२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाल–पाकिस्तान दृष्टिविहीन क्रिकेट शृंखला : नेपालको अग्रता

काठमाडौँ — अन्तर्राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेटमा मन केसीले कीर्तिमानी अर्धशतक बनाएपछि पाकिस्तानविरुद्धको ट्वान्टी–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा पनि नेपालले १० विकेटको सानदार जित पाएको छ ।

नेपाल–पाकिस्तान दृष्टिविहीन क्रिकेट शृंखला : नेपालको अग्रता

जितसँगै नेपालले ५ खेल शृंखलामा २–० को अग्रता लियो । लाहोरमा भएको पहिलो खेल पनि नेपालले १० विकेटले जितेको थियो । फैसलाबादमा हुने तय भएको दोस्रो खेल भने वर्षाका कारण रद्द गरिएको थियो ।


फैसलाबादमै शुक्रबार हुने भनिएको तेस्रो खेल भारी वर्षाका कारण मैदानमा पानी जमेकाले इस्लामाबादमा शनिबार भएको हो । इस्लामाबादको सीमाक्षेत्र रावलपिन्डीमा भएको तेस्रो खेलमा १ सय ३ रनको लक्ष्य नेपालले ७.३ ओभरमै पूरा गर्‍यो । ओपनर मन केसीले आक्रामक ब्याटिङ गर्दै २१ बल खेलेर नटआउट ५८ रन बनाइन् ।


बी–२ क्याटगोरी खेलाडी उनले १० चौका प्रहार गरिन् । अर्की ओपनर विनिता पुनले २४ बल खेल्दै ५ चौकामा अविजित ३४ रन बनाइन् । प्लेयर अफ द म्याच मनले अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा पहिलो अर्धशक प्रहार गर्न पाउँदा खुसी लागेको बताइन् । आगामी खेलमा अझै राम्रो प्रदर्शन गर्ने सुनाइन् ।


मन र विनिताबीचको १ सय ३ रनको साझेदारी पनि महिला दृष्टिविहीन क्रिकेटमा कीर्तिमानी साझेदारी हो । पाकिस्तानले पहिलो खेलको तुलनामा तेस्रो खेलमा सुधारिएको प्रदर्शन गरे पनि नेपाली खेलाडी ब्याटिङमा हाबी भयो ।


पहिलो खेलमा ५३ रनमै अलआउट भएको पाकिस्तानले दोस्रो खेलमा भने पूरै ओभर ब्याटिङ गरी १ सय २ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर तयावा फतिमाले २७ र सादियाले १७ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानले ३५ रन अतिरिक्त पायो ।


मैदान ओसिलो भएकाले पहिलो इनिङ्समा नेपाली खेलाडीलाई फिल्डिङमा केही गाह्रो भएको थियो । अन्तिमतिर भने नेपालले चुस्त फिल्डिङ गर्दै पाकिस्तानको रन गति रोकेको हो । बलिङमा नेपालबाट कप्तान भगवती भट्टराई र मुना अर्याले १–१ विकेट लिए । भगवतीले ३ पाकिस्तानीलाई रनआउट गरिन् । सरिता घिमिरेले सिधा थ्रोमार्फत एक रनआउट गरिन् ।


लगातार दुई खेल जितेपछि नेपालकी कप्तान भगवतीले भनिन्, ‘पाकिस्तानले आज पहिलो खेलभन्दा राम्रो गर्‍यो । हामीले हाम्रो लय कायमै राख्न सक्यौं, बाँकी खेलमा पनि यही लयलाई निरन्तरता दिनेछौं ।’


पाकिस्तानकी कप्तान रबिअ शेहजादीले लगातार दुई खेल हारे पनि आफूहरूले धेरै सिकेको बताइन् । ‘हामीले पहिलो खेलभन्दा आज धेरै राम्रो खेल्यौं । हरेक खेलमा केही न केही सिक्न पाएका छौं ।’


पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको आयोजनामा भइरहेको ५ खेलको शृंखलाअन्तर्गत चौथो आइतबार र पाँचौं खेल सोमबार हुनेछ । दुवै खेल इस्लामाबादस्थित शालिमार क्रिकेट रंगशालामा हुनेछ ।

प्रकाशित : माघ २०, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?