कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेत्रहीन क्रिकेट टोलीको स्वागत, ‘शृंखला जित जीवनकै प्रेरणा’

काठमाडौँ — पाकिस्तानविरुद्धको ऐतिहासिक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला जितेर नेत्रहीन महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । टोलीको स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्यलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

नेत्रहीन क्रिकेट टोलीको स्वागत, ‘शृंखला जित जीवनकै प्रेरणा’

सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्धको ट्वान्टी–२० शृंखलामा विजय हासिल गरेकै दिन नेत्रहीन महिला टोलीले पनि पाकिस्तानमा ऐतिहासिक शृंखला जितेको थियो । विश्वमै पहिलोपल्ट नेत्रहीन महिला क्रिकेट शृंखला आयोजना भएको हो । पाकिस्तानको राष्ट्रिय टोलीविरुद्धको शृंखला नेपालले ४–० ले जितेको हो । एउटा खेल भने वर्षाका कारण रद्द भयो । पहिलो, तेस्रो र पाँचौं खेलमा नेपाल १० विकेटले विजयी हुँदा चौथो खेल ९ विकेटले जित्न सफल भयो ।


पर्याप्त पूर्वाधार र तयारीको अभावका बाबजुद नेपालले पाकिस्तानी टोलीविरुद्ध ऐतिहासिक जित हासिल गर्न सफल भएकोमा सदस्य–सचिव विष्टले टोलीका सदस्यलाई बधाई ज्ञापन गरे । बिहीबारै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली टोलीसँग मन्त्रालयमा भेट गरी बधाई दिएका छन् । राखेप र मन्त्रालयले विशेष निर्णय गरी पुरस्कार रकम सिफारिस गर्ने निर्णय भएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।


‘पाकिस्तानजस्तो टिमलाई उसकै मैदानमा हराएपछि राष्ट्रिय क्रिकेट खेलाडीका रूपमा गर्व लागेको छ । पहिलोपल्ट हामी विदेश भ्रमणमा थियौं । केही डर लागे पनि अन्तत: सकारात्मक नतिजा निकाल्न सक्यौं,’ टोलीकी कप्तान भगवती भट्टराईले भनिन्, ‘आँखा नदेख्ने हामीजस्ता थुप्रै दिदीबहिनीहरू समाजमा हुनुहुन्छ, शृंखला जितेपछि हामीले पनि केही गर्न सक्छौं भन्ने पुष्टि भएको छ र उहाँहरूका लागि पनि जीवनमा केही गर्ने प्रेरणा मिलेको छ ।’


६ महिनाअघि मात्रै राष्ट्रिय टिम बनाएको पाकिस्तानको आमन्त्रणमा नेपालले शृंखलामा सहभागिता जनाएको हो । करिब तीन साताको प्रशिक्षणपछि नेपाली टोली पाकिस्तान गएको थियो । कप्तान भगवतीले धेरैभन्दा धेरै शृंखला खेल्ने वातावरण बनाइदिन अनुरोध गरेकी छन् । ‘हामीले पाकिस्तानलाई हरायौं । उहाँहरूले राम्रो गर्नका लागि धेरै मिहिनेत गर्नुहुनेछ । तर हामीले पनि आफ्नो स्तर कायमै राख्न र अझै बढाउन निरन्तर खेल्न पाउनुपर्छ,’ उनले भनिन् ।


फिल्डिङमा राम्रो प्रदर्शन गर्न सकेकाले शृंखलामा सहज जित हासिल गर्न सकेको प्रशिक्षक प्राजुले बताए । ‘नेत्रहीन क्रिकेटमा फिल्डिङ महत्त्वपूर्ण हुने ठानेर त्यसमा बढी केन्द्रित भएका थियौं । हाम्रो योजना सफल भयो र हामीले धेरैजसो रनआउट गर्न सक्यौं । केही कीर्तिमान बने, ब्याटिङ र फिल्डिङमा राम्रो गर्न सक्यौं,’ उनले भने, ‘तीन वर्षदेखि मैले नेत्रहीन क्रिकेट टोलीलाई प्रशिक्षण गराइरहेको छु । यसमा धेरै सम्भावना छ । राज्यले पनि केही सुविधा दिएमा राम्रो हुन्छ ।’


शृंखलामा मन केसी चौधरीको ब्याटिङ प्रदर्शन उत्कृष्ट रह्यो । उनले दुई खेलमा अर्धशतक प्रहार गरिन् । पहिलो अन्तर्राष्ट्रिय खेल भएकाले उनले अर्धशतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाइन् । बी–२ क्याटगोरीतर्फ मन शृंखलाकै उत्कृष्ट खेलाडी चुनिइन् ।


‘सुरुमा डर लागेको थियो कि पहिलोपल्ट बाहिर गएका थियौं । विपक्षीबारे केही जानकारी थिएन । तर, हामीले राम्रो खेल्न सक्यौं,’ मनले भनिन्, ‘हामीले आफैंलाई विश्वास गरेका थियौं कि नदेख्नेहरूले ट्रफी जितेर देख्नेहरूलाई देखाउने र यो लक्ष्यमा सफलता हासिल गर्न पाउँदा खुसी छौं ।’ मनले तेस्रोमा ५८ र पाँचौं खेलमा ८१ रनको इनिङ्स खेलेकी थिइन् । उनले तीन इनिङ्समा १ सय ६४ रन बनाएकी थिइन् ।

प्रकाशित : माघ २५, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?