२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बुढासुब्बा गोल्डकप : पुलिस सेमिफाइनलमा

सुनसरी — धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा सोमबारमा नेपाल पुलिस क्लबले पोखराको सहारा क्लबलाई सडनडेथमा हराउँदै सेमिफाइनल पुगेको छ । 

बुढासुब्बा गोल्डकप : पुलिस सेमिफाइनलमा

सडनडेथमा भरत शाहको पेनाल्टी गोल भएपछि पाँचपल्टको विजेता पुलिसले आफ्नो जित यात्रा कायम गरेको छ । सहाराका अन्जन देवकोटाको प्रहार पोस्टमाथि आकासिएपछि पुलिस अन्तिम चारमा पुग्यो । पुलिसले अब डफिन्स क्यामरुन र एपीएफबीचको विजेतासँग फागुन ३ मा फाइनल पुग्नका लागि खेल्नेछ ।

यसअधि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा पुगेको थियो । सुरुआती ५–५ पेनाल्टीमा ३–३ गोलको बराबरी भएको थियो । त्यसपछि सडन डेथबाट नतिजा निकालिएको हो ।

पेनाल्टी शुटआउटमा पुलिसका अजित भण्डारी, देवेन्द्र तामाङ, सुमन सुवेदीले गोल गरे भने तेज तामाङ र हरि कडायतले पेनाल्टी चुकाए । सहाराका विश्व अधिकारी, विनोद गुृरुङ र जनक कार्कीको पेनाल्टीमा गोलमा परिणत हुँदा गोविन्द थापाको प्रहार गोलकिपरले रोके भने रमेश मगरको प्रहार पोलमा ठोक्किएर बाहिरियो ।

यो सिजनको खप्तड गोल्डकप विजेता पुलिसले खेलअवधिभर खासै प्रदर्शन गर्न सकेन । दबाबमा खेलेको पुलिसलाई ३३ औं मिनेटमा नीरकुमार राईले गोल गर्दै अग्रता दिलाए । उनले रवि पासवानको पास उपयोग गरे । त्यसलाई सहाराले ८४ औं मिनेटमा पेनाल्टी गोलमार्फत बराबरी गरेको थियो । सहाराका विश्व अधिकारीले पेनाल्टीमा गोल गरे । उनले पुलिसका अजित भण्डारीको ह्यान्डबल प्राप्त पेनाल्टीलाई सदुपयोग गरेका थिए ।

यस सिजन पहिलो स्पर्धाको रूपमा बुढासुब्बा गोल्डकपमा निस्केको सहाराले पुलिसविरुद्ध चारपल्टभन्दा बढी गोल गर्ने अवसर पाएको हो । आठौं मिनेटमा टंक गुरुङको पासमा सुशील लामाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

६० औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले असफल बनाए । लगत्तै विश्वकै पासमा सुशीलले गरेको प्रहार पुलिसका देवेन्द्र तामाङले क्लियर गरिदिएका थिए । अन्तिम समयमा करिव एडिज्युकको प्रहार गोलरक्षक शत्रुधनले मुस्किलले बचाएका थिए ।

पुलिसले गोल गर्ने अवसर खासै निकाल्न सकेन । नवौं मिनेटमा भरत शाहको फितलो प्रहारलाई गोलरक्षक लक्कीकुमार कार्कीले सहजै बचाए । खेलको १९ औं मिनेटमा पुलिसका नीरकुमारको प्रहार सहाराका साहिदले फर्काएर गोल हुनबाट बचाएका थिए ।

तीर्थ रानामगरले ४० औं मिनेटमा वान भर्सेज वान अवस्थामा हतारिएर प्रहार गर्दा लक्कीले जोगाए । विजयी भए पनि सन्तुष्ट नभएका पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्ना खेलाडीले थप सुधार गनुपर्ने अवस्था देखिएको बताए । उनले भने, ‘सहाराले भन्दा राम्रो खेले पनि गोल गर्ने अवसर निकाल्न चुक्यौं । सेमिाइनलमा राम्रो खेलेर जित्नुको विकल्प छैन ।’

सहाराका प्रशिक्षक प्रल्हाद हिराचनले खेल रणनीतिअनुसारै खेलिएको बताए । उनले भने, ‘तर खेलाडी स्कोर गर्न चुके ।’ मंगलबार आयोजक धरान फुटबल क्लब र कोलकाताको डल हाउस एथलेटिक्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ २९, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?