१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

दुई वर्षदेखि रोकिएको क्रिकेटरको तलब आयो

कुशल तिमल्सिना

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको २ वर्षदेखि रोकिएको तलब सुविधा एकमुष्ट निकासा गरेको छ । आईसीसीले राष्ट्रिय खेलकुद परिषद (राखेप)को खातामा १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

दुई वर्षदेखि रोकिएको क्रिकेटरको तलब आयो

राखेप सदस्यसचिव केशव कुमार विष्टको पहलमा खेलाडीको तलब बापतको रकम निकासा भएको हो । राखेपले ३ पटकसम्म तलब निकासा गर्न आईसीसीलाई ताकेता गरेको थियो । सुरुमा दुई किस्ता गरेर भुक्तानी गर्ने भनिए पनि आईसीसीले २ वर्षको एकमुष्ठ पठाएको छ ।


हालै यूएईमा भएको एकदिवसीय र ट्वान्टी–२० शृङखला जितेर फर्किएपछि नेपाली खेलाडीले विमानस्थलमै लामो समयदेखि तलब नपाएकोमा गुनासो गरेका थिए । कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटासँगको सल्लाहमा राखेपले खेलाडीको वर्गीकरण पुन:मूल्यांकन गरी आईसीसीमा पठाएको थियो ।


जस अनुसार २१ जना क्रिकेटरलाई ३ तहमा विभाजन गरिएको थियो । श्रेणी ‘क’ मा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी छन् । उनीहरुले मासिक ३५ हजार रुपैयाँ तलब पाउँछन् । उनीहरुका लागि २ वर्षको ५८ लाख ८० हजार रुपैयाँ आईसीसीले निकासा गरेको छ ।


श्रेणी ‘ख’मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् । उनीहरुले मासिक २५ हजार रुपैयाँ पाउनेछन् । यस श्रेणीका खेलाडीका लागि आईसीसीले २ वर्षको तलवस्वरुप ४२ लाख रुपैयाँ निकासा गरेको छ ।


श्रेणी ‘ग’ मा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, शुसान भारी, किशोर महतो र विनोद भण्डारी छन् । उनीहरुको मासिक १५ हजार तलब अन्तर्गत २ वर्षको २५ लाख २० हजार रुपैयाँ निकासा भएको छ ।


तीन वर्षअघि घरेलु क्रिकेटको नियमक निकाय नेपाल क्रिकेट संघ क्यान निलम्बन परेपछि खेलाडीको सुविधामा आईसीसीले जिम्मा लिएको थियो । निलम्बनपछिको एक वर्षको तलब पठाए पनि बाँकी दुई वर्षको तलब आएको थिएन ।


राखेपको खाता रहेको स्टाण्डर्ड चार्टर्ड बैंकमा रकम जम्मा भएको र छिट्टै खेलाडीहरुलाई भुक्तानी गरिने प्रेस सल्लाहकार दाहालले जानकारी दिए ।

प्रकाशित : माघ २६, २०७५ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?