ।


'डीपीएललाई १५ दिनमा मात्रै सीमित राख्ने होइन भनेर हामीले जोन्टी रोड्ससँग मिलेरे यो अभियान सुरु गरेका छौं । नेपालका युवा क्रिकेटरका लागि यो जरुरी पनि छ,' शाहीले भने ।


अत्तरियामा स्पोर्ट्स एडको ३३ प्रतिशत लगानी रहेको छ र त्यसका प्रमुख अभिषेक केसीले आफूहरु यु--१९ मा पहिलादेखि नै केन्द्रित हुन खोजेको र त्यही अनुरुप दक्षिण अफ्रिका जान लागेको बताए । उनले दक्षिण अफ्रिकामै आगामी यु-१९ विश्वकप हुने लागेकाले नेपाली खेलाडीलाई यो भ्रमणले एक्स्पोज दिलाउने विश्वास लिए ।

प्रकाशित : फाल्गुन ७, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?