१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डीपीएल र मौसमको बेमेल, दुई दिन पछि धकेलियो खेल

विनोद पाण्डे

धनगढी — पश्चिमी वायुको प्रभावले अचानक मौसम बिग्रिएपछि शनिबार सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट दुई दिन पछाडि धकेलिएको छ । निर्धारित तालिकाअनुसार धनगढी स्टार्स र विराटनगर किंग्सको खेलबाट शनिबार डीपीएल सुरु हुँदै थियो ।

डीपीएल र मौसमको बेमेल, दुई दिन पछि धकेलियो खेल

तर बुधबार रातिदेखि परेको वर्षाले मैदान पुरै हिलाम्मे बनाएको छ । शुक्रबारसम्म मौसम खुलिसकेको छैन । आयोजक धनगढी क्रिकेट एकेडेमीले मैदान खेल्ने स्थिति नरहेको अवस्थामा प्रतियोगिता दुई दिन पछाडि सार्दै पछि सोमबार सुरु गर्दै छ । प्रतियोगितामा शुक्रबार एकदिन मात्र विश्राम दिन राखिएको छ ।


‘आगामी दुई दिन हामी खेल आयोजना गर्ने स्थितिमा छैनौं । टाइसिट नै पुन: प्रकाशित गरेका छौं । एकदिनमात्र विश्राम दिन राखेका छौं, अब खेल बिथोलियो भने पनि विश्रामका दिन पनि कुनै खेल हुने छैन, अंक बाँडिने छ । एउटा विश्राम दिन र एक खेल भएका दिनमा लगेर सारिएका खेलहरू समेट्दै टाइसिट मिलाएका छौं,’ प्रतियोगिताका निर्देशक विनोद दासले भने, ‘टाइसिट मिलाउँदा पनि कुनै टोलीले लगातार ४–५ वटा म्याच खेल्नुपर्दैन । सबै टिमका कप्तान र व्यवस्थापकसँग सल्लाह गरेर हामीले यो निर्णय गरेका हौं ।’


नयाँ तालिकाअनुसार सोमबार पहिलो दिन काठमाडौं गोल्डेन्स र धनगढी स्टार्स तथा रूपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । मंगलबार सीवाईसी अत्तरिया र धनगढी तथा विराटनगर किंग्स र रूपन्देही भिड्दै छन् ।


ट्रफी सार्वजनिक

विश्व क्रिकेटका हस्ती जोन्टी रोड्स र डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले यसअघि ट्रफी सार्वजनिक गरेका थिए । सो अवसरमा ६ फ्रेन्चाइज टोलीका कप्तान र मालिकलाई पनि उभ्याइएको थियो । दक्षिण अफ्रिकी क्रिकेटर रोड्सले भने, ‘मैले विभिन्न देशमा विभिन्न टिमसँग काम गरिसकेको छु । अहिले म जसले केही परिवर्तन गर्न खोजिरहेका छन्, तिनीहरूसँग काम गर्न खोजिरहेकाले धनगढी आइपुगेको छु ।’ उनी डीपीएलको फ्रेन्चाइज टोली सीवाईसी अत्तरियाका मेन्टर पनि हुन् ।


जोगाउन सजिलो छैन : सोमपाल

धनगढी स्टार्सका कप्तान सोमपाल कामीले उपाधि जोगाउन सजिलो नभएको बताए । टिम चौराह धनगढीले डीपीएलको पहिलो दुई संस्करण जितेको थियो । सोमपालले पछिल्लो संस्करण गत वर्ष टिम चौराह धनगढीबाट खेलेका थिए । स्वामित्व परिवर्तन आएसँगै टोलीको नाम पनि परिवर्तन भई धनगढी स्टार्स बनेको छ ।


‘उपाधि जोगाउन गाह्रो भइहाल्छ । गत वर्ष धेरै राम्रो प्रदर्शन गरेर जितेका थियौं, त्यो भन्दा अगाडि पनि धनगढीले जितेको थियो । दबाब त नभनौं, एउटा नयाँ टिम लिएर खेल्दा चुनौती त भइहाल्छ । त्यही पनि आफ्नो टोलीमाथि पूरा विश्वास छ । मौसमले क्याम्प हुन दिएको छैन । त्यही पनि फिटनेस क्याम्प गरिरहेका छौं । होटलभित्र बसेर पनि क्रिकेटकै बारेमा छलफल गरिरहेका छौं । जहिल्यै खेल हुन्छ त्यसका लागि तयार छौं,’ सोमपालले भने ।


उनका अनुसार टोलीका दुवै विदेशी खेलाडी शनिबार धनगढी आइपुग्ने छन् । पहिला इन्डियन प्रिमियर लिग खेल्ने सागर त्रिवेदी खेल्न आउने निश्चित भएको थियो । तर भारतीय क्रिकेट बोर्डले स्विकृति नदिएपछि उनको स्थानमा यूएईबाटै अमिर हायत आउने सोमपालले जनाए ।


