१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विराटनगरलाई श्री एयरको साथ

काठमाडौँ — धनगढी प्रिमियर लिग (डीपीएल) तयारीमा रहेको विराटनगर किंग्सले उपाधि जित्ने लक्ष्य लिएको छ । विराटनगर प्रतियोगिताको पहिलो संस्करणको उपविजेता हो । गत संस्करणमा भने विराटनगर लिग चरणभन्दा माथि जान सकेन ।

विराटनगरलाई श्री एयरको साथ

विराटनगरले मंगलबार श्री एयरलाइन्ससँग मुख्य प्रायोजन सम्झौता गरेको छ । श्री एयरलाइन्स डीपीएलको एयरलाइन्स साझेदार पनि हो । सम्झौता रकमबारे भने कार्यक्रममा सार्वजनिक गरिएन ।


विराटनगरको सहायक प्रायोजकमा नेपाल वेलहोप एग्रिटेक प्रालि, एनआईसी–एसिया बैंक, महालक्ष्मी केबल र सुभारु रहेका छन् ।


श्री एयरलाइन्सका मार्केटिङ म्यानेजर अनिल मानन्धरले आफ्नो कम्पनीले खेलकुदलाई महत्त्व दिएको बताए । ‘हामीले सुरुदेखि नै खेलकुदलाई महत्त्व दिएका छौं । क्रिकेटले पछिल्लो समय राम्रो गरिरहेको छ र घरेलु क्रिकेटमा सहयोग पुर्‍याउन विराटनगरलाई रोजेका हौं । टिमलाई डीपीएल उपाधिका लागि शुभकामना दिन चाहन्छु,’ मानन्धरले भने ।


टोलीका रणनीतिक खेलाडी तथा कप्तान करण केसीले उपाधि जित्ने लक्ष्य लिएको बताए । ‘हाम्रो युवा टिम छ । ठूला नाम नभए पनि हामीले राम्रो प्रदर्शन गर्दै च्याम्पियन हुने लक्ष्य राखेका छौं,’ उनले भने ।


टोलीका प्रशिक्षकका रूपमा हङकङबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका शेरबहादुर लामा (सुनील) ले गर्दै छन् । ‘हाम्रो टिम सन्तुलित छ । स्वदेशी र विदेशी खेलाडीहरू आ–आफ्नो भूमिकामा क्षमतावान छन् । प्रतियोगिताको उपाधि जित्ने छौं,’ उनले भने ।


विराटनगर किंग्सले बायाँहाते अर्थोडक्स स्पिनर ३२ वर्षीय अविनाश यादव र बायाँहाते ब्याट्सम्यान ३५ वर्षीय शिवकान्त शुक्लालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । दुवै भारतीय हुन् । दुवैले पहिलो श्रेणीको क्रिकेटमा लामो अनुभव बटुलेका छन् । विराटनगरले उद्घाटन खेलमा धनगढी स्टार्ससँग प्रतिस्पर्धा गर्दै छ ।


विराटनगर किंग्समा आशिफ शेख, कुशल भुर्तेल, पृथु बाँस्कोटा, किशोर महतो, सुसन भारी, हरिशंकर साह, शम्साद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमृत गुरुङ, तृतराज दास, सुवास ऐर (स्थानीय खेलाडी), विदेशी खेलाडीमा अविनाश यादव र शिवकान्त शुक्ला छन् ।


प्रकाशित : माघ २३, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?