१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जब अँध्यारो भयो...

सुनसरी — धरान रंगशालामा बुढासुब्बा रेडबुल गोल्डकपमा आइतबार संकटा र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापाको उद्घाटन खेल टाइब्रेकरसम्म पनि बराबरी भएपछि ‘सडनडेथ’ मा भइरहेका बेला खेल्न मिल्ने उज्यालो भएन ।

जब अँध्यारो भयो...

त्यसैले संकटा र झापाले अघिल्लो चरण प्रवेशका लागि सोमबार बिहान ८ बजे टाइब्रेकर प्रहार गर्ने भएका छन् ।


निर्धारित ९० मिनेटको खेल २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमा पुगेको थियो । सडनडेथमा पनि संकटा र केएफटीसीका ६–६ जनाले बल प्रहार गरेका थिए । बराबरी अवस्थामा साँझ ६:१५ बजेको थियो र अँध्यारो भएपछि आयोजक धरान फुटबल क्लब, रेफ्री र लाइन्समेनले बाँकी प्रतिस्पर्धा सोमबार गराउने निर्णय गरेका हुन् ।


टाइब्रेकरमा संकटाका सेड्रिक अब्बा, दीपेश आलेमगर, रोमन लिम्बू र लक्ष्मण रुचालले गोल गरेका थिए भने अमित तामाङको प्रहार पोलमा ठोक्किएर बाहिरिएको थियो । काँकडभिट्टाका योगेश गुरुङ, दिलेन लोक्ताम, आशिष चापागाईं र सुशील राईले गोल गरेका थिए भने विकास राईको प्रहार गोलरक्षकले बचाए ।


सडनडेथमा दुवै पक्षले ५–५ प्रहार गरेको भए पनि ४–४ गोल भएको थियो । काँकडभिट्टाले सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलको उपविजेता संकटाविरुद्ध १० औं मिनेटमै अग्रता लिएको थियो । कर्ण लिम्बूले फ्रिकिकमा करिब ३० यार्डबाट गोल गरेर काँकडभिट्टालाई अग्रता दिलाएका थिए । संकटाका सेडरिक अब्बाको पासमा जय गुरुङले गोल गरेपछि ५९ औं मिनेटमा खेल १–१ को बराबर भएको थियो ।


काँकडभिट्टाले फेरि अग्रता लियो । कर्णले ६८ औं मिनेटमा प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो, त्यसै बललाई पुजन उपरकोटीले सुन्दर गोलमा परिणत गर्दै काँकडभिट्टालाई २–१ ले अघि बढाएका थिए । तर, दीपेश आलेमगरले इन्ज्युरी समयमा गोल गरेपछि संकटाले काँकडभिट्टालाई २–२ को बराबरीमा रोक्यो । दोस्रो गोलमा पनि अब्बाले पास दिएका थिए ।


स्वदेश र विदेशका आठ टिम सहभागी प्रतियोगितामा विजेताले आठ लाख र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल हात पार्नेछ । सर्वाधिक गोलकर्ताले ३५ हजार तथा पोजिसनका आधारमा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन् । म्यान अफ द म्याचले १५ हजार र धरानका उदीयमान खेलाडीले १५ हजार रुपैयाँ हात पार्नेछन् ।

प्रकाशित : माघ २८, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?