१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डीपीएल तयारी अन्तिम चरणमा

पुरस्कार बढ्यो, मैदान पुग्न नि:शुल्क यात्रा
चित्रांग थापा

धनगढी — धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबारदेखि हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । मैदान, दर्शकदीर्घाका लागि प्यारापिट व्यवस्थापन र अन्य प्राविधिक कामहरू लगभग सकिएको प्रतियोगिता आयोजकले जानकारी दिएको छ ।

डीपीएल तयारी अन्तिम चरणमा

प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले बुधबार आयोजनास्थल फाप्ला क्रिकेट मैदानमै पत्रकार सम्मेलन गरेर प्रतियोगिता तयारीबारे जानकारी दिएको हो । ‘मैदान तथा ५ वटा पिच निर्माण सम्पन्न भएको छ,’ आयोजक एकेडेमीका अध्यक्ष सुवास शाहीले भने, ‘५ हजार दर्शक सजिलै बस्न मिल्नेगरी अस्थायी प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ । म्याच अफिसियलहरू धनगढी आइसकेका छन् ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त पाएको प्रतियोगितामा आधा दर्जन फ्रेन्चाइज टिम धनगढी स्टार्स, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले फागुन ११ सम्म प्रतिस्पर्धा गर्नेछन् ।

‘विगतका संस्करणझै यो प्रतियोगिता पनि सर्वाधिक धनराशिको हुनेछ । यसपालि प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको छ,’ अध्यक्ष शाहीले भने, ‘पुरस्कार राशि ६० लाख रुपैयाँको रहनेछ । त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुनेले २ लाख पाउने छन् ।’

डीपीएल तेस्रो संस्करणको अनुमानित खर्च ५ करोड रहेको आयोजक एकेडेमीका अध्यक्ष शाहीले बताए । ‘पहिलो संस्करणको बजेट १ करोड ८२ लाख थियो, कुल पुरस्कार साढे २८ लाखमात्र थियो,’ शाहीले भने, ‘दोस्रो संस्करण ३ करोड लागतमा सम्पन्न भएको हो । त्यसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुरस्कार प्रदान गरेका थियौं ।’

सबै टोलीमा अक्सनबाट लिइएको १२ खेलाडी (स्थानीयसहित), एक रणनीतिक खेलाडी र दुई विदेशी खेलाडी रहने छन् । प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्ने छन् । त्यसमा पहिलो र दोस्रो हुनेबीचको विजेता टोली फाइनल पुग्नेछ । पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमबीचको विजेतासँग फाइनल पुग्नका लागि खेल्न पाउनेछ ।

‘भर्खरै यूएईविरुद्ध ऐतिहासिक एकदिवसीय र ट्वान्टी–२० शृंखला जितेपछि धनगढीमा खेल्ने खेलाडीले स्थानीय दर्शकलाई रोमान्चित पार्नेमा हामी विश्वस्त छौं,’ अध्यक्ष शाहीले पत्रकार सम्मेलनमा भने, ‘फाप्लामा प्रतियोगिता आयोजना गरेर ड्रिम फाप्ला योजना साकार हुनेमा हामी विश्वस्त छौं ।’

प्रतियोगिताको सद्भावना दूतमा दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर जोन्टी रोड्स बिहीबार धनगढी आइपुग्ने कार्यक्रम रहेको उनले जानकारी गराए । शाहीका अनुसार दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर यातायात संघ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म नि:शुल्क बस सेवाको व्यवस्था गरिएको छ ।

प्रकाशित : माघ २४, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?