३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

डफिन्ससँग मनाङ स्तब्ध

दीपक परियार

लेखनाथ — सहिद स्मारक लिग विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब (एमएमसी) छैटौं मनकामना केबलकार पोखरा कप फुटबलको सेमिफाइनलमा सडनडेथको सिकार बनेको छ । पहिलोपल्ट सहभागीे पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमिलीले मनाङको चुनौतीलाई सडनडेथमा पन्छाउँदै फाइनल तय गरेको हो । डफिन्सले एपीएफको सामना गर्नेछ ।

डफिन्ससँग मनाङ स्तब्ध

पोखरा रंगशालामा निर्धारित र थपिएको समयमा १–१ गोलको बराबरीपछि खेल पेनाल्टी शुटआउटबाट गयो । पेनाल्टीमा ५–५ खेलाडीले प्रहार गर्दा ४–४ गोल भयो । त्यसपछि खेल सडनडेथमा पुगेको थियो । जहाँ मनाङका विमल रानाको प्रहार बाहिरिएपछि टोलीले विश्राम लिनपुग्यो ।


अफ्रिकी टिमको फाइनल खेल्ने सपना तब साकार भयो जब अन्तिम पेनाल्टीलाई जो अंगोलाले चुकाएनन् । एक गोलले पछि परेको अवस्थामा कमब्याक गरेको मनाङ पेनाल्टीमा चुक्दा भर्खरै सकिएको इटहरी गोल्डकपको हारको क्षतिपूर्ति पोखरामा भर्न पाएन । खेलको ६६ औं मिनेटमा डफिन्सले पहिलो गोल गरेर खाता खोलेपछि नै मनाङ दबाबमा परेको थियो । मनाङले निर्धारित समय सकिनु १० मिनेटअघि गोल फर्काएपछि भने खेलले रोचक मोड लियो ।


इकुमको लामो पासलाई उरेल इनामेले हेडबाट गोल गरेपछि हिलाम्य मैदानमा डफिन्सले अग्रता लियो । बलिया र अग्ला कदका क्यामरुनी खेलाडीका अघि केही छरितो प्रदर्शन गर्दै मनाङ सम्हालिनुपर्‍यो । उत्कृष्ट टिम रहेको संकेत गर्दै ८० औं मिनेटमा मनाङले गोल फर्कायो । विमल रानाको पासमा ओलावाले अफिजको हेड बलले जाली चुम्यो । निर्धारित समय बराबरीमा टुंगिएपछि दर्शकको साथ मनाङलाई झन् बढ्यो । दर्शकलाई निराश बनाएर घर नफर्काउने कोसिसमा थप ३० मिनेटमा मनाङ लागिरह्यो ।


पेनाल्टी शुटआउटमा कप्तान सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ र हेमन गुरुङको प्रहार गोलमा परिणत भयो । डफिन्सको तर्फबाट पहिलो पेनाल्टी प्रहार गरेका विभ्लाम नै चुकेपछि मनाङका खेलाडीको अनुहारमा आशाका धर्सा कोरिएका थिए । सुरज बिकको प्रहार खेर गएपछि केहीबेर खिन्नता छायो । विमल रानाले सडनडेथमा पुगेर पेनाल्टी गुमाउँदा फाइनलबाट वञ्चित भयो । क्यामरुनका लागि पेनाल्टी शुटआउटमा बिइक बिइक, इकुम, यान्निक ओवोनार र गोलकिपर प्रिसो एनडीटांगाले गोल गरे ।


जर्सी जुधेपछि टस हारेको डफिन्स आयोजक पोखराको जर्सीमा मैदान उत्रिएको थियो । जापानको रिस्सो युनिभर्सिटीलाई हराएर आएको एपीएफसँगको फाइनल खेल क्यामरुनका लागि सहज हुने धेरैको अनुमान छ । क्यामरुनले जिते उचाले पोखराको मैदानमा उपाधि उचाल्ने दोस्रो अफ्रिकन टिम हुनेछ । यसअघि तेस्रो संस्करणको आहा–रारा गोल्डकपमा अफ्रिकन युनाइटेडले नेपाल पुलिस क्लबलाई हराएर उपाधि जितेको थियो ।

प्रकाशित : माघ २७, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?