यूएईका कप्तान रोहन मुस्ताफासहित सौरभ खनाल, सुनील धमला, हरिबहादुर चौहानजस्ता खेलाडी भएकाले धनगढीलाई पुन: बलियो टोलीमा उभ्याएको छ । सोमपाल मैदानबाहिरको यो विश्लेषण मान्दैनन् । ‘जति बलियो भए पनि ट्वान्टी–२० मा प्रतिस्पर्धा धेरै हुन्छ ।


ट्वान्टी–२० सानो र फास्ट संरचनाको खेल हो । ३–४ जनाले प्रदर्शन गर्ने बित्तिकै टिम सन्तुलित भइहाल्छ । त्यसैले हाम्रो टिम बलियो छ भनेर खेल्नु अगाडि कुनै अर्थ राख्दैन,’ सोमपालले भने, ‘हाम्रो टिम राम्रो छ । नयाँ छन् । प्रदर्शन गर्न तयार छन् ।’


अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले रायन मेरोन र जोन्टी रोड्सको आगमनले टोलीमा केही सुधार देखिएको र राम्रो प्रभाव पार्नसक्ने विश्वास लिए । विदेशी खेलाडी सन्नी पटेल र जयकिसन कोल्सावालाले नेपालको अन्य फ्रेन्चाइज लिगमा पनि राम्रो गरिरहेकाले यसपालि पनि त्यस्तै अपेक्षा गरिएको जनाए ।


गत वर्ष करण केसीले राष्ट्रिय टोलीबाट केही आश्चर्यजनक प्रदर्शन देखाए । त्यसैका आधारमा आफूले अहिले जिम्मेवारीको नेतृत्व पाएको करण बताउँछन् । ‘जहिल्यै पनि प्रदर्शन राम्रो गर्नपर्छ, प्रदर्शन राम्रो गर्दै आएको भएर नै म विराटनगर किंग्सको कप्तान बनाइएको हँु । प्रदर्शनले नै अगाडि लिएर जाने हो । दबाब त हुन्छ नै कप्तानी गर्न, त्यसै पनि यो मेरा लागि पहिलोपल्ट हो,’ करणले विराटनगरको टिम संरचनाबारेमा भने, ‘हामी यहाँ आएको ३ दिन भयो मौसमले गर्दा एक दिनमात्र अभ्यास गर्न पाएका छौं । हाम्रो टिम सन्तुलित र मिलेको छ त्यस हिसाबमा दुई विदेशी खेलाडी हाम्रा लागि बोनस नै हुन्छन् । विदेशी खेलाडीमा भर पर्नुपर्ने स्थिति छैन ।’


रूपन्देही च्यालेन्जर्सका कप्तान वसन्त रेग्मीसहित विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्की नेपाली राष्ट्रिय टोलीसँग यूएईमै रहेकाले राम्रो लयमा रहेको टोलीका खेलाडी विक्रम सोब बताउँछन् । ‘बाँकी खेलाडीको एक साता जस्तो भैरहवा क्याम्प राम्रो भयो । बाबर हायत पनि आएकाले हाम्रो टोली बलियो भएको छ । हाम्रो लक्ष्य उपाधि जित्ने नै छ,’ सोबले भने ।


यसअघि आउने भनेका पाकिस्तानी खेलाडी राजा अलिदार नआउने भएका छन् । उनको विकल्पमा रूपन्देहीले चाँडै टुंगो लगाउने सोबले जनाए । मौसमका कारण मैदानमा जान नपाएकाले आफूहरू जिम र फिटनेसमा केन्द्रित भएको महेन्द्रनगर युनाइटेडका खेलाडी आरिफ शेखले बताए । ‘उपाधि जित्ने लक्ष्यसाथ हाम्रो तयारी छ । हाम्रो टिम मिलेको छ, तर जति मिलेको भए पनि प्रदर्शन देखाउनै पर्छ,’ आरिफले भने ।


टिमभन्दा पनि व्यक्तिगत रूपमा तयारी गरिएको काठमाडौं गोल्डेन्सका ब्याट्सम्यान अनिलकुमार शाह बताउँछन् । ‘हाम्रो ब्याटिङ लाइनअप लामै छ, बलिङमा पनि विविधता छ । अनुभवी खेलाडी र विदेशी खेलाडीले गर्दा पनि टिम सन्तुलित देखिएको छ,’ अनिलले भने, ‘सबै टोली उपाधि उचाल्न चाहन्छन्, हामी राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं ।’

प्रकाशित : माघ २६, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?