१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फाप्लाको पिच र धनगढीको मौसम

धनगढी — काठमाडौं गोल्डेन्सले पहिलो खेलमै धनगढी स्टार्सले छाडेको १ सय ३३ रनको लक्ष्य ६ विकेट गुमाई पछ्याउँदा रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ब्याटिङले प्रभाव जमाउने सम्भावना देखिएको थियो । छैटौं दिनमा आइपुग्दा फाप्ला क्रिकेट मैदानको पिच कम स्कोर र यहाँको मौसम ठूलो बहसको विषय भएको छ । 

फाप्लाको पिच र धनगढीको मौसम

पिच स्वभाविक देखिएको छैन । ब्याट्सम्यानलाई रन बनाउन गाह्रो परिरहेको छ । धेरै टोली स्पिन बलिङलाई नै आफ्नो हतियार बनाइरहेका छन् । चौका र छक्का यदाकदा जस्तो मात्र भएको छ । पावर प्ले होस् वा अन्तिमका ४–५ ओभरमा सबैमा धेरै समय बलर नै हाबी भएका छन् । ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका छैनन् ।


मौसमले पनि डीपीएललाई खुल्न दिएको छैन । अघिल्लो शनिबार सुरु हुनुपर्ने प्रतियोगिता निरन्तर वर्षाका कारण दुई दिन पछि सारिएको थियो । बिहीबार पुन: पश्चिमी वायुले मौसम बिग्रिएर वर्षा भएपछि विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडको खेललाई बीचैमा रद्द गराएको थियो । शुक्रबार विश्राम दिन भए पनि निरन्तर वर्षाका कारण शनिबारको दुवै खेल हुन सकेन । रद्द भयो । आइतबारको खेललाई पनि शुक्रबार बेलुकासम्म परेकाले वर्षाले केही प्रभावित बनाउन सक्छ ।


पहिला दिनको खेलपछि दुवै इनिङ्समा सय रन कट्नु पनि ठूलो विषय भएको छ । काठमाडौंले धनगढीसँग विजयी हुँदै बनाएको १ सय ३३ रन प्रतियोगिताकै ठूलो स्कोर हो । धनगढीले यस विकेटमा १२०–१३० रनलाई औसत स्कोर मानेर मैदान प्रवेश गरेको थियो । त्यसका बाबजुत टोली पराजित हुन पुगेको थियो । लय नै समात्न नसकेको दुईपल्टको डिफेन्डिङ च्याम्पियन धनगढी लगातार तीन खेलमा पराजित हुनपुग्यो र महेन्द्रनगरसँग खेल मैदान भिजेका कारण रद्द भएपछि एक खेलअगावै टोली प्रतियोगिताबाट बाहिरन पुग्यो ।


‘विकेट स्लो छ, खेल्न निश्चय पनि गाह्रो छ । पिच गाह्रो र सजिलो त ब्याट्सम्यानले नै देखाउने हो । ब्याट्सम्यानले रन हान्न लाग्यो भने पिच सजिलो देखिन लाग्छ । सुरुमा हाम्रो विकेट जाँदा पिच गाह्रो देखिएको थियो । मध्यक्रमले रन हान्दा सजिलो देखिएको थियो,’ धनगढीका कप्तान सोमपाल कामीले पहिलो खेलपछि भनेका थिए, ‘कुन मनस्थिति लिएर ब्याट्सम्यानले खेलिरहेको छ, त्यसमा पनि पिच भरपर्छ ।’


काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसँगको खेलमा १ सय ३४ रन बनाएको थियो । जारी प्रतियोगितामा यही नै उच्च स्कोर हो । जवाफमा महेन्द्रनगरले १ सय २७ रन बनायो । दोस्रो खेलमा रूपन्देहीले छाडेको १ सय ११ रनको लक्ष्य पछ्याउँदा महेन्द्रनगर १ सय ९ रनमै आउट भयो । सीवाईसी अत्तरियाले पनि पहिलो खेल जित्नेक्रममा ९५ रन रक्षा गर्दा धनगढीलाई ९० रनमा रोकेको थियो ।

नेपालको फ्रेन्चाइज क्रिकेटमा जयकिसन कोल्सावाला र सन्नी पटेल सफल विदेशी खेलाडी हुन् । यी दुवै भारतीय खेलाडी डीपीएलमा अत्तरियाबाट खेलिरहेका छन् । आक्रमण र सम्हालिएर दुवै खेल्न सक्ने विकेटकिपर/ब्याट्सम्यान कोल्सावाला विकेट केही खराब रहेको तर खेल्नै नसक्ने नभएको बताउँछन् ।


स्पिन अलराउन्डर सन्नी पटेल आफू स्लो बलर भएकोमा भाग्यमानी सम्झन्छन् । उनले भने, ‘यहाँ जुनै पनि स्पिनरले राम्रो गर्न सक्छ, त्यसमा देव्रेहाते स्पिनर टपमा हुने विकेट छ ।’ सात बलर समान ६ विकेटसहित शीर्ष विकेट लिने दौडमा छन् । त्यसमा अत्तरियाका भुवन कार्की, विराटनगरका अविनाश यादव, महेन्द्रनगरका सागर ढकाल र रूपन्देही च्यालेन्जर्सका पुनीत मेहरा देव्रेहाते स्पिनर हुन् । ६ विकेट लिने धनगढीका रोहन मुस्तफा अफ स्पिनर हुन् ।


काठमाडौंका प्रशिक्षक राजु बस्न्यात पनि विकेट ब्याटिङमैत्री नभएको कारण रन बन्न नसकेको बताउँछन् । ‘बल बढी टर्न हुँदा स्पिनरलाई सहयोग गरिरहेको छ । हामीले दुई खेलमा क्रमश: १३३ र १३४ रन बनायौं, तर यो मैदानका साइज र प्रतियोगिताको संरचना हिसाबले राम्रो स्कोर होइन । यहाँ केही नभए पनि १६० भन्दा माथिको स्कोर बन्नुपर्छ,’ उनले भने, ‘हामीले सरसर्ती हेर्दा ब्याट्सम्यान पिचमा अभ्यस्त नभएको देखिन्छ । तर पिचले जुन रूप देखाइरहेका छ, त्यसमा भिज्न नै गाह्रो हुन्छ । अस्वभाविक टर्नहरू भइरहेछन्, यसले ब्याट्सम्यानलाई सहज हुन दिँदैन ।’


धनगढीका अमित श्रेष्ठ, काठमाडौंका अंकित दबास र अत्तरियाका दीपेन्द्रले प्रतियोगितामा अर्धशतक बनाइसके पनि विकेट ब्याट्सम्यानलाई खेल्न निकै गाह्रो भएको बस्न्यातको कथन छ । ‘हामीले बुझेअनुसार यहाँको विकेट बनाउने तयारी पनि गरेका छन्, मिहिनेत पनि गरेका छन् । २–३ महिना अगाडिदेखि विकेट पनि बनाएकै हुन् । तर विकेट बनाउँदाखेरि यसलाई चाहिने माटो र प्राविधिक पक्ष नमिलेको हो कि जस्तो पनि लाग्छ,’ उनले विकेटको कमजोरी औल्याउँदै भने ।


विदेशी ब्याट्सम्यानले ठूलो स्कोर गर्न नसके पनि खुलेर खेलेका देखिन्छन् । काठमाडौंका भारतीय खेलाडी अंकित दबासले अविजित ६५ रन बनाउनेक्रममा योगेन्द्रसिंह कार्कीसँग अन्तिम ७ ओभरमा अविजित ७६ रन जोडेका थिए । उनै दबासले प्रतियोगितामा दुई इनिङ्समा ब्याटिङ गर्नेक्रममा सर्वाधिक ९५ रन बनाएका छन् । रूपन्देही च्यालेन्जर्सका पुनीत मेहराले विराटनगरसँग ४६ रन बनाएका थिए । अत्तरियाका सन्नी पटेलले धनगढीसँग ३५ रनको अविजित इनिङ्स खेलेका थिए । तर रूपन्देहीबाट खेलिरहेका हङकङका बाबर हायतको ब्याट पनि चल्न सकेको छैन ।


विदेशी खेलाडीले यस्तो कठिन स्थितिमा खेल्नुलाई गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल सहज रूपमा लिन्छन् । उनले भने, ‘हामीभन्दा निश्चय पनि उनीहरूको राम्रो स्किल छ । खेललाई बुझाई पनि हाम्रोभन्दा उनीहरूकै राम्रो छ, नियमित खेलिरहेका हुन्छन् । उनीहरू केहीलाई पनि यहा खेल्न गाह्रो भइरहेको छ,’ ज्ञानेन्द्र भन्छन्, ‘यस्तो विकेटमा खेल्दा अनुभव र स्किल दुवै चाहिन्छ ।’


महेन्द्रनगरका कप्तान शरद भेषावकर विकेटमा धेरै फरक देख्दैनन् । उनले भने, ‘विकेटमा धेरै फरक छैन, ब्याटिङ कसरी गरिन्छ त्यसमा पनि धेरै भरपर्छ ।’


सुरुआती ब्याटिङ महत्त्वपूर्ण मानिन्छ । तर फ्रेन्चाइज क्रिकेटमा नेपाली ओपनिङ ब्याट्सम्यानले बिरलै मात्र अर्धशतक स्कोर छुने गरेका छन् । यसले पनि पूरा इनिङ्स प्रभावित गर्ने गरेको छ । अमितले काठमाडौंसँग खेल्दा तेस्रो नम्बरमा आएर ब्याटिङ गरेका थिए । राष्ट्रिय टोलीमा पुनरागमनको आशामा रहेका धनगढीका सुनील धमला, काठमाडौंका अनिलकुमार शाहदेखि हाल नेपाली टोलीमा रहेका प्रदीप ऐरी कसैको ब्याट चल्न सकेको छैन । यूएईको पछिल्लो भ्रमणमा ट्वान्टी–२० मा ओपनिङमा देखिएका नेपालका कप्तान पारस खड्का यसपल्ट डीपीएलमा छैनन् ।


बिहीबारदेखि वर्षाले छोपिएको धनगढी आकाशमाथिको बादल शनिबार खुलेको छ । मौसमसँगै फाप्ला मैदानको पिच पनि खुल्ने आशा सहभागी टोलीको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